Posted by: chipledhunga September 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     1       ?         Liked by

छात्रावास भवनको माथिल्लो तल्लामा थियो त्यो सानो कोठा। ढोकाको सीधा ओछ्यान थियो, र ढोका खोल्न पुग्ने भाग बाहेकको कोठाको लम्बाइ ओछ्यानले नै ओगटेको थियो। ढोकाको छेउको भित्तामा एउटा फोन सेट थियो, जसको तारको लम्बाइ कोठाको लम्बाइ भन्दा बढी थियो होला। त्यही कुनामा एउटा सानो क्लोजेट थियो। ओछ्यानको बिपरीत भित्ताको बाँकी लम्बाइ भित्तैमा जोडिएको टेबलले ओगटेको थियो भने त्यसको माथि किताब आदि राख्ने मिल्ने एउटा rack थियो।  बीचमा मुस्किलले एक मिटर ठाउँ थियो होला। फोन सेटको मुनी एउटा सानो दराज जस्तो थियो, अनि टेबलको अगाडि एउटा मेच। ओछ्यानको तल चारवटा ससाना घर्राहरु थिए।  त्यही कोठामा अमेरिकाको मेरो पहिलो रात बित्यो।

राम्रोसँग निंद्रा त के लाग्थ्यो, एकै छिन् निदायो, फेरि बिउँझियो। पछिल्लो चोटि बिउँझिदा त उज्यालो भैसकेको रहेछ। घडी हेरें, बिहानको ७ जति बजेको थियो। कोठाको बन्द पर्दा उघारेर हेरें, ठाउँ त सुन्दर नै रहेछ। जताततै रुखहरु थिए, अनि २ देखि ३ तलाका भवनहरु बीच बीचमा। अलिकति अग्लो ठाउँमा रहेछ त्यो क्षेत्र। तल अलि गहिरोमा सडक थियो।  कोठाको बाहिर पट्टी एउटा कोरिडोर जस्तो थियो। एकातिर सिन्क र अर्कोतिर शौचालय र नुहाउने ठाउँ थिए। सिन्कको दुई छेउमा दुई दुई कोठा थिए। चार कोठाको साझा रहेछ त्यो ठाउँ।  हात मुख धोएर कोठामा फर्किएँ। जम्मा एक सरो जगेडा लुगा बाहेक अरु सबै कुरा हराएको सुटकेसैमा थियो। त्यही लुगा लगाएर निस्किएँ कलेज वरिपरि डुल्न पर्‍यो भनेर।
 
कोठा बाहिरको कोरिडोरको अर्को ढोका खोलें। सानो भान्सा जस्तो रहेछ, जहाँ एउटा सानो फ्रिज, चुल्हो र माईक्रोवेभ (माईक्रोवेभ ओभन हुन्छ भनेर अलि पछि मात्रै थाहा पाएँ, नेपालमा त त्यसको नाम सम्म पनि सुनेको थिइनँ) थिए। अनि छेउमा केही सोफा र टेबल राखिएका सानो बैठक कोठा जस्तो थियो। बैठकमा छिरेर बाहिर निस्किएँ, बार्दली जस्तो रहेछ। अनि सम्झिएँ भित्रैबाट पो माथि आएको थिएँ त भनेर। बैठकमै ३ वटा ढोका रहेछन्। एउटा त भान्सातिर छिर्ने भैहाल्यो, अर्को चाँही आफ्नो कोठा भएतिर जाने रहेछ। अर्को ढोका चाँही त्यस्तै अरु चार कोठा भएतिर जाने रहेछ। भान्सातिर जाने ढोकाबाट निस्किएर फेरि अर्को ढोकाबाट निस्किएर बल्ल तल जाने भर्र्याङ् भेट्टाएँ। ३ तला झरेपछि छात्राबासको बैठक जस्तोमा पुगें। एउटा बिशाल टि.भी बिना दर्शक चलिरहेको थियो। अझ तल्लो तल्लामा चाँही अर्को टि.भी, केही भेन्डिङ मेशिन (त्यो चाँही नेपालमै टि.भीमा देखेर थाहा थियो) र पूल टेबल (सुनेको तर नदेखेको) र अर्को भान्सा जस्तो थिए। मध्यरात पश्चात थकित भएर कहाँबाट पसेको पनि राम्रो सम्झना थिएन मलाई त। बेसमेन्ट (पछी जानेको शब्द है यो पनि) बाट नभै भुइँ तल्लाबाटै पसेको जस्तो लाग्यो र, त्यही बिशाल टि.भी छेउको ढोकाबाट बाहिर निस्किएँ।

करीब आठ हजार जनसंख्या भएको सानो शहरमा करीब १५०० बिद्यार्थी पढ्ने लिबरल आर्ट्स् कलेजमा भर्ना भएको थिएँ म। आफूसँग भएका कागजातबाट आएर कुन कुन कार्यालयहरुमा सम्पर्क गर्ने भन्ने थाहा भए तापनि ती कहाँ कहाँ छन् भन्ने कुराको कुनै पत्तो थिएन मलाई। यत्तिकै वरिपरि डुल्न थालें random दिशाहरुमा। छात्रावास चाइनिज ईटाको जस्तै भवन रहेछ। घुम्दै जाँदा बिभिन्न भवनहरु देखें। हरेक भवनको अगाडि काठको साइनबोर्डमा भवनको नाम, त्यहाँ रहेको कार्यालय, र भवन निर्माण भएको बर्ष खोपेर लेखिएका थिए। अगाडिपट्टी चाँही फराकिला पेटीहरु थिए भने पछाडिपट्टि चाँही गाडी चल्ने पीच सडक थिए। त्यस्तै आठ दश भवनहरु बीच एउटा बिशाल चौर थियो जसका बीच ठूला ठूला रुखहरु थिए र बस्ने केही बेन्चहरु पनि थिए। हरेक भवनको अगाडि पर्ने गरी चौरलाई ढलान गरेको फराकिलो पेटीले घेरेको थियो भने चौरलाई नै छिचोलेर जाने पनि केही पेटी थिए। पेटी र चौरमा थुप्रै लोखर्केहरु देखिए। कोही रुख चढ्दै थिए, कोही चौरमै रमाइ रमाइ के के खाइरहेका जस्ता देखिन्थे।

लोखर्केहरुले खाइरहेको द्रीश्यसँगै आफूलाई पनि भोक लाग्न थाल्यो। अघिल्लो दिन सार्लोटसम्मको उडानमा आधा भाग खाएको खल्लो कुखुरा पश्चात अन्तिम उडानमा एक पोका बदाम र कोक बाहेक खाएको थिइनँ। तर कहाँ गएर के खाने भने थाहा थिएन, आफूले नेपालबाट केही ल्याएको पनि थिइनँ। बिचार गरें, एकैछिन डुलेर छात्राबास फर्केर भेन्डिङ मेशिनबाट केही खानुपर्ला भनेर। चौरलाई छिचोलेर अरु भवनहरुको अगाडि हुँदै मूल बाटो जस्तोमा पो पुगेछु। त्यतिबेलासम्म आफूले सम्पर्क गर्नु पर्ने कुनै पनि कार्यालय देखेको थिइनँ।

बाटो काट्ने ठाउँमा त ठूला ठूला अक्षरमा DON'T WALK भनेर रातो संकेत बलेको थियो। नहिंडिकन कसरी बाटो काट्ने त भने जस्तो भयो। यसो खम्बामा हेरेको, "push button for walk signal" लेखिएको रहेछ। छेउको डल्लो बटन थिचेर केही बेर कुरें र हरियो अक्षरमा WALK लेखेको आए पछि बाटो काटें। त्यता चाँही पसलहरु रहेछन्। कुनै बन्द थिए कुनै खुलिसकेका थिए। पछि थाहा पाएँ downtown भनेको त्यही रहेछ, मुस्किलले २०० मिटर लामो ब्लक थियो। शायद नौबिसे बजार त्यो भन्दा ठुलो होला।  बाटो काटेर एक मिनट पनि हिंडेको थिइन होला, एक मोटो न मोटो अधबैंसे जोडी हात समात्दै बिस्तारै मेरो बिपरीत दिशामा हिंडिरहेका थिए। त्यति बेलासम्म काठमाडौंमा हात समातेर हिंडेको द्रीष्य बिरलै देखिन्थ्यो, देखिए पनि तन्नेरी जोडीहरु हुन्थे। त्यति मोटा मान्छे पनि आफूले कहिले देखेको थिइनँ। कस्तो हाँसो उठ्यो के। अब उनीहरुको अघिल्तिर हाँस्न भएन, त्यसैले फर्किएर मुसुमुसु हाँस्दै जिन्दगीमा दोस्रो चोटि बटन थिचेर बाटो काटें, छात्राबासतिर फर्किने बिचार गर्दै।

फर्कन्छु त भनें तर बाटै अलमल्लिएँ। हिंड्ने मान्छे पनि नगण्य देखिन्थे, त्यो पनि टाढा टाढा कसैलाई सोधूँ भने पनि। यत्तिक्कैमा एउटी कालो बर्णकी महिलाले मलाई नयाँ विद्यार्थी हो भनेर सोधिन्। मैले हो भनें, र परिचय गरियो। ऊनी हाइटीकी बिद्यार्थी रहिछन्, नाम चाँही फ्लोरी। संयोगबस नयाँ बिदेशी बिद्यार्थीहरुलाई सहयोग गर्ने जिम्मा उनले लिएकी रहिछन्। अघिल्लो राती आएको र अहिले बाटो हराएको अवगत गराएँ। उनले ब्रेकफास्ट खान पनि हुन्छ, अनि अरुसँग पनि परिचय हुन्छ भनी उनैसँग आउन आग्रह गरिन्। मान्छे भेटिने अनि भोक मेटाउन पाउने आश गर्दै म पनि उनैसँग हिंडे।

क्रमश:                

         

 

  

 
Read Full Discussion Thread for this article