अनि उही अलि ठुलो आवाजमा ढ्रीन्न पारेर रोक्यो। हेम्लेट ऐनामा झुण्डायो। झक्कु कुकुर पाल्या रे छ त्यहाँ भुक्दै आईलाग्यो। दार्यो भने त बर्बाद भएन? क्या डर लाग्यो। धन्न एउटी तरुनी त्यो कुकुरको पछि पछि नाम बोलाउँदै आईपुगी।.....
आशलाई त्रासले सजिलै पछार्दो रे छ भन्ने फेरी बुझियो। कुकुर प्रसादले पिडौला छेडला भन्ने त्रासमा तरुनी हेर्ने आश त ओझेल परेछ। कुकुर प्रसाद ठेगानमा आए पछि मात्रै तरुनी तिर ध्यान गयो।
तरुनी हामीलाई देखेर छक्क परी, हामी चै उस्लाई देखेर मक्ख पनि अनि छक्क पनि। म थप छक्क पर्या चैं बाङ्गेलाई देखेर पनि हो। उस्को घराँ आ तरुनी भन्थ्यो, त्यै तरुनी देखेर उ किन त्यसरी छक्क पर्या हो, मैले बुझिन। तरुनी चै कुकुर लिएर एक शब्द नबोली घर भित्र छीरी।
"यै हो तरुनी?" बाङ्गेलाई मैले सोधें।
"किन होईन त? जाडो महिना कि सिरक जस्ती रै छे, मन नै न्यानो भो" उस्ले भन्यो।
उस्को कुराले म अलमलिएँ। "निशिन्ता यै हो?" मैले सोधें।
"हैन यो त, तर नभए नी केही छैन" उस्ले भन्यो।
"आउनुस न भित्र" अर्कि तरुनीले ढोका खोलेर बोलाई। अघिकी तरुनी चै अहिले ढोका खोल्नेको पछाडी थिई।
बाङ्गेले नजानिदो किसिमले मलाई कुहिनाले हिर्कायो। मैले बुझें ढोका खोल्ने तरुनी निशिन्ता हो।
दुई दुईटी तरुनी त्यसरी ढोकामा उभिएको देखे पछि, बाङ्गे संग यता चिया खान आएर मैले गर्नु पर्ने काम गरेछु जस्तो लाग्यो। पानमा दाउ राख्ने बिचारले आएको राख्दा राख्दै पान डबल पर्या जस्तो भो।
अघि नबोल्ने सुन्दरी पनि अहिले चै मधुर मुस्कान सहित निशिन्ताको छेउमा उभिएकी थिई। हामी ढोकाबाट भित्र छिर्ना साथ, निशिन्ताले देब्रे तिर अगुवाई गरी। उ अगाडी थिई, त्यस पछि बाङ्गे, अनि म अनि म पछि अर्कि तरुनी। बैठ्क कोठामा पुर्याए पछि " बस्दै गर्नुस है म बुवालाई बोलाउँछु" भन्दै उ हिनी। अर्की तरुनी पनि गै।
"कस्तो लाग्यो त?" बाङ्गेले कोठाको निरीक्षण गर्दै मलाई सोध्यो।
त्यो "कस्तो लाग्यो?" निशिन्ता प्रति लक्षित हो भन्ने मैले बुझेको थिएँ। त्यसैले भने, यो चै जाडोको घाम जस्ती रै छे। बाङ्गे हाँस्यो। त्यै मौकामा मैले थपें "तँ चै घाम ताप, म चै सिरक ओडनु पर्ला।"
उस्ले म तिर हेरेर के हो भन्नै ला थ्यो निशिन्ताको बाउ होला आए। बाङ्गेले फेरी नमस्ते ठोक्यो। अघि कौसीबाट त मैले मतलब गर्या थेन अहिले चै मैले पनि थप्दें। थप्नै पर्यो नी। अब तरुनी पनि त थपिई नी।
अघि मैले भन्या जस्तो सोफामा बस्दा बस्दै बाउ चैं ले बाङ्गेलाई गाँजी हाले औपचारीक प्रस्नहरुको जालोमा। म चै त फुर्सदै थिएँ, तर तरुनीहरु के मा अल्झेछन। आफ्नो फुर्सद बेरोजगार भो।
बाङ्गेले अनि मलाई चिनाईदेको मात्रै के थियो ए बाउ त म तिर पनि उस्तै। एक पछि अर्को प्रश्न हुर्याउन थाले। पछि उनले अनि अब अगाडी के गर्ने बिचार छ भनेर सोधे-- मैले पनि जे जे भन्दा उनलाई चित्त बुझ्ला जस्तो लाग्यो त्यै त्यै भन्दें। अब उनले बिचारको सम्म कुरा सोधेका त हुन नी। बिचार त राम्रै छ नी सधैं, बिचारको पालना पनि गर्न पो चर्को त। उनले सबै सोधे पछि मलाई नी पाए एउटा कुरा सोधम सोधम जस्तो नलागेको त हैन -- 'त्यो अघि निशिन्ता संगै कि सुन्दरी को नी?" भनेर तर के गर्नु र? सोध्न नहुने। हुन त किन नहुने र तर सोधे पछि फेरी त्यै सराद गर्देलान भन्ने पीर नी।
दिन साँझ सँग मिस्सिदो थ्यो बाहिर। चियाका चुस्कीहरु एक पछि अर्को गर्दै चिया घटाउँदै थिए। अगाडी टेबलमा राख्या पेस्ट्रिज चै खाएको जस्तो मात्रै गरीयो। एउटा टुक्रो खाए सी चार घुटकी चिया खल्लो पार्ने रे छ अनि के गर्ने त?
मन त थिएन जाने तर जानु त पर्थ्यो नै। बाङ्ग्या के ठेगान, बिदा माग्ने पनि हो कि हैन -- उनीहरुले नै जाउ भन्या जस्तो गर्नु अघि नै आफुले जान्छु भन्नु पर्यो नी। त्यसैले बिदा माग्ने काम म गर्दिनु पर्यो भन्ने सोच्दै थिएँ बाउ चै कोठाबाट "एक्कै छिन" भनेर हिने।
"नामी झुर रे छ यार, बाउ" बाङ्गेले म नजिकै आएर भन्यो अनि फेरी थप्यो "अन्तरबार्ता दिन को आ थ्यो र? छोरी चै संगै राखेर सोध्या भए नी लौ भन्नु--त्यो पनि छैन।"
"अब जानु पर्छ बाङ्गे" मैले भनें अनि उठें सोफाबाट।
"खै लभ पनि आफ्नो त स्पिड जस्तो होला छ, भेलोसिटी जस्तो खोज्या।" उस्ले फिजिक्समा पढ्या पाठ सम्झेछ क्यारे, भन्यो।
मैले केही भनीन। फेरी उसैले भन्यो "भेलोसिटी हैन त डाईरेक्सन पनि भा?"
"अँ" मैले भनें।
बाङ्गे म नजिकै उभीएको थ्यो, हामी झ्यालबाट बाहिर हेर्दै थिएम। उस्ले भन्यो "जानै मन् छैन--घामै देखिएन"।
"अब रात पर्न ला बेलाँ के घाम देख्थिस त--आफ्नो सिरकको त अत्तोपत्तो छैन, अब तँलाई रातीहुँदी घाम?" मैले हाँस्दै भने।
यत्तिकैमा पछाडी कोही छिटछिटो आए जस्तो लाग्यो । यसो फर्केर हेर्या त्यै अघिको कुकुर। भयो अब।
"ए! आयो तेरो बाजे" मैले पनि छिटछिटो भने।
बाङ्गेले झस्केर "के?" भन्दा उ सोफामा चढीसक्या थ्यो। उ सोफाँ चढ्या देखेर म पनि चढें अर्को सोफामा। मलाई कुकुरले क्याप्प पार्या उस्ले सोफाबाट देख्यो भने खत्तम भएन? नरमाईलो हुने त मलाई मात्रै न हो उस्लाई त धुनधानै रमाईलो हुन्थ्यो--अनि टोलमा त्यो घटना बाङ्गेले उस्को स्वाद अनुसार दर्ता गराए पछि सधैको लागि पुग्थ्यो। बिचार त गर्नै पर्यो नी।
अनि त एकै चोटी दुईटी तरुनी पनि ब्रुनो ब्रुनो भन्दै आए। तरुनीहरु आउँदा त बाङ्गे र म दुईटै सोफामाथि उभिरा।
"किन अब सोफामा उफ्रीने?" निशिन्ता तरुनीले त्यो पनि बाङ्गेलाई नै हेरेर सोधी। त्यसमाथि हाँसेर।
"हैन अब घर जाउ भने त भैगो नी कुकुरै त लाउनु पर्दैन नी" उस्ले भन्यो।
कुकुरलाई निशिन्ताले समातीसकेकी थिई। अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। ....