Posted by: Deep December 4, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

उ गएको मैले हेरी रहें। ----

बाङ्गेको कुरा के हो के। कुन चै सद्दे कुरा हो कुन चै कुहिया छान्नै मुश्किल। के पत्याउने के नपत्याउने। उ सँग संगत गरेको एक जमाना भैसकेको थ्यो र पनि उस्लाई चिन्न मलाई सधै धौ धौ हुन्थ्यो।

अघि बाङ्गेको कुरा सुने पछी, ट्वाक सँग गरेको सल्लाह हालको लागि स्थगित गर्नु पर्ला जस्तो लाग्यो।

दिन ढल्किदै थ्यो, अब ट्वाक र सुपारी सँग चाट खान भगबतीबाल तिर जाने कि बाङ्गेलाई पर्खिने भयो। बाङ्ग्या के ठेगान, आउँछु त भन्थ्यो तर आउने हो कि होईन।

आफ्नो पर्खिने धैर्यतामा पैरो जाँदो थ्यो। त्यसैले बाङ्गेलाई कुर्नु सट्टा उसैकाँ जान्छु बरु भनेर लागें बाटो। उस्को घराँ पुग्छु त छैन मोटरसाईकल। अघि त मलाई घरैमा बस्न जान्छु भन्थ्यो। तै पनि घराँ पुगेर बोलाएँ। आमा चै सँग भेट भो। "हेर बाबु, तँ पनि यसरी दिन रात बरालिएर नहीन -- बेला अनुसारको गर्नु पर्छ -- यो बेला बिग्रिएर हिन्ने होईन --" जस्ता उपदेश पो दिन थालिन। बाङ्गे रैन छ घराँ। किताब किन्न गयो रे। त्यसै भन्थिन आमा चै। आफ्नो छोरो सुध्रेको जस्तो लागेर मलाई नी अर्ति देकी हुँदीहुन। आमाले त चिन्न नसक्या बाङ्गे, मैले त्यति सजिलै के चिन्न सक्थें। निस्किएँ त्याँ बाट र लागे गहना पोखरी तिर।

अब भगबतीबाल गएर ट्वाकलाई अघिको सल्लाह अनुसार काम गर्न भन्छु भनेर तात्दै हिन्दै थिएँ म। बालमन्दिर अगाडी पुगेको थिएँ, बाङ्गे आईपुग्यो।

"घरैमा बस भन्या हैन मैले तँलाई? काँ मर्न जान लाईस?" उस्ले मोटरसाईकल रोक्दै भन्यो।

"नआउने मान्छेलाई नी कसैले पर्खिन्छ?" मैले भनें।

"म तँ काँ नै आउँदै थिएँ -- ल ल बस" उस्ले भन्यो।

"म त चाट खान जान ला -- त्याँ भगबतीबालाँ --सुपारी र ट्वाक पनि त्यैं आउँछु भन्या छ" मैले सुनाएँ।

"तेरो बिचार उसो भए, ट्वाक पट्टी भए जा, तरुनी पट्टी भए बस" उस्ले मोटरसाईकल खुट्टाले टेक्दै मोडाएर भन्यो।

अब त्यो पनि कुनै बिचार गर्ने कुरा हो र? बसें मोटरसाईकलाँ।

उस्ले मोटरसाईकल नागपोखरी तिर बढायो, केशरमहल अगाडीबाट दाइने मोडायो, लैनचौर पुर्यायो, अनि लाजिम्पाट तिर लाग्यो। लाजिम्पाटमा त्यो नकर्मी दीदीको घर नेर पुर्याएर मोटरसाईकल रोक्यो।

घडी हेर्यो अनि "ल आईज एक राउण्ड चिया र चुरोट भ्याईन्छ" भन्यो।

"भ्याईन्छ भन्या के?" मैले सोधें।

"अहिले भ्याए पछी थाह पाउँछ्स" उस्ले ज्याकेटको भित्री खल्तीबाट चुरोट झिक्दै भन्यो।

हामी पाकिस्तानी दुताबासको नजिकै थिएम। त्याँ एउटा च्या पसलमा गएर स्पेशल चिया मगायो बाङ्गेले। उ आज धेरै बोलेको थिएन तर मुस्कान चै पोखेको पोखेकै थियो।

चियाका चुस्की सँग चुरोट तान्दै मैले सोधें "अघि के भन्छु भन्थिस त भरे, बेला भा छैन?"

उस्ले फेरी घडी हेर्यो र भन्यो साईतको बेला हुँदै छ।

चिया र चुरोट पछी बाङ्गेले चुईगंम झिक्यो। चुईंगम चपाउँदै उ अघि लाग्यो, म पछी लागें।

लाजिम्पाटबाट खुर्सानीबारी तिर जाने भए नी, बालुबाटार तिर जाने भए नी हल्का उकालो लागेर जाने बाटो छेउमा लगेर उस्ले मोटरसाईकल रोक्यो। उ पनि ओर्लियो, म पनि ओर्लिएँ।

"अब के गर्ने यहाँ?" मैले सोधें।

"तरुनी हेर्ने, अरु के गर्ने?" उस्ले सजिलै भन्यो।

"तरुनी हेर्न यहाँ सम्म आउनु पर्छ त?, उतै पनि थिए नी" मैले भनें। उस्ले म तिर हेर्यो मात्रै केही भनेन। हाँस्न चै हाँस्तै थ्यो।

एकै छिनमा एउटा ट्याक्सी आयो लैनचौर तिर बाट र हाम्रो नजिकै रोकियो। मैले केही बुझ्नु अघि नै ट्याक्सीबाट निशिन्ता र सिरक तरुनी ओर्लीए।

तरुनीहरु त अस्ति मैले देख्या भन्दा झन राम्री भएछ्न। दुई चार दिन नदेखेर हो कि, पानी खोजिरा बेलाँ मोही भेटेर हो कुन्नी।

सुन्दरीहरुको बयानमा सौन्दर्य स्वयम् किंकर्तब्यबिमूढ भए झै आभाष हुन्थ्यो। दुईटै सुन्दरीहरुका अधरमा मन्द मुस्कान चन्चल देखिन्थे। आफ्नो मनमा उल्लासका अनेक थरी बादलहरु जुधेका जुधेका थिए। मनमा खुशीको बाढी उर्लेको उर्लेकै थ्यो। मुटु त यसरी उफ्रिदै थ्यो आफ्नो कि भन्नु? तरुनीहरुले सर्ट थर्केको देख्लान र तर्सेलान भन्ने डर भै सक्या थ्यो। खोलाबाट झिक्या माछालाई पाखाँ राख्या जस्तो बुद्रुक बुद्रुक गरेर चक्कड गर्दैथ्यो मन। तर भाको चैं खास, पाखाँ बस्या मनले खोला भेट्या थ्यो। .....

Read Full Discussion Thread for this article