म तिर पुलुक्क हेर्दै लामो सर्को तानेर ट्वाकले भन्यो "त्यो त कुरै छैन नी --"
---
ट्वाक र मेरो बाहीरी रुपमा अघिको मोटरसाईकमा तरुनी राखेर हुईकिने बाङ्गे हैन भन्ने सहमति भए पनि भित्री रुपमा न त मेरो मनले न नै ट्वाकको मनले त्यो सहमति अनुमोदन गरेको थ्यो जस्तो बुझिन्थ्यो।
उता लाजिम्पाटबाट फर्किदा ट्वाक र म बाङ्गेको घर गएम। तर उस्लाई भेट भएन।
"बाङ्गेले त बर्बादै गर्ला जस्तो छ नी --" ट्वाकले न्ह्यल्माटोलबाट कोटालटोल तिर लाग्दै गर्दा अलि सानो स्वरमा सुनायो।
"त्यै त बोरै भो नी--हिन ट्वाक, बरु छ्याक र झ्यालिन्चालाई पनि भेला गरम--सुपारी पनि घरमै होला --जाम चाबेल तिर-- " मैले भनें।
सुपारीको घर नजिकै थ्यो। भेट भयो। छ्याक र झ्यालिन्चा चै सरसोतीथान अघि डबलीमा तल सत्तेनारनथान तिर बाट ढुङ्गेधारमा नुहाएर आएका ठिटी र आईमाईहरु, अनि मालिगाउँ-हाँडीगाउ खाल्डेमार्गमा जबानी बोकेर हिन्ने तरुनीहरु अबलोकन गर्ने कर्ममा जुटेका रहेछन।
"हिन जाम चाबेल तिर" भन्या "पख न, उषा नुहाउन गा छे तल धाराँ उ आओस पैला अनि जाम्ला" भन्यो झ्यालिन्चाले।
"जा न त तल धारैमा गएर हेर" भन्या "यता बाटाँ हिन्ने छुटछन नी त फेरी" भन्यो।
"अहिले सम्म नछुटेर के लछारपाटो ला छ्स र अब छुटछन कि भन्ने पीर तँलाई?" ट्वाकले पेच हान्दै सुनायो झ्यालिन्चालाई।
"हेर ट्वाक, म तँ जस्तो ब्ल्याकबेल्ट भैदेको भए त दशवटा तरुनी मेरा अघि पछि हुन्थे बुझिस?" झ्यालिन्चाले पेच हान्यो ट्वाकलाई।
"ब्ल्याकबेल्ट नभएर के भो त--अलिकति सिंगार पेटार गर --पटासी लाएर कालै पटुका बाँध--ब्ल्याक बेल्ट भै हालिस अनि बिहीबार बिहानै जा बगालामुखी र लाईन लाग -- अनि त दशबटा मात्रै किन त्यो भन्दा धेरै तरुनीहरु अघि पछि हुन्छन।" ट्वाकले हाँस्दै भन्यो।
सुपारी चै हामी भन्दा अलि पर उभिएको थ्यो। हाम्रो कुनै शब्द वा ब्यबहार आपत्तिजनक हुन पुगेमा उस्को त्यसमा सहभागिता छैन भन्ने देखाउन हुँदो हो। उ सधैं त्यसै गर्थ्यो। हामीलाई बानी परीसक्या थ्यो। हिन्न चै हामी संग नै पर्ने उस्लाई फेरी भलादमी पनि हुनु पर्ने। के गरोस? मुस्किल थ्यो बिचरालाई।
"एक सुराँ तरुनी पनि हेर्न पाईँदैन -- किच किच किच किच-- ल ल हिन चाबेल तिर जाने भन्या हैन?" छ्याकले भातेदेउता राख्ने घर तिर अघि बढ्दै भन्यो।
"बाङ्गे खै नी?" सुपारीले म तिर हेर्दै सोध्यो बेखालालको घर तिर पुग्दै गर्दा।
"मलाई के थाह? बाङ्ग्या ठेक्का ल्याछ र मैले?" भनें। बाङ्ग्या त नाम सुन्यो कि त रिस उठ्ने जस्तो भएछ।
"ल झन राम्रो सँग सोधी रा छु --" सुपारीले अझै नरम स्वरमै भन्यो।
"ल--माचिस! तिमीरुलाई था छैन?" झ्यालिन्चाले छक्क परे झै गरेर सोध्यो हामीलाई हेर्दै।
"के?" मैले सोधें।
"बाङ्गेलाई त हनुमान ढोकामा थुनीराछ रे" झ्यालिन्चाले भन्यो।
"कस्ले भन्यो तँलाई?" ट्वाकले सोध्यो।
"मलाई त पैलेई थाह थ्यो -- ढिलो चाँडो बाङ्गे पुग्छ हनुमान ढोका भनेर" सुपारीले भन्यो।
"हनुमान ढोका हनुमान ढोका भनेर के उ त्याँ घुम्न गा कुरा गर्या कि के कुरा गर्या?" मैले सोधें। अघि उस्की आमाले त केही भन्या थिएन।
"काँ घुम्न जाने? पुलिसले बरु अहिले घुमाईरा होला नी त्यस्लाई? पुलिसले लिएर जाँदै थ्यो रे --" झ्यालिन्चाले भन्यो।
"कैले?" ट्वाकले सोध्यो।
"खै बजे त था छैन" छ्याकले भन्यो।
"तँलाई कस्ले भन्या नी?" मैले सोधें।
"मलाई त यसैले भन्या हो अघि" छ्याकले झ्यालिन्चालाई देखाउँदै भन्यो।
"अनि तँलाई चै कस्ले भन्यो?" मैले झ्यालिन्चालाई सोधें।
"मलाई त गुम्बेले भन्या" उस्ले भन्यो।
"अनि गुम्बेलाई चैं कस्ले भन्या रे छ नी?" मैले सोधें।
"गुम्बेले त उसैले देख्या भन्थ्यो, पुलिसले लिएर जाँदै थ्यो रे"
"किन र? के गरेछ?" सुपारीले सोध्यो।
"के था? तर जे गर्या भे नी त्यस्को बाउले छुटाईहाल्छ नी --हाम्लाई लग्या भे पो हड्डी भाँचेर छोडने हो कि भन्ने पीर" छ्याकले भन्यो।
"भए पनि, साथीको पिर हुँदैन?" यस पटक ट्वाकले सोध्यो।
हामी किस्नमन्दिर अगाडी थिम्, भैरबथान सँगै।
"अब के गर्ने त? हामी भेटन जाम भने हाम्लाई समेत जाक्देला भन्ने पीर" झ्यालिन्चाले भन्यो।
"तँलाई किन जाक्ने नी?" मैले सोधें।
"हामी जस्तालाई जाक्न पुलिसलाई कारण चाहिन्छ? उस्को चियाको रंग कडा भएन रे भन्ने झोंकैमा पनि जाक्दिन्छ।" झ्यालिन्चाले भन्यो।
"हिन हनुमान ढोका जाम" ट्वाकले म तिर हेरेर भन्यो।
मैले केही भन्नु अघि नै सुपारीले "ह्या--पहिले उस्को घरमा हिन -- त्याँ कुरा बुझम--बाङ्गेलाई थुन्या कुरो गुम्बेले थाह पाउने त्यसको घराँ थाह नहुने हुन्छ? थाह रैन्छ भने गुम्बेले यसो भन्थ्यो भनेर भनम--त्यस्को बाउले एक कल दियो भने घरैमा पुर्याउन आउँछ डि एस पी -- तै पनि जानु पर्ने भए जाम्ला हनुमान ढोका पनि तर पैला त्यसको घराँ जाम" भन्यो।
कुरा त ठिकै हो। हामी सबै बाङ्गेको घर तिर लागिम।
तरुनी तरुनी भन्थ्यो के गरेछ त बाङ्गेले? म सोच्दै थिएँ बाटामा ---