तरुनी तरुनी भन्थ्यो के गरेछ त बाङ्गेले? म सोच्दै थिएँ बाटामा ---
हामी एक हुल ग्वारग्वार भुतेस्वरबाट बाङ्ग्या घर (घर पनि छडके छडके पर्या थ्यो त्यसो त) तिर लाग्दै गर्दा पुडकेले सोध्यो "काँ जान ला हँ?" हामी फटाफट हिन्दै थिएम अनि ब्ल्याक बेल्ट ट्वाक पनि सँगै थ्यो। कता झगडा परेछ क्यारे अनि हामी फाईट खेल्न जान ला जस्तो बुझ्या हुनु पर्छ उस्ले। उ पनि पछि लाग्यो। "हँ दाई?" उस्ले फेरी सोध्यो। उस्ले दाई भनेर कसैलाई सम्बोधन गरेको थिएन जस्ले जवाफ दिए पनि हुन्थ्यो। छ्याकले झर्केर सोध्यो "के?"
पुडकेले झ्यालिन्चा तिर सरेर सोध्यो "ज्ञानेश्वरको केटाहरु हो दाई?"
ज्ञानेस्वरको केटाहरु हो भनेर उस्ले सोध्या सुन्ना साथ बाटाँ अलपत्र परेर बस्या अरु दुईटाको कान ठाडो भो।
"काँ ज्ञानेश्वर? समात्यो रे क्या तेरो बाउ लाई उता -- जाकिरा छ रे" झ्यालिन्चाले चिबाहलतिरबाट किस्नदाईको घर निस्किने गल्ली छिर्दै भन्या के थ्यो ति अघि कान ठाडो पार्नेहरु पनि मिस्सिए। पुडकेले आफ्नो बाउलाई घरमै देख्या भएर हो कि जाक्किए जाक्किओस भनेर हो वा झ्यालिन्चाको कुरा बुझेर हो उ चिन्तित देखिएन बरु ति मिस्सीने दुईटा मध्ये एउटाले सोध्यो "कस्लाई हँ?"
चिबाहल भित्र छिर्ना साथ तिनटा भुस्या कुकुरहरु पनि टोक्ने नै हुन कि झै गर्दै भुक्दै आए। एउटालाई अघि त्यो "कस्लाई हँ" भनेर सोध्नेले कसेर एकलात ठोके पछि बाँकि भाका दुईटा पनि तितर बितर भए। "कस्लाई हालेछ खोरमा?" अर्को ले चुरोट सल्काउँदै सोध्यो। सल्काएर चुरोट एक सर्को ताने पछि झ्यालिन्चा तिर वढायो त्यस्ले। झ्यालिन्चाले चुरोटलाई नाईँ भन्ने कुरो भएन। जिन्दगीको अन्तिम सर्को हो कि झै गरेर ताने पछि चुरोट फिर्ता दिदै उस्ले भन्यो "बाङ्गेलाई हनुमान ढोकामा कोचेछ"।
"तँलाई था छ कोच्या नकोच्या?" मैले झ्यालिन्चा तिर हेर्दै सोधें।
"जे पायो त्यै नभन्न झ्यालिन्चा, अहिले हैन रे छ भने?" सुपारीले नी सम्झ्यायो।
"अब गुम्बेले भन्या त्यै हो क्यारे -- मैले भन्या हैन -- आफ्नै आँखाले देख्या मैले बाङ्गेलाई पुलिसले हनुमानढोकाँ लग्या भनेर भन्थ्यो--मैले त सुन्या कुरा भन्या--मलाई के भन्छस?" झ्यालिन्चाले उस्ले अघि दिएको समाचार अनि भरखर तानेको चुरोट दुईटैको रक्षा गर्न खोज्यो।
गल्लीबाट निस्किदा घोर्पा एउटा भुस्याकुकुरले घाँटी कन्याको हेरेर बसीरा रे छ--हाम्लाई देख्ना साथ भन्यो "यो कुकुरको घाँटीमा लुतो लागेछ ल एस्स्सीमा!-- खाली कन्याको छ कन्याको छ--"
ट्वाकले घोर्पा तिर हेरेर भन्यो "तैले सारेको त होला नी।" घोर्पा देब्रे कुहिनो कन्याउँदै थ्यो दाहीने हातले ट्याक्कै रोक्यो। ट्वाकले भन्या भएर होला उस्ले प्रतिबाद गरेन। हामी सबै हासीम। "कता नी? बोसहरु?" उस्ले सोध्यो। यस पटक पुडकेले जवाफ दियो "बाङ्गेलाई थुन्यो रे हनुमानढोकामा।"
बाङ्गेलाई नचिन्ने को नै थियो होला र टोलाँ? "हो र? ल खत्तम! हनुमान ढोकामा त साफ चुटछ यार" भन्दै छ्याक पनि पछि लाग्यो।
हाम्रो टोलाँ कतै केही होला र हेरम्ला भन्नेहरुको ग्याङ्ग भयंकर ठुलो थ्यो। अरु बेला भए हामी पनि त्यै ग्याङ्गमा हो। टोलमा कतै टेलिफोन जडान गर्न लागे भने, कतै ढल खन्न थाले भने, झगडा पर्ला पर्ला जस्तो लाग्यो भने, साईकलले हाँस किच्यो भने, मोटर चढेर कोही आयो भने, मातेको जड्याँ सडकाँ धेरै अंग्रेजी अलि थोरै हिन्दी र एकदम कम नेपाली बोल्दै लर्बराउँदै गर्या छ भने, राम्रा नराम्रा जस्ता सुकै हुन तरुनीहरु हिने भने टक्क अडिएर हेर्ने चलन थ्यो। अब घराँ आएर कम्पुटर गेम खेलम्ला भन्ने थिएन। घराँ त देख्यो कि त कि होमवर्क गर भन्थे, कि उपदेश दिन्थे। त्यस्ता कुराहरुमा हाम्रो मन अडिदैनथ्यो। जे मनोरन्जन गर्नु थ्यो बाहिरै गर्नु पर्थ्यो।
हामी बाङ्ग्या घर छेउ तिर पुग्दा हाम्रो हुल निक्कै ठुलो भैसक्या थ्यो। हुलमा गफ गर्नेहरुको कमी थिएन। "बाङ्गेलाई पुरा हतकडी सतकडी लाएर हनुमान ढोकामा थुनीरा छ रे" "के मान्छे सान्छे मारेछ की क्या हो?" "पुलिसले मुन्ट्याउँदै लगेको रे -- गुम्बेले देखेछ" "मोटरसाईकल कुदाउँथ्यो कत्ति न कुन चै लाई चेप्ट्यायो होला अनि" "सधैं घरैमा चोर्थ्यो क्यारे अब बाहिर फेर पनि सुरु गर्यो होला नी त सोम ले" "बाङ्गे ठुलै मुद्दामा पर्छ भनेर त मैले त्यस्लाई चिने देखी भन्ने गर्या हो नी -- ल हो कि हैन रे छ?" "बाङ्ग्या बाउलाई चिन्या छैन तिमीहरुले? पुलिसले केही गर्न सक्दैन बाङ्गेलाई" "बाङ्गे हरीप त हरीप छ यार, कसै संग डराउँदैन" "मान्छेको फेला पर्या छैन अनि डराउँदैन नी" "तँलाई त एक हुक दियो भने ढलमा गुल्टाईदिन्छ--कुरा गर्छ मान्छेको फेला पर्या छैन रे" "हतकडी नै लाएर लग्या भनेसी त --" "काँ घरैबाट लग्या रे?" यस्ता अनेक थरी कुरा हुँदै थिए पछाडी। ती कुराहरुको छिनोफानो गर्ने समय थिएन। हामीलाई छिटो बाङ्गेको घर पुग्नु थ्यो। अब हल्लाले हाडीगाउँ हल्लिने पक्का थ्यो। भोली सम्म बाङ्गेलाई सडकाँ नदेखे "बाङ्गेलाई ज्यानमारा मुद्दामा नक्खु लग्यो रे" भन्दै उस्लाई नक्खुमा देखेको भन्नेहरु प्रसस्तै भेटीन्थे।
हामी बाङेगेको घर पुग्नु अघि रोकिएम। को जाने भित्र? सबै हुल जाने कुरा त भएन। ट्वाकले "तँ जा--कुरा बुझ्नु पर्ने हो कि बुझाउनु पर्ने हो" भन्यो। यसो हेर्या हुल निकै गतिलो भैसक्या रे छ। बाङ्ग्या घराँ त त्यस्तो नौलो भए जस्तो केही थिएन। ढोका बाहीर हुल गर्ने पनि कोही थिएनन। अचम्म लाग्यो।
म उस्को घरको बाहिरी पर्खालमा राख्या त्यो ठुलो ढोका खोल्न अघि बढदै थिएँ। भित्र बाटै ढोका खुल्यो। बाङ्गे पो निस्किन्छ बाहीर त। हामी त हेर्या हेरेई भएम। उ पनि छक्क पर्यो। हुलमा पनि गाईंगुईँ भो।
"के हो यस्तो? मेरो बे नै छिन्या छैन तिमीहरु जन्ति जान आईसक्या?" उस्ले हामीहरु तिर हेर्दै भन्यो।
"के भन्ने के?" म त अलमलमा परें।
"ह्या बाङ्गे त घरमै रे छ --बेक्कारमा" हुलबाट एउटाले भन्यो।
"यस्तै नचाहिने हल्ला गरेर त हाँडीगाउ नसुध्रेको नी -- चाईने कुरा गर्नु छैन--तातो न छारो--" अर्कोले थप्यो।
"तँलाई त हनुमानढोकामा थुनीराछ रे भनेर बुझ्न आ हामी त" मैले भनें।
"मलाई हनुमानढोकाँ थुन्या भे हनुमानढोका नगएर यहाँ के खान आ त ?--अनि यो हल्ला फिजाउने को नी?"" उ जंगियो।
त्यै बेलाँ बाङ्गेको बाउ आयो मोटर लिएर। बाङ्गे पनि भित्र छिर्यो। भिड तितर भयो। भित्र छिर्दा छिर्दै बाङ्गेले म तिर हेरेर भन्यो "मलाई तँ संग कुरा गर्नु छ"।
भरखर बाउ आएको-- बाङ्गे तुरुन्तै बाहिर आउने कुरै थिएन। हामी पनि लागिम बाटो।
"झ्यालिन्चाले भेटने भो अब दनक" सुपारीले हाँसेर भन्यो।
"मैले के गर्या छ र? गुम्बेले हो क्यारे --त्यै गुम्बेलाई घिसारेर ल्याउन जान्या छैन र मैले?" झ्यालिन्चाले भन्यो। उस्को फुर्ती तर घट्या थ्यो।
"म चै सोच्दै थिएँ, के भन्नु रे छ त उस्को मलाई?" .....