Posted by: crazy_love November 18, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-५

शायद उसले त्यसरी साक्षीलाइ पहिले कहिल्यै प्रेम गरेको थिएन होला।

 पस्चाताप हुन थाल्यो उसलाइ, साक्षीको चाहनालाइ किन बुझ्न सकेन उसले? के साक्षी उ सङ सुख खोजीरहन्थी? यत्रो घर र सम्पन्न्ता हुँदा हुँदै उसलाइ अरु के कमी थ्यो? घरको काम छुनै पर्दैनथ्यो, ठुल्दी आफै सबै गर्नु हुन्थ्यो। साक्षीलाइ पैसाको लागि जागीर खानु पर्ने बाध्यता थिएन, तैपनि घर बस्दा बोर हुन्छ भनेर उसकै दीदीको स्कुलमा सघाउन जान्थी। पढाउन त हैन, त्यस्तै नाचगान के के सिकाउने गर्थी रे, साक्षीको दीदीबाट सुनेको उसले। उ कहिल्यै साक्षीलाइ काम, पढाइ र गीतको बारेमा सोध्दैनथ्यो, न त साक्षी उसलाइ केहि सोध्थी। साक्षी बिहानै उठेर कलेज जान्थी, जतिखेर उ निद्रामैं हुन्थ्यो। दिनभरी दुबै आ-आफ्नो काममा ब्यस्त हुन्थे, राति उ फर्किदाँ साक्षी निदाइ सकेकी हुन्थी। शनिबारको दिन उ घरमै हुन्थ्यो, प्राय जसो ससुरालीमा नैं खाना खान जान्थ्यो। साक्षी बिहानै उठेर माइती जान्थी, उ दिँउसो मात्र पुग्थ्यो। उसलाइ धेरै कुरा गर्न मन लाग्दैनथ्यो साक्षीको माइतीमा। त्यसैले खाना पछि औपचारिक कुरा सकेर ब्यस्तताको बहानामा उ बिबेक कहाँ जान्थ्यो। साक्षीको माइती खलक पनि ठुलो थ्यो, कहिले कसको जन्मदिन, पास्नी, भन्दै साक्षी आफ्नै दिदीबहिनी सङ रमाएकी हुन्थी उसको फुर्सद हुँदा पनि। उसले साक्षीलाइ कहिं जान रोकेन, गाइनेको कन्सर्ट होस् वा साथीहरुसङको भेटघाट। उ सम्झन्थ्यो साक्षी खुशी छे, त्यो भन्दा बढी उसलाइ खुशी लाग्थ्यो। साक्षी र उसको दुनियाँको भिन्दा भिन्दै भुगोलमा कुन बेला साक्षी उ सङ टाढीइ, उसले पत्तै पाएन।

बाहिरबाट आएको आवाजले उसको सोचाइलाइ बिथोल्यो, सुनसान रातमा बाहिरको ढोका कसैले ढकढकाए जस्तो सुन्यो उसलाइ। ठुल्दीले शाअयद ढोकामा ताल्चा लाइदिनु भएछ क्यारे भन्दै उ बाहिर गयो। चकमन्न अध्याँरो थ्यो, कतै केहि देखिदैनथ्यो, बाटोको खम्बामा बलेको मधुरो प्रकाशले ढोकामा कोहि उभिरहेको जस्तो देख्यो उसले। ठुल्दी पनि राती किन सबै बत्ती निभाउनु पर्ने होला भन्दै उ ढोकानिर पुग्यो। त्यो अस्पस्ट उज्यालोमा उसले सेतो लुगा लगाएकी एक युबतीको शरीर देख्यो। अनुहार चिन्न सकेन उसले, ढोकाको चाबी पर्खालको एउटा कुनामा छाम्दै उसले सोध्यो।

"कसलाइ खोज्नु भएको?"

"मेरो लोग्नेलाइ।"स्वर चिन्यो उसले सजिलै, साक्षी थी ढोकामा। उसकी साक्षी, उसकी मात्र साक्षी। हतार हतार ढोका खोल्यो उसले।

"भित्र आउ न साक्षी। म तिम्रै अगाडी छु नि। मलाइ चिनेनौ? म तिम्रो लोग्ने हुँ।" उ साक्षीको नजिकै उभिन गयो। साक्षी उ भन्दा अलिकति पछि हटी।

"तपाइको अनुहार नैं बेग्लै छ। म तपाइलाइ चिन्दै चिन्दिन। कसरी तपाइं मेरो लोग्ने हुँ भन्नु हुन्छ?" साक्षीको प्रश्नले उ छक्क पर्‍यो।

"यहाँ अध्याँरो छ। भित्र जाँउ, बत्तीको उज्यालोमा शायद तिमी मलाइ चिन्छौ होला। हिंड भित्र।" उसले साक्षीलाइ डोर्‍याउन खोज्यो, साक्षी अडिग भएर बसी।

"यो मेरो लोग्नेको घर होइन जस्तो छ। म भित्र जाँदीन।" साक्षी फर्किन खोजी।

"यती राती कहाँ जान लागेकी साक्षी? यो तिम्रो घर हो, अनि म-- यी हेर म तिम्रो लोग्ने।" उसले आफ्नो अनुहारलाइ बाहिरको बत्तीको मधुरो प्रकाशमा सकेसम्म देखाउन खोज्यो।

"होइन, तपाइ को? मैले तपाइँलाइ कहिल्यै देखेकी छैन। मेरो बिस्वास गर्नुस तपाइ भ्रममा हुनु हुन्छ जस्तो छ।" साक्षीको आवाजमा भय झल्कियो।

"म तिम्रो जीवनभरीको साथी, तिम्रो आफ्नो लोग्ने। नपत्याए सुन। मैले तिम्रो गीत कन्ठै गरेको छु, तिम्रो गीतको हरेक भावमा डुबेको छु, मैले तिम्रो गीतमा तिमीलाइ छोएको छु।" उ सकेसम्म प्रमाणहरु जुटाउन खोज्यो।

"त्यसोभए भए पक्कै पनि तपाइ मेरो लोग्ने हुनु हुन्न। उहाँ मानबीय संबेदनाभन्दा परको संसारमा बाँच्ने मान्छे। उहाँलाइ भावनाले कहिल्यै छुन सक्दैन।"साक्षी ढोकातिर लम्की।

"मलाइ छोडेर कहाँ जान लागेकी साक्षी? प्लिज फर्क--" उ बिन्ती गर्न थाल्यो।

साक्षी उसलाइ हेर्दै नहेरी अघि बढी, सेतो छाँया अध्याँरोमा नहराएसम्म उसले हेरि रह्यो।

क्रमश:

 

Last edited: 21-Nov-08 06:27 PM
Read Full Discussion Thread for this article