Posted by: Rahuldai October 31, 2008
!! षड्यन्त्र! !!
Login in to Rate this Post:     2       ?         Liked by

षड्यन्त्र
भाग ४

 

त्यो फाक्स को यथार्थता पत्ता नलगाई यो षडयन्त्रको छेउ पुग्न सकिन्न, मलाई लाग्यो। फाक्स् संप्रेषण को नम्बर हेर्दा काठमाडौं को कुनै कुनाबाट नै गरेको स्पष्ट देखिन्थ्यो। बानेश्वर तिरको नम्बर जस्तो लाग्थ्यो।  दूर संचारमा गएर बुझ्न जरुरी लाग्यो र एक जना मित्र राजन मास्के लाई सम्झें र फोन घुमाएं। तत्काल दूर् संचार अफिस्, सुन्धारा स्विचिङ्ग सेक्सन आउन भन्नु भयो मास्केजीले। हाम्रो अन्दाज सहि थियो, नयाँ बानेश्वर, हजुरको पसल छेउको कम्युनिकेशन सेन्टरबाट् फाक्स् गरिएको पत्ता लाग्यो। त्यो भन्दा महत्वपूर्ण कुरा, त्यो फाक्स् गर्न सक्ने संभाब्य मान्छेहरुको सूची तयार भयो। शंका न हो, यकिन नभए पनि त्यसको पछाडि लाग्नै पर्दो रहेछ। बडो होशियारपूर्बक सिर्जनाको बैबाहिक जीवन पछिका यावत घट्नाक्रमहरुलाई केलाउनु पर्ने देखियो।

सिर्जना कार्यरत अड्डा, आफ्नै पुरानो अड्डा भएकोले बुझ्न सजिलो हुने जस्तो लाग्यो।  अड्डाका पुराना सहकर्मीहरु संग भेटघाट् गर्ने निहु बनाएर गएं पुरानो अड्डा तिर।

एक जना भरपर्दो कर्मचारी सुब्बा साहेब नारायण आचार्य हुनुहुन्थ्यो। एक छिन गोप्य कुरा गर्नु छ भनी खाजा खाने पसल सुकुरामको मा गयौं। सिर्जनाको बिगत त राम्रो संग थाहा थियो मलाई, तर बर्तमान आफु संग अ-सरोकारको बिषय भएकोले कहिलेइ वास्ता गरिएन, आज सोध्नै पर्ने भयो र सोधें।

"सिर्जना, कस्तो खाल कि इन्जिनियर हुन्?"

"सर ले नि कस्तो कुरा सोध्नु भएको? किन र ? "
"कारण पछि भनौला, कस्तो स्वाभाव की, कस्तो बानी ब्यहोराकी छे भनेको नि? "

"अत्यन्तै सीधा, सोझी इन्जिनियर हुनुहुन्छ, सिर्जना माम्। धेरै नबोल्ने, कहिलेइ न रिसाउने।"

"हालै आएर बिदेशमा पढ्न जाने कुरामा केही भन्नु हुन्थ्यो?"
"- कन्फरमेशन आए पछी लड्डु खुवाउनु भएको थियो सबैलाई तर अस्ति चाहि पहिलो पल्ट साह्रै मूड अफ देखिनु हुन्थ्यो, अर्को इन्जिनियरले झन्डै उनको सीट खाइदिएको रे। मुकुन्द श्याम क्या रे, त्यो गडबड गर्ने इन्जिनियर। "


त्यही बिषयमा त केही बुझ्न यहाँ आएको सुब्बा साहेब।

"यसबाहेक अरु केही थाह छ कि तपाईलाई?  उनको श्रीमान बालबच्चा आदि बारे।"
अझ अलिकति जोडले कोट्याएं।


--म्याडम् को श्रीमान् पनि भलादमि हुनु हुन्छ। बडा मिजासिला।

"के उहाँ नि अफिस आइरहनु हुन्छ?"  अध्यांरोमा अर्को पत्थर फ्याकें।

--आउनु हुन्छ , डेलि जस्तो। बाइकमा ड्रप गर्न आउनु हुन्छ।

"येह्!" मैले लामो सुस्केरा लिएं।

"हुन त यस्तो कुरा  सोध्नु नहुने हो , तैपनि  केही थाह भए भन्नु होला क्या रे।"

"लोग्ने स्वास्नीको सम्बन्ध कस्तो लाग्यो, तपाईलाई? "

--पर्फेक्ट जोडी, दिन दिनै पुर्‍याउन आउनु हुन्छ। कहिले काहि लिन पनि। अनि साइट जाने बेला साइट सम्म पुर्‍याउनु हुन्छ। म्याडम् त अर्काको मोटरसाइकलमा पनि बस्नु हुन्न। कस्तो माया हो? यस्तो मायालु जोडि त अहिले सम्म देखेको छैन मैले।


"सर्, यी सबै किन सोध खोज गर्नु भाको तपाईले, कसैलाई भन्दिन भन्नुस् न । "


"त्यही स्कोलरशिपको काण्डको सिलसिलामा हो । शंकास्पद ब्यक्ती जो  कोइ पनि हुन सक्दछ। मुकुन्दश्याम, घनश्याम, राधेश्याम अनि सिर्जना माम् कि पति श्याम क्रिष्ण पनि। "

"सर् यो चाहि अति नै हुन्छ है, कसैले उहाँ जस्तो भलादमीलाई शंका गर्यो भने।"

"लौ त सुब्बा साहेब, धेरै अमुल्य जानकारी दिनु भयो। धन्यबाद। म आएर कुरा बुझेको चाहि नभन्नु होला। म यहा आएको त थाहानै हुने छ। यसो भेटघाट र बिभागिय कामले आएको भनेर कुरा बनाई दिनुस् है।"


 सुब्बा साहेबले जे जति जानकारी दिनु भयो , त्यसको आधारमा बिश्लेषणगर्दा कहिं श्यामक्रिष्ण महाशय कै त चाल होइन यो?  शंकाले जरो गाड्यो।
 
मन ले मानेन। चखेवाको जोडी जस्तो रे उहाँहरु । कुनै पनि समबेदनशील पतिले यस्तो दुष्कर्म गर्नै सक्दैन। अग्नि साक्षि राखेर खाएको सिन्दूर् को कसम् यति निक्रिष्ट हुन्नै सक्दैन।

किन गर्छ यस्तो काम?

--सम्बन्धमा दरार भए वा सम्बन्ध नै करारको भए संभव छ।

इर्ष्या जलन नि ? नेपथ्यतिरबाट् अर्को प्रश्न तेर्सियो।

--इर्ष्या जलन हुनलाई पनि आधार चाहियो नि।


बेक्कारमा शंका गरे जस्तो लाग्यो । केवल घर बानेश्वर हुनु मात्र शंकाको आधार हुन सक्दैन। १० नम्बर वडामा झन्डै ४० हजार को बसोबास छ। सबैलाई शंकाको घेरामा राख्ने त ? आफैले आफैलाई हकार्यो।


तै पनि ,  मन न हो शंकाको घेराबाट श्यामक्रिष्ण हटाउन  पनि तयार भएन।

क्रमश:

Read Full Discussion Thread for this article