केही न केही त आफ्नो तर्फबाट पनि गर्दै गर्नु पर्यो। मैले राती सुत्दा खेरी सोचें।----
भोलीपल्ट बिहानै ट्वाक कहाँ गएँ। बाङ्गे काँ फेरी जान मन लागेन। कत्ति खोज्न आईरा जस्तो। ट्वाकलाई पठाएँ जा त बुझ बाङ्गे छ कि घरमा भनेर।
म चैं बाङ्गेको घरको छेउमा उभीरहें। एक छिन पछी ट्वाक आयो। "अन्तर्ध्यान भै सकेछ।" उस्ले सुनायो। "कस्लाई सोधिस?" मैले ट्वाकलाई हेरेर भनें। एक मन त लाग्यो, बाङ्गे घरमै छ। बहाना बनाईराछ। किन चै थाह छैन।
"अरु सुन्छस?" ट्वाकले म तिर हेर्दै हाँसेर भन्यो।
"के?" मैले सोधें।
"बाङ्गे काँ गा रे भन्न?" ट्वाकको अनुहारमा हाँसो फैलदो थियो।
"काँ?" मैले सोधें।
"ट्युसन रे" भो अब? ट्वाकको हाँसो पुरै फुस्कियो यस पटक।
"त्यै त ---त्यै बाँकि छ अब ---अरु त को बाङ्गे जान्छ ट्युशन पढन" मैले भनें।
"त्यसको आमाले भन्या त्यै हो --बिहानै त्यै ट्युशनको बारेमा कुरा गर्न गयो रे" ट्वाकले भन्यो।
"त्यसमाथि सबै दिन छोडेर अब शनिबारको दिन त जान्छ त ट्युशन पढ्न --" मैले भनें।
ट्वाक हाँस्यो मात्रै। पत्याउने कुरो भए पो पत्याउनु।
बाङ्गे ट्युशन स्युसन पढने मान्छे हैन। चिनेकै हो। तर के चैं गर्दैछ, त्यो बुझिएन।
हामी सुपारीको घर तिर लागिम। बाटामा मैले हिंजो राती सोचेको कुरा ट्वाकलाई सुनाएँ। अनि सोधें "पत्ता लगाउन सक्छस?"
पैले त उस्ले म जिस्केको ठानेछ क्यारे, हाँस्यो मात्रै तर पछि बुझेछ मैले साँच्चै भनेको हो भनेर अनि "किन नसक्नु?" भन्यो। अनि सोध्यो "मार हान्ने नै हो त? कहिले?"
"पैले हतियारको बन्दोबस्त गर्न, अनि हान्नु पर्छ मार।" मैले हाँसेर भनें।
"बबाल चैं बबाल हुन्छ होला" उस्ले पनि हाँस्दै भन्यो।
"चेतोस न " मैले भनें।
सुपारीकाँ पुग्या उ चिया खाएर बसिरा रे छ।
"बाङ्गे अझै बेपत्ता छ?" सुपारीले हामी सँग बाङ्गे नदेखेर होला सोध्यो।
"अब त झन शनिबार शनिबार ट्युशन पनि थाल्यो रे -- बेपत्ता त हुने नै भो नी।" ट्वाकले भन्यो।
सुपारी छक्क पर्यो। "बाङ्गेले ट्युशन पढाउने?" उस्ले सोध्यो।
"पढ्ने मान्छे भेटे त पढाउँथ्यो पनि होला नी? तर को पढ्ने उ सँग?" मैले भनें।
"सबै मान्छे त कुन्नी तर तरुनीहरुले पढ्ने भने देखि चै पढाउँथ्यो बाङ्गेले" सुपारीले भन्यो।
"तरुनीहरुले त पढ्ने भने पनि पढाउने भने पनि तयार भै हाल्थ्यो नी" ट्वाकले थप्यो।
"के एक्लै च्या सुरुप सुरुप गरेर बसीरा? जा न भन हाम्लाई पनि" मैले भने पछि सुपारी भान्छा तिर लाग्यो। चिया खान थाले पछि फेरी उही हो -- ट्वाकलाई सोधें मैले -- "छ?"
उस्ले अलि उदास स्वरमा भन्यो "छन त छ, तर छान्ने छैन"
सुपारीले थप्यो, "स्वाद त छान्ने नभएकैमा आउँछ---"
हामी निस्किम घरबाट र सत्तेनारनथान तिर लागिम। त्यो ठाउँ बडा रमाईलो थ्यो, हाम्रो लागि। सक्रान्ती देखि बाहेक त्यता त्यस्तो चहल पहल हुँदैन थ्यो, ढुङ्गेधारा सम्म चै मान्छेहरु आउने जाने गरीरहे पनि मन्दिर सम्मै चै थोरै मात्रै पुग्थे।
त्यो मन्दिरको बरीपरी, धोबीखोलाको डिल सबै हाम्रै थिए।
मन्दिर भित्र छिर्या मात्रै के थिम, छ्याक र झ्यालिन्चा त्यैं भेट भो। सत्तेनारन अगाडीको कालो गरुड बस्या खम्बा सँगै उभिएर चुरोट तानीरा। छ्याक चै तान्दै थ्यो, झ्यालिन्चा चै छ्याकले तान्दै गर्या चुरोट हेर्दै। "खै झिक त हाम्लाई नी" छ्याक तिर हेर्दै मैले भन्या त उस्ले "यही एउटा त छ, झ्यालिन्चा र मैले पालै पालो तानीरा --" भन्यो।
झ्यालिन्चाले यसो यता उती हेरेर सोध्यो "खै त बाङ्गे?"
"ट्युशन पढ्न गयो रे तेरो बाजे" ट्वाकले भन्यो।
"शनिबार?" झ्यालिन्चाले छक्क पर्दै सोध्यो।
"अब नपढ्ने ट्युशन जुन दिन पढे नी के भो र?" मैले भनें।
झ्यालिन्चा अलमलियो। त्यै अलमलको फाईदा उठाएर छ्याकले दुई सर्को तानेछ, झ्यालिन्चा जंगियो "ए--छिम्मा --छ्याक! पालम्पा भन्या हो हैन? दुई दुई सर्को तान्छस?"
दुई चार दिन बाङ्गे नहुँदा हाम्रो त्यस्तो हालत भैसक्या थ्यो। पान्सेपचपन्न पुरै खिल्ली तान्ने हामीहरुलाई, त्यस्तो बिपत आईलागेको थ्यो। बाङ्गे तरुनी सँग गए त केही थिएन तर हाम्लाई पनि मार्का त पार्नु भएन नी -- त्यसै बिचार गर्या हो र?
छ्याकले चुरोट झ्यालिन्चालाई दिए पछि खम्बामा घुँडा टेकेर बस्या गरुड तिर हेर्दै भन्यो "यत्तिका बर्ष सम्म यसरी घुँडा मारेर नमस्ते गर्या गरेई गर्दा नी केही बन्दोबस्त नभए पछी त जानु नी उडेर -- "
छ्याकले गरुडलाई त्यो उपदेश निक्कै गम्भिर भएर दिएको थ्यो। "सडकिन लाईस कि क्या हो ए छ्याक?" ट्वाकले सोध्यो।
"ल ल झिक -- लामो कुरा गर्ने हैन" मैले ट्वाकलाई हेर्दै भनें।
"के?" उस्ले सोध्यो।
"कस्तो के? अघि