Posted by: Birkhe_Maila September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ल अर्को एउटा ट्रेलर , यो चाहिँ पछिको एउटा सानो कथाको भाग पनि हुने छ।

 

कथा चौतारीको -दोश्रो मौसम- ट्रेलर-२

------

कुम्ले हतार हतार पछाडि झोला बोकेर लगभग दौडिएको जसरि लम्केर हिँड्दै  थियो र बेला बेलामा पछाडि फर्केर हेर्दै थियो। झिसमिस रात पर्न थालिसकेको थियो र खै किन हो आज छिटै नै टोलको पसलका सटरहरु बन्द हुँदै थिए।

कुम्लेले दाहिने हातले पछाडि झोला छाम्यो र केहि आश्वस्त्व भयो। तर उसको मुहारमा डर र हतारका भावहरु थिए, ऊ शायद केहि कुराबाट भाग्न खोज्दै थियो।

उसको पछाडि सडमा पर कुनै गाडिले मोड काटेकोले हेडलाईट देखियो।

कुम्ले सजग भयो, एक पटक पछाडि हेर्यो र हतार हतार दायाँ बायाँ नजर घुमायो र नजिकैको दुईवटा पसलहरुको बिचमा बनेको गल्लि जस्तो स्थानमा आफूलाई लुकायो।

गाडि नजिक आउँदै थियो।

कुम्लेले आफूलाई गल्लिको भित्तामा अझ जोड संग टाँस्यो!

गाडि उसको सामुन्नेबाट गुड्दा उसले गाडि भित्र कोल्डस्टोरको साहु, र रिट्ठेलाई देख्यो। एकछिनको लागि झिनो उज्यालोमा देखिएता पनि उसले साहुको अनुहारमा आएको क्रुर भाव प्रश्ट संग छुट्ट्यायो।

गाडि जानासाथ कुम्लेलाई पछाडि बोकेको झोला गह्रुगो भएको आभाष भयो। उसले फेरि पछाडि हातले छाम्यो।

उसको हातमा चिसो लाग्यो!

केहि सोचेर उसले एक पटक सडकमा हेर्यो र कुम उचालेर दुवै हात पटक पटक गर्दै कुहिना मोड्दै पछाडि ठेलेर बोकेको झोला भुइँमा राख्यो।

झोला भिजेको रहेछ र झोलाको सिक्रि एक ठाउँमा फुत्किएको रहेछ जसबाट भित्र अटाइ नअटाइ कोचेर राखेको भर्खरै सफआ गरिएको ब्रोइलर कुखुराहरु मध्ये एउटा कुखुराको एउटा खुट्टा बाहिर निस्किएको रहेछ!

उसले फेरि पल्याक पुलुक यता उता नजर दौडायो।

सडमा मानिसहरु पातलिँदै थिए र पसलेहरु पसल बन्द गर्ने तरखरमा लाग्दै थिए।

उसले बल गरेर कुखुराको खुट्टालाई झोला भित्र धकेल्यो। धकेल्ने प्रकृयामा झोलाको सिक्रिको अर्को छेउ फुस्कियो र त्यसबाट अर्को कुखुराको काटिएको गर्धन देखियो।

कुम्ले व्यग्र देखियो। उसले ओठमा जिब्रो फिरायो र देब्रे हातको हत्केला झोलाको आधारमा राखेर दाहिने हातले झोलाको मुख छोप्ने असफल प्रयास गर्दै झोला छातिमा टाँसेर सडकतिर आयो।

ट्याक्सि पाइएन भने बरबाद हुन्छ!

मनमनै भन्दै अघि भन्दा पनि अझ सतर्क भएर कुम्ले बिस्तारै हिँड्न थाल्यो।

आखिर थाहा पाइहाल्यो जुंगेले!

कुम्ले कोल्ड स्टोरको जुंगे साहुलाई सम्झँदै फत्फताउन थाल्यो।

हिजो सम्म त ठूल्दाई तारेमाम् भन्दै फकाउँदा मख्ख पर्थ्यो साहु पनि, आज रिट्ठे गधाले गर्दा फँसियो! त्यसको हड्डि नभाँढि छाड्दिन म!

उसको मनमा आँधि चल्दै थियो ऊ कहिले डराउँदै कहिले रिट्ठेलाई गालि गर्दै सडकको बिचबिचै हिँड्न पुगेछ।

टिँSSSSSSSSS!!”

उसको पछाडि लगभग उसलाई छुनै आँटेको एउटा ट्याक्सिको हर्नले कुम्ले झसंग भयो।

मुखबाट एउटा फोहोर गालि निकालेर उसले झोला अझै छातिमा टाँस्दै पछाडि फर्केर हेर्यो।

एउटा खालि ट्याक्सि उसको पछाडि रहेछ र एकजना तालुखुइले ड्राइवर उसलाई गालि गर्दै फत्फताउँदै थियो।

कुम्लेको नजर ट्याक्सि ड्राइवरमाथि पर्यो।

कुन ट्याबे झ्याप भएर हिँड्या रहेछ भन्या त कुम्ले बजिया पो रेछ!

ट्याक्सि चलाउँदै गरेका पुन्टे बुढाले कुम्लेलाई चिनेर आश्चर्यको स्वर निकाल्दै ट्याक्सिको प्यासेन्जर साइडको ढोका खोलिदिए।

कुम्ले केहि खुसि हुँदै ढोकातिर लम्कियो!

-----

Read Full Discussion Thread for this article