Posted by: crazy_love November 30, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-७

"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।

"कबिता" युबती आफैले हाँस्दै भनी।

नेपाली शब्दकोषमा खडेरी पर्न थालेछ, मान्छेको नाम पनि कबिता। मनमनै सोच्न थाल्यो उ। सुनिता, बिनिता, लता नभएर किन कबिता राख्नु पर्या होला नाम पनि। त्यसो भए कसैले लेखेको कबितालाइ चाहि के भन्ने नि? "अनिता"? आफ्नै बिचारमा जेलिन थाल्यो उ त्यहाँ।

बिबेकले कबिता बस्ने मेच पछाडी तानेर कबितालाइ बस्न सजिलो बनाइद्यो र एकचोटि उसलाइ घुरेर हेर्‍यो। उसले बिबेकको घुराइ बुझेन।

"तर मलाइ कबिता लेख्न आँउदैन।" कबिता आफैले उसको सोचाइमा अर्धबिराम लगाइदी।

"म पनि बुझ्दिन कबिता।" उसले कबितालाइ सजिलो बनाइदियो।

"कबिता लेख्न, बुझ्न र त्यसको गहिराइमा डुब्न अलिकति पागलपन चाहिन्छ रे।" बिबेक अझै उठिरहेको थ्यो।

"अलिकति होइन होला, पुरै पागल हुनु पर्छ होला।" कबिताले आफ्नो बिचार राखी।

"कसरी?" उसले कबितालाइ सोध्यो।

"किन भने म आधा पागल नैं छु नि, खोइ त अझै पनि मलाइ कबिता लेख्न आँउदैन।" कबिताको कुरा सुनेर सबैजना हाँसे एकछिनलाइ।

"त्यसो भये आज अर्ध पागलहरुको भेला हुने दिन रहेछ।" बिबेकले उसलाइ छड्के हेर्दै भन्यो।

"चिया, कफी के लिने?" बिबेकले दुबैलाइ सोध्यो। उसले कफी मगायो, कबिताले पनि "त्यही" भन्दै टाउको हल्लाइ। उ के कुरा गर्ने भनेर सोच्न थाल्यो। बिबेक गएपछि कबिता उसलाइ हेर्दै बाहिर हेर्दैथी।

" तिमी के गर्छौ?" उसले कबिताको काँधसम्म खसेका एकआपसमा अल्झेका कपाल हेर्दै भन्यो।

"मतलब?" कबिताले राम्ररी बुझिन क्यारे।

"काम गर्छौ कि पढ्दैछौ भनेर सोधेको। भन्न मिल्दैन भने भै हाल्यो।" उसलाइ अलिकति अप्ठ्यारो प्रश्न सोधेको हो कि जस्तो लाग्यो।

"म गफ गर्छु।" कबिता हाँसी।

"त्यो त सबैले गर्छन्।" उसले पनि तुरुन्तै जवाफ दियो।

"म गफ गर्ने काम गर्छु। भनेको मतलब "परामर्शदाता"(counsellor)।" कबिताले छर्लङ पारी।

"कसलाइ दिने परामर्श? के बिषयमा?" उसलाइ कबिताको काम अनौठो लाग्यो।

"जो परामर्श लिन आँउछन्, प्राय बैबाहिक सम्बन्धको बारेमा हुन्छ। हुन त म युबाहरुलाइ पनि जीबन उपयोगी सीपहरुबारे परामर्श दिन्छु। तर धेरै जसो बैबाहिक समस्या लिएर लोग्ने स्वास्नीहरु आउने क्रम बढेको छ आजकल।" आफ्नो पेशाबारे कुरा गर्दा कबिताको आँखामा सन्तुस्टी झल्किएको देखिन्थ्यो।

उ एकछिन चुप लाग्यो। कतै बिबेकले जानी जानी कबितासङ भेट गराइदेको त होइन? के कबितालाइ उसको र साक्षीको सम्बन्धको बारेमा पनि थाहा छ?

"बिबेकले तिमीलाइ मेरो बारेमा केहि भनेको त छैन?" उसले शंका लुकाउन सकेन।

"बिबेकलाइ मेरो कामको बारे केहि थाहा छैन। हामी एउटा साथीको पार्टीमा भेटेकाथ्यौं। त्यतिकै कुरै कुरामा म काठमान्डुमा एक्लो भएको छु भन्दा उसले तिमीसङ भेट भनेर मात्र सुझाब दिएको हो। खासै मेरो बारेमा पनि उसलाइ केहि थाहा छैन र तिम्रो बारेमा पनि मैले केहि सोधिन। कुनै दोस्रो ब्यक्तिसङ सोध्नु भन्दा हामी एक अर्कासङ कुरा गर्दै जाँदा सबै कुरा थाहा भैहाल्छ नि। तिमीलाइ केहि सोध्नु छ भने सोध मेरो ब्यक्तिगत जीबनबारे।" कबिताको कुरा सुने पछि उ ढुक्क भयो।

"जटिल सम्बन्ध लिएर आउने मान्छेहरुलाइ तिमी कसरी मद्दत गर्छौ त?" उसलाइ कबिताको काम नै मन पर्‍यो, अरुलाइ सहयोग गर्ने त्यो पनि सम्बन्ध जस्तो गम्भिर मामिलामा।

"समस्या र समाधान उनिहरुसङै हुन्छ। मैले त उपायहरु पहिल्याउन मद्दत गर्ने हो, बाटोहरु कोर्न सघाउने मात्र हो। निर्णय उनिहरुकै हुन्छ।

"के उनिहरुको सम्बन्ध सुध्रिन्छ त तिम्रो परामर्शपछि?" उ झन उहि बिषयमा जोड दिन थाल्यो।

"सुध्रिने र बिग्रिने भन्दा पनि उनिहरु स्पष्ट हुन्छन् सम्बन्धबारे। कुनै सकिन्छन्, कुनै फेरि बन्छन्, कुनै नबनि निसास्सिरहन्छन्। त्यसमा मेरो परामर्श भन्दा पनि उनिहरुको उत्प्रेरणाको भुमिका रहन्छ। बाताबरण र सम्बन्धको बनावटमा पनि भर पर्छ। यही हुनु पर्छ भन्ने हुँदैन।"

"लोग्नेमान्छे र स्वास्नीमान्छे दुबैको दाँजोमा को भट्किन्छन् धेरै जस्तो सम्बन्धमा?" उसको प्रश्नले कबिता एकछिन टोलाइ।

"म लोग्नेमान्छे वा स्वानीमान्छे भन्दा पनि मान्छे भन्न रुचाँउछु। कुनै मान्छेलाइ खराब वा असल भनेर मेरो पेशाले छुट्याउन दिदैंन। मान्छेहरु मन र मस्तिष्क को सहकार्यमा जिन्दगीलाइ परिभाषित गर्छन्। त्यस्मा कहिले मनले आधिपत्य गर्छ कहिले बिचार। परिस्थिति, आबश्यकता, भावना, असन्तुस्टी र अभाब जस्ता अन्य कारणहरुले गर्दा कोहि पनि कुनै बेला चिप्लिने संभाबना हुँदैन भन्न सकिदैन। तर ती सबै कुराहरुलाइ अबलोकन गर्ने क्षमता कमैमा हुन सक्छ। कोहि चिप्लेर सम्हालिन्छन् भने कोहि उठ्दै लड्दै गर्छन्। यी सबै कुरा समाजले तोकिएको नियमभित्र स्वीकार्य हुँदैन। त्यसैले सम्बन्ध झन जटिल हुँदै जान्छ।" कबिताको कुराहरु झन् रमाइला लाग्न थाले उसलाइ। उसले साक्षीलाइ "मान्छे" मात्र सम्झ्यो एकछिनलाइ, खराब वा असल भन्दा पनि सामान्य मान्छे।

बिबेकले कफी पठायो। कबिता कफी पिउन थाली। उसले सोचे जस्तो कबिताले उसको बारेमा केहि सोधिन। शायद कबिता उसलाइ मन पराउदिन। हुन सक्छ उसको प्रश्नहरु केलाँउदै उसको अनुहारको भाब पढिरहेकी छे। कबितालाइ केहि नभने पनि सबै कुरा बुझ्छे, उ मान्छेको मन र मस्तिष्कको जालोलाइ हरेक दिन नजिकैबाट नियाल्छे। शायद उ कसैले मुख खोल्नु अघि नैं  अभिप्राय बुझ्छे होला।

सन्दर्भलाइ मोड्न उसले फेरि कुरा शुरु गर्‍यो।

"तिमी मलाइ केहि सोध्न चाहदैनौं?"

"आज त मेरो मात्र अन्तर्बार्ता होला भनेर।" कबिताको ठट्टा गर्ने बानी पनि मन पर्‍यो उसलाइ।

"तैपनि होला नि तिम्रो पनि प्रश्न हरु।" उ कफी पिउँदा गार्हो भए जस्तै गरी बोल्यो।

"अर्को चोटि सोधुँला नि, हुँदैन?" कबिताले जिस्किदैं "अर्को चोटि" लाइ अलि ठुलो स्वरमा भनी। उ हाँस्यो र  बिश्वस्त भयो, कबितालाइ दिक्क पारेको  रहेनछ भनेर। कुरै कुरामा कबिताको घर, परिबारको कुराहरु निस्क्यो। घरले खोजेको केटाहरुले कबितालाइ मन पराउदैनन् र उसले मन पराएको केटाहरुले उसलाइ मन पराँउदैनन् रे। उसको बुबा आमा र दुइ भाइहरु भैरहवामा रहेछन्। उ केबल साथी मात्र चाहन्छे अहिलेलाइ। काठ्मान्डुको ब्यस्ततामा कहिले काहिँ कुरा मिल्ने साथी मात्र। केहि बेर उसले आफु के गर्छ? कहाँ बस्छ? भन्ने कुरा बतायो। तर उसको बिगत र साक्षीको कुरा बताउन उपयुक्त ठानेन। पहिलो भेटमा नैं सबै भन्न जरुरी ठानेन उसले। केहि छिन पछि बिबेक पनि आयो उनिहरुसङ कुरा गर्न। कबिता साँझ पर्न लागे पछि उसको घरमा एउटा जरुरी फोन गर्नुछ भनेर त्यहाँबाट हिँडी।

बिबेकले उसको आँखामा नियालेर हेर्‍यो, अलिकति खुशी जस्तो देख्यो। उसले कबिता भन्दा कबिताको कुराहरु मन पर्‍यो भनेर टार्‍यो। दुबैजना साँझको रमाइलो हेर्दै थे क्याफेबाट। एक हुल भर्खरका युबतीहरुको हल्लाले तल बाटोमा हिंडीरहेका बटुवाहरु पनि ठिङ उभिएर हेर्न थाले। बिबेक र उ त्यही बाटोतिर हेर्न थाले। एउटा सानो युबतीहरुको हुल ले एक जना युबकलाइ घेरिरहेको थ्यो। त्यो युबक हाँस्दै केहि लेख्दै युबतिहरुसङ कुरा गरिरहेको थ्यो। बिस्तारै युबतीहरु छाँटिन थाले, युबकको अनुहार प्रस्ट देखिन थाल्यो। बिबेकले ध्यानपुर्बक त्यो युबकलाइ हेर्‍यो र उसलाइ। उ अझै छक्क परेर बिबेकलाइ प्रश्नबाचक द्रिस्टीले हेरिरहेको थ्यो।

"गाइने देखिस् तल बाटोमा ?  केटिहरु पनि कहिल्यै देख्न नपाको जस्तै गरेर त्यै सङ अटोग्राफ माग्नु पर्ने।" बिबेकले फेरि तलतिर हेर्‍यो। बिबेक सङै उसको नजर गाइने भएतिर दगुर्‍यो। गाइने एक्लै थिएन, शायद गाइनेको हात समातेर हिंड्ने साक्षी हुनु पर्छ। अलि पर पुगेर गाइने र उसङै हिंडेकी केटी फरक्क फर्के र त्यही बाटोतिरबाट आँउदै गरेका फ्यानहरुलाइ कुरे। गाइने सङकी केटी साक्षी थिन, उ अरु कोहि थी। बिबेक र उ एक अर्कालाइ हेर्न थाले।

"अरुलाइ रुवाउनेहरु धेरै दिन हाँस्न सक्दैनन्।" बिबेकले उसलाइ हेर्‍दै भन्यो।

उ पर पर आकाशमा भर्खरै देखिएका केहि ताराहरुलाइ हेर्दै थ्यो।

क्रमश:

Last edited: 30-Nov-08 07:38 PM
Read Full Discussion Thread for this article