Posted by: chipledhunga October 10, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     1       ?         Liked by

एक मिनट पनि फ्लोरीसँग हिंडिएको थिएन होला, जीवनमा तेस्रो चोटि बटन थिचेर बाटो काट्ने अवसर मिल्यो। अलिकति अगाडि हिंडेपछि सीधा पर्ने भवन देखाउँदै "फूड सर्भिस" सुचारु भएपछि खाना खान जाने ठाउँ त्यही हो भनेर देखाइन्। हामी भने दाँया पट्टिको अलि पुरानो खालको अर्कै भवनमा छिर्यौँ। पस्दा पस्दैको ठाउँमा भित्ताभरि असंख्य स-साना बाकसहरु जस्ता थिए। कलेजमै आधारभूत हुलाक सेवा उपलब्ध रहेछ। त्यो ठाउँको औपचारिक नाम कलेज पोस्ट अफिस, छोटकरीमा CPO अनि बोलीचालीको भाषामा सिपो भनिंदो रहेछ। हरेक बिद्यार्थीलाई एउटा बक्स अनि खोल्नलाई कम्बिनेसन नम्बर उपलब्ध गराइंदो रहेछ। यी कुराहरु सुन्दै अझै भित्रपट्टि रहेको एउटा कार्यालयमा पसियो र परिचय गर्न थालियो।

त्यहाँ केही नयाँ बिद्यार्थी र एक कर्मचारी थिए। फ्लोरीले नेपालबाट आएको नयाँ बिद्यार्थी भनेर परिचय गराउँदा सबैले अलि अचम्म मानेर हेरे। कारण के हो बुझिएन, अनि किन अचम्म मानेर हेरेको भनेर सोधिहाल्न पनि मिलेन।  सबैभन्दा पहिले परिचय भएको बिद्यार्थीले आफू मंगल ग्रहबाट आएको भनि बतायो। अनि आँफैंले भन्यो, बंगलादेशबाट आएको अनि टाढाको ठाउँबाट आएकोले मंगल ग्रहबाट आएको हो भन्न मन लाग्छ भनेर। त्यस्तै गरी मलेशिया र इथियोपियाबाट एक एक जना आएका थिए। ती तीन जना नै मेरा सबैभन्दा मिल्ने साथीहरु मध्येका हुन पुगे र अझै पनि सम्पर्कमा छन्।  मैले केही समय अघि लेखेको "बस नम्बर १०१" का सहयात्री पनि तीनै मलेशियाली हुन्। युनाईटेड वोर्ल्ड कलेजबाट एक बर्षको लागि इटली जाँदा एकजना नेपाली साथी भएको र "कान्चीलाई खाट्टमान्डु गुमाउने सहरा" भन्ने गीत उनैसँग सिकेको कुरा पनि त्यही बेला बताए। इथियोपियाली पनि रमाइलो, हँसाइरहने खालको मान्छे रहेछ। त्यसै गरी जापानको ओसाका स्थित कान्साइ विश्वबिद्यालयबाट एक्स्चेन्ज कार्यक्रममै चार जना आएका रहेछन्। ती लगायत अरु केही बिद्यार्थीहरुसँग पनि परिचय भयो।

कलेजको "फूड सर्भिस" अरु केही दिन नखुल्ने भएकोले खानाको लागि अस्थायी ब्यवस्था गरिएको रहेछ। ब्रेकफास्ट भनेर कार्यालयमै अलिकति डोनट, डानिश, केही फलफूल र जुस राखिएको थियो। डोनट त चिनीको पोको जस्तो नै थियो, बरु नेपालमै पाइने मीठो। अनि लन्च र डिनरलाई फुड सर्भिस भएकै भवनमा रहेको स्न्याक बारको भौचर पनि थमाइयो। त्यही बेला नै कलेजको वरिपरि के के छ भन्ने पनि जानकारी दिइयो। केही बेर पछि हामी बाहिर निस्कियौं। दुई चार जना पुराना बिदेशी बिद्यार्थीहरु बाहिर गफ गरिरहेका थिए। सानो कलेज न पर्‍यो, नयाँ बिद्यार्थीहरु भनेर चिनिहाले। देख्नासाथ मलाई सोधे, थाइल्यान्डबाट आएको हो भनेर। होइन, नेपालबाट हो भन्दा अचम्म मान्थे। अनि सोध्न थाल्थे रामे (त्यहाँबाट भरखरै स्नातक भएका छात्र) र गौंथली (त्यहीं अध्ययनरत छात्रा)लाई चिन्छस् भनेर। त्यति बेला बल्ल बुझें अघि फ्लोरीले नेपाली भनेर परिचय गराँउदा किन अचम्म मानेर हेरेका भनेर। मैले लगाएको टीसर्टमा सूर्योदयको प्रीष्ठभूमिमा मन्दिर र डुङ्गाको चित्र अंकित थियो र बैंकक थाइल्यान्ड लेखिएको थियो। मलाई सबैभन्दा मनपर्ने टीसर्टहरु मध्येमा त्यो पर्दथ्यो। सामान हराएकोले झोलामा बाँकी रहेको एउटै सफा टीसर्ट त्यही नै थियो। झोलाको अधिकांश तौल र ठाउँ त क्यासेटहरुले नै ओगटेका थिए (किन त्यसरी क्यासेटहरु बोकेको भन्ने जस्तो लागेको भए यो संस्मरणको दोस्रो भागको अन्तिम अनुच्छेद हेर्नुहोला)। आएको पहिलो दिनमै त्यस्तो लगाए पछि के होला भनेर त्यति बेला सोच्दा पनि सोचिएको थिएन। अहिले गएर फेरूँ भने पनि बिकल्प थिएन।

जे होस्, उनीहरुले रामेको निक्कै प्रशंसा गरे एकदमै "नाइस" र "कूल गाई" भनेर। नजिकै बस्छ र बेला बेलामा आइरहन्छ भन्थे। त्यसै बीच अरु केही पुरानाहरुसँग पनि भेट भयो र उही थाइल्यान्डबाट होइन नेपालबाट हो भन्ने कुरा प्रष्ट गर्ने काम दोहोर्याइयो। केही बेरमा एक जनालाई "तेरो देशको मान्छे आएको छ" भनेर म तिर देखाए। एक छिन त पत्याएन उसले तर उसले नेपालीमै सोध्यो नेपाली हो भनेर मलाई, अनि बल्ल पत्यायो। लामै रहेछ त्यो रामेको आयु पनि, कुरा गर्दा गर्दै आइपुग्यो।  ऊ काठमाडौंको रैथाने नेवार रहेछ। स्नातक सिद्ध्याएर नजिकैको ठाउँमा काम गरिरहेको रहेछ अनि अर्को हप्ता नै स्नातकोत्तरको लागि अलि टाढाको ठाउँमा जान लागेको रहेछ। आफ्नो बैंकको खाता बन्द गर्न आएको, तेरो खोल्ने भए हिंड भन्यो, म पनि हुन्छ भनेर लागें। आफूले ल्याएको केही नगद र ट्राभलर्स चेक साथै बोकेको थिएँ। अगाडी चार  ब्रीत्त भएको पुरानै थियो गाडी। पछि थाहा पाएँ आउडी भन्ने जर्मन गाडी रहेछ भनेर। गाडी स्टार्ट गर्ना साथ साईनो चलचित्रको "सुन कथा एउटा गीत" बज्न थाल्यो। नेपाल बसुन्जेल त्यति वास्ता नगरेको गीत भए पनि त्यहाँ सुन्दा भने एक्कासी नेपालै पुगे जस्तो लाग्यो। दुई चार मिनटमै बैंक पुगियो। खाता पनि कति थरी हुँदा रहेछन्, आफू त रणभुल्लै भैइयो। फेरि त्यहाँकी कर्मचारीले बोलेको आधा जस्तो आफूले बुझ्न सकिन। रामेले सहयोग नगरेको भए गार्है हुन्थ्यो।

बैंकको काम सिद्ध्याएर फेरि कलेजतिरै फर्कियौं। त्यही बेला उसले अरु नेपालीहरुसँग लन्च खान जाने कुरा निकाल्यो जसलाई मैले सहर्ष स्वीकारें। एउटा भवनको पछाडि गाडी रोकेर एक जना अर्को साथी छ कि हेरेर आउँछु भनेर मलाई गाडीमै छोडेर गयो र ५ मिनट जति भित्रै साथीलाई लिएर फर्कियो। पछि पो थाहा भयो त म बसेको छात्राबास त्यही रहेछ भनेर। उसको साथी अलि कस्तो कस्तो तालले नेपाली बोल्ने रहेछ। अरु नेपाली छन् भन्ने त थाहा थिएन मलाई। तिब्बत्ती मूलको रहेछ दार्जिलिङ बस्ने। त्यही बेला थाहा पाएँ, बिशेष कार्यक्रम अन्तर्गत कलेजले तिब्बत्ती शरणार्थीहरुलाई भर्ना लिंदो रहेछ। दार्जिलिङ, काठमाडौं र धर्मशालाबाट ९ जना तिब्बत्ती बिद्यार्थीहरु रहेछन्।

अघिल्लो राती हिंडेको भन्दा साँघुरो बाटो भए पनि करीब ६० माइल प्रतिघन्टाको गतिमा गाडी हुइँकियो साइनोको गीत घन्काउँदै। दुबैतिरबाट एक एक वटा मात्रै गाडी जाने खालको बाटो थियो र अधिकांश भाग ग्रामीण क्षेत्रमै पर्थ्यो। बाटो छेउछाउमा लोभै लाग्दो देखिने हरिया ( टि.भी मा देखिने बिदेशी रङशालाका जस्तै) घाँसहरु थिए र एकदमै ठूला देखिने गाइहरु चरिरहेका थिए। १५-२० मिनटमा फेरि शहर पसियो र बाटोमा त्यस्तै १५-२० तलाकै दुई भवन देखियो। ओहो स्काइ स्क्रेपर पनि देखियो भनेर दङग परें। हुन त न्यू योर्क र शिकागोमा १०० भन्दा बढी तलाका घर हुन्छन् भनेर सुनेको थिएँ तर त्यस दिन त्यही देख्नु पनि मेरो लागि ठूलो उपलब्धी भएको ठानें। पछि थाहा भयो, त्यो शहरको जनसंख्या २५ हजार जति, अनि त्यहाँको १७-१८ हजार बिद्यार्थी पढ्ने विश्वबिद्यालयको छात्रावास भवन देखेको रहेछु भनेर। केही बेरमै गाडी रोकियो। त्यतिन्जेलसम्ममा क्यासेट पल्टिएर लाहुरे चलचित्रको गीतहरु बज्न थालेका थिए।

क्रमश:                                                                     

               

 

    

Read Full Discussion Thread for this article