Posted by: crazy_love November 21, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

 

भाग-६

साक्षी आज पनि फर्की, उ त्यो कालो रातमा आफुलाइ खोज्न थाल्यो, उसका खुट्टाहरु भुँइमा गाडिए जस्तो लाग्यो, मानौं उसको जीउ मुर्ति जस्तो भएको छ, कतै हलचल गर्न नसक्ने पत्थरको आक्रिती। चिसो बतासले उसको मुटुसम्म छोयो। उ त्यहाँ धेरै बेर बस्न सक्दैन, त्यो उसैलाइ निल्ने अन्धकारमा। बिस्तारै उसले दाँया खुट्टा चलाउन कोशिस गर्‍यो, भुँइबाट हलुका उठायो र एक पाइला सार्यो। अर्को खुट्टा उचालेको मात्र के थ्यो, उसको दायाँ खुट्टा बिस्तारै जमिनमुनि भासिदैं गयो। उसको शरीर अनियन्त्रित भयो, उ कहिँ खस्दै छ जस्तो लाग्यो, पिंध नभएको गहिरो खाडलमा उ भास्सिदैँछ। उ "ठुल्दी" भनेर बोलाउदैथ्यो, ठुल्दी कतैबाट पनि आउनु भयेन। उ खस्ने क्रम जारी छ तर खाडल बाहिर निस्कने संभावना कम हुँदैछ। शायद अन्तिम प्रयाश भनेर उसले बिबेकलाइ सम्झ्यो, बिबेक देखा पर्‍यो र तुरुन्तै उसलाइ निकाल्ने कुनै बलियो डोरी दियो उ त्यही डोरी समात्दै माथी बाँच्ने आशा गर्दैथ्यो। मुटु जोडले धड्किदैंथ्यो र स्वास फेर्न गार्हो भइसकेको थ्यो, डोरी समातेका हातहरु कामीरहेका थे। उ निस्किदैथ्यो त्यो खाडलबाट, साक्षीको कारण खस्न पुगेको त्यो नर्कबाट।

"अझै उठ्ने बेला भएको छैन।" बिबेकले उसलाइ झकझकाँउदै भन्यो। ब्युँझदा उ आफ्नै कोठामा थ्यो, बिहानको झिसमिसे उज्यालो भइसकेकोथ्यो।

"उठ, उठ। जिम जाने भन्या होइन।" बिबेकले आफु आउनुको कारण सम्झायो।

"निद्रै पुग्या छैन आज, भोली गए हुन्न।" उसले अल्छि मानेर लामो हाइ काढ्यो।

"भोली पनि निद्रा नपुग्ने होला नि, फेरि पर्सि गए हुन्न भन्ने होला।"

"तँ सङ एउटा कुरा गर्न मन लाग्यो। आज मलाइ समय दिन सक्छस्, अहिले नैं?" उसले बिबेकलाइ आग्रह गर्‍यो।

"किन? फेरि भेटिस् कि क्या हो साक्षीलाइ?" बिबेकको अनुहारमा प्रश्नहरु देखिए।

"त्यही त! साक्षी मेरो सपनामा पनि आँउछे, मलाइ तर्साँउछे, मलाइ दुखाँउछे। म अब साक्षीसङको मेरो बिगतलाइ मेटाउन चाहन्छु, मलाइ मद्दत गर।" उ निरिह जस्तो देखियो।

बिबेक सोफामा बस्यो, जिम जाने भनेर बोकेको ब्यागलाइ काँधबाट झिकेर भुँइमा राख्यो। उसलाइ हेर्‍यो, कोठाको चारैतिर नियाल्यो, एकछिन घोरियो।

"ठुल्दीलाइ चिया पकाउनु भन्न त।" बिबेक गम्भिर देखियो अहिले।

"केहि दिनको लागि पोखरा जाने त?" बिबेकले उसलाइ सोध्यो।

"त्यो आइडिया नराम्रो होइन। तर म यहीँ बसेर सामना गर्नु चाहन्छु मेरो बर्तमानलाइ। पोखरा गएपनि फर्केर त यहीँ आउनु पर्छ, साक्षीसङ सम्बन्धित सम्झनाहरु त यहीँछन् नि।" उसलाइ पोखरा जानी कुरा त्यति मन परेन।

"एकछिन पख! म पहिला चिया लिएर आँउछु।" बिबेक कोठाबाट निस्क्यो।

हिजो राति भेटिएको साक्षीको गीतलाइ हत्त न पत्त उसले सिरानीमुनिबाट झिक्यो र डसनामुनि लुकायो। त्यसपछि मुख धुन गयो र बिबेक चिया लिएर आँउदा सम्म उसले आफ्नो ओछ्यान पनि मिलाइसकेको थ्यो।

"के तँ केहि दिनको लागि कामको जिम्मेबारी अरु कसैलाइ दिन सक्दैनस्?" बिबेकले चियाको चुस्की लिदैं भन्यो।

"म पनि त्यही सोचिरहेको छु। काम काम भन्दै मेरो तनाब झन् बढ्दै छ। आज म त्यो बारे राम्ररी सोच्छु, शायद भरपर्दो स्टाफलाइ अलिकति काम पनि दिन सक्छु।" उ अलिकति हलुका जस्तो भयो, पुरै त अझै होइन।

"मेरो क्याफेमा फुर्सदको बेलामा आउन सक्छस्? साँझमा ठमेल एकदम रमाइलो हुन्छ। हामी कफी खाँदै मनको कुराहरु गर्न सक्छौँ अथवा ठमेल घुम्न सक्छौं।" बिबेकको उपाय उसलाइ नराम्रो लागेन।

"तँलाइ फुर्सद त हुन्छ त्यहाँ?" उसलाइ बिबेकको काममा खासै बाधा पुर्‍याउन त मन लागेको होइन।

"तेरो लागि म फुर्सद नैं हुन्छु, तैपनि क्याफेमा पुरानै स्टाफहरु छन्, जो मेरो अनुपस्थितिमा पनि राम्ररी क्याफे चलाउन सक्छन्।" बिबेक ढुक्क देखिन्थ्यो।

"अँ, अर्को कुरा पनि भन्न मन लाग्यो तँलाइ। म त तेरो मिल्ने केटा साथी हुँ, तर अर्को केटि साथी पनि भए तेरो मन कतै साक्षीको सम्झनाबाट टाढिन्थ्यो कि?" बिबेक उसको उत्तरको प्रतिक्ष्यामा थ्यो।

"केटी साथी? कस्तो खालको केटी साथी?" उसले उल्टो प्रश्न गर्‍यो।

"तँलाइ कस्तो साथी चाहिएको त्यस्तै। समय कटाउने अथवा रमाइलो पनि गर्ने। तेरो इक्ष्या अनुसारको।"

"म अहिले नैं गम्भिर सम्बन्धको लागि तयार छैन। म भावनामा बहकिन चाहन्न, न त दोस्रो बिहेको लागि चिन्तित छु। मलाइ खालि समय बिताउने भए पुग्छ। त्यस्तो साथी पनि पाइन्छ?" उसले आफ्नो कुरा राख्यो।

"जस्तो साथी पनि पाइन्छ आजकाल। तर एउटा कुरा चाहि तैंले सिक्नु पर्छ।"

"के?" बिबेकको कुरा सक्किनु अघि उसले सोध्यो।

"केटिहरुलाइ प्रभाबित गर्ने केहि कुराहरु। त्यो त तलाइं थाहा छ होला नि हैन?"

"मलाइ त्यस्ता कुराहरु धेरै औपचारिक लाग्छन्। झुठो तारिफ गर्न आँउदैन मलाइ।" उ त्यस्तै थ्यो।

"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छस् त?"

"मलाइ केहि समय दे। म तँलाइ त्यसपछि खबर गर्छु।" उ जिबनमा अगाडी बढ्न तयार भयो।

साक्षीको सम्झनालाइ छोपेर उ नयाँ गन्तब्यको लागि बढ्दैथ्यो। बागबजार र इन्द्रचोकको होटेलले उसलाइ बारम्बार तान्ने गर्थ्यो, उ अरु केहि बहाना गरेर ती बाटोहरुलाइ छल्दै हिड्थ्यो।

एक हप्ता पछि ठमेलको क्याफेमा उ कसैलाइ कुरि रहेकोथ्यो। बिबेकले उनिहरुको लागि बिशेष टेबल तयार गरेको थ्यो। कौसी नजिकैको त्यो टेबलबाट तल ठमेलमा हिँडीरहेका मायालु जोडीहरु देखिन्थे, पर्यटकहरु पसलहरु चाहार्दै गरेको देखिन्थ्यो, साना बच्चाहरु पोस्टकार्ड बेचिरहेका हुन्थे। साँझमा ठमेल कुनै "रात्रि बजार" जस्तो ब्यस्त देखिन्थ्यो। क्याफेको ढोका खोलेर निलो जिन्स् र कालो टी- शर्ट लगाएकी, छोटो कपाल भएकी एक युबती उनिहरु तर्फ आइ, बिबेक अघि बढ्यो र हात मिलायो। उसको मुटु तेज हुन थाल्यो, बिबेकले त्यो युबतीलाइ उसकै नजिक ल्याइसकेको थ्यो।

"उसको नाम................" बिबेकले युबतीको नाम भन्न लागेको थ्यो।

"कबिता" युबती आफैले हाँस्दै भनी।

क्रमश:

 

 


 

Last edited: 21-Nov-08 12:53 PM
Last edited: 21-Nov-08 06:28 PM
Read Full Discussion Thread for this article