Posted by: chipledhunga September 19, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

बिमानमा प्रवेश गर्दा थाइका परिचारिकाहरुले झैं मीठो मुस्कानले स्वागत गरेनन्। उनीहरुलाई देख्दा लाग्थ्यो कि अत्यन्त बिवशताका साथ उनीहरुले त्यो पेशा अंगालेका थिए। दुबैतिर ३-३ जना बस्ने सिट देख्दा कता कता बार्हबिसे, त्रिशूली आदि रुटमा चल्ने थोत्रा बस चढेको जस्तो लाग्यो। मेरो सिट पछाडितिरै आयल पट्टी परेको रहेछ। सिट पकेटमा रहेको सुरक्षा निर्देशन हेर्दा थाहा भयो, बोइङ ७३७-३०० बिमान परेको रहेछ भनेर। मनै कस्तो खिस्रिक्क भयो। काठमाडौंमा ईण्डियन एअरलाईनसका थोत्रा बिमान देखेको थिएँ र ती ७३७ हुन् भन्ने सुनेको थिएँ। तिनका अगाडी त तात्कालीन शानेवानिका ७५७ हरु त कस्तो खतरा देखिन्थे। आफूलाई पनि कम्तिमा ७५७ बिमान भएको भए हुन्थ्यो जस्तो लाग्यो त्यो उडानलाई। पछि Aviation Week and Space Technology भन्ने पत्रिका पढ्न थालेपछि मात्रै Commercial Aviation मा प्रयोग हुने बिमानका प्रकारहरु बारे अलि राम्रोसँग बुझ्न थालें।

अमेरिकाका प्राय: प्रमुख शहरका नामहरुसँग परिचित भए पनि उपरोक्त उडानको गन्तब्य बारे भने अनभिग्य नै थिएँ। कहाँ होला त्यो चारलोट्टे भन्ने ठाउँ भनेर सोच्थें। जब उपरोक्त गन्तब्य हुँदै बल्टिमोर जाने उडानमा यात्रुहरुलाई स्वागतम भनी उद्घोषण गरियो, तब पो थाहा पाएँ Charlotte लाई कसरी ठीकसँग उच्चारण गर्ने भनेर। सुरक्षा डेमो पनि भिडियो देखाएर नभै परिचारिकाहरुले रेकर्डिङ्को आधारमा हातको ईशाराले गरे।

बिमानमा बसेको केही क्षणमै पुश ब्याक शुरु भयो। जमीन छोडे पछि प्रशान्त महासागर झुलुक्क देखिए लगत्तै उजाड देखिने भूमि माथि उड्न थालियो। बिमानमा श्रब्य द्रीष्य मनोरन्जनको ब्यवस्था थिएन। छेउमा एक गोरी युवती थिइन्। अनुहार र जिउडाल सबै राम्रै थियो। उनको कानबाट वाकम्यानको हेडसेट कहिले छुटेन र शौचालय जाने बेला excuse me भन्नु बाहेक अरु कुनै वार्तालाप भएन। बियर पनि पैसा तिरेर खान पर्दो रहेछ, बरु सिंत्तैमा पाइने कोक नै खाँए।  चिसो कोक क्यानबाट बरफ हालेको प्लास्टिकको कपमा खन्याएर खाँदा त मजै आँउदो रहेछ, नेपालमा जस्तो सिसीबाट "पाइप"ले तानेर खान भन्दा।  Dr Pepper भन्ने पनि पेय पदार्थ हुँदो रहेछ, नाम सुन्दा मरिचमान सिंहलाई सम्झिएँ। खानेकुरामा कुखुरा र गाई बीच कुखुरा रोजियो। खल्लो न खल्लो थियो खानेकुरा पनि, खानेकुराको पस्काइ पनि। आधा पनि खान सकें कि सकिनँ कुन्नी। धातुको सट्टा प्लास्टिककै काँटा चम्चा थिए। जुठो भाँडा पनि गाडामा नभै कालो प्लास्टिकको झोलामा उठाँउदा रहेछन्। करीब साढे चार घण्टा पछि सार्लोट स्थित डग्लस अन्तराष्ट्रीय बिमानस्थलमा अवतरण गरियो। बिना मुस्कानको "Thank you for flying US Air" भनेको सुन्दै जेटवेबाट टर्मिनलमा छिरें।

त्यतिबेला साँझको ८:३० बजेको थियो, र ९:३० बजे मेरो अन्तिम उडान थियो। उडान समयमै भयो। त्यस्तै ३०-३५ जना अट्ने Dash 8 बिमान रहेछ, एकातिर २ अर्को तिर एक जना बस्ने। एक जना बस्ने पट्टी मेरो सिट थियो। ११ बज्नै लागेको बेला आफ्नो अन्तिम गन्तब्यमा झरियो। मान्छे लिन आउने भनेको त थियो, आएन भने के गर्ने होला भनेर सोच्दै सामान बुझ्ने ठाउँतिर लागेँ। त्यहाँ पुग्दा एउटी गोरी महिलाले सोधिन्, "आर यू चिप्लेढुंगा?" भनेर। मैले हो भने पछि आफ्नो नाम दिंदै हात मिलाइन्। धन्न लिन आउने मान्छे त आइछ भनेर सोचें। आफ्नो सुटकेस भने आएन। बिमानसेवाको डेस्कमा गएर क्लेम फाइल गरियो। शायद भोलिपल्ट साँझसम्ममा कलेजमै आउन सक्छ भन्यो त्यहाँको मान्छेले। सामान केही गरी आएन भने त के गर्ने होला, आफूसँग त लुगाफाटा केही नहुने भयो भन्ने पीर गर्दै तीनै महिलासँग गाडीमा लागें।

कलेजको नाम लेखिएको गाडी रहेछ। ठुलै थियो, अहिले नेपालमा देखिने माईक्रोबस जत्रै होला। यात्रु चाँही म एउटै थिएँ। बिमानस्थल छोडेको केही मिनटमै ठुलै देखिने बाटो छोडेर अलि साँघुरो र घुमाउरो बाटोमा उकालो लागियो। पदयात्री, साईकल आदिलाई निषेध भनेर लेखिएको साइन्बोर्ड थियो। त्यत्तिकैमा फराकिलो बाटोमा फेरि प्रवेश गरियो। अनि अर्को बोर्ड देखें, न्यूनतम ४० अधिक्तम ५५ माइल प्रति घण्टा लेखेको। हिसाब गर्न थालें, त्यो भनेको कम्तीमा ६४ किमी प्रति घण्टा हुँदो रहेछ। मानें अमेरिकाका बाटाहरु, नेपालका बाटाहरुसँग तुलना गर्दै। सम्झिएँ, बसमा त्रिशूलीबाट धुन्चेको ४८ किमी तय गर्न ४ घण्टा लागेको। ल त्यो त पहाडी कच्ची बाटो भएर लाग्यो भन्या। बुटवलबाट नारायणघाटसम्मको ११५ किमीको दूरी दाउन्नेको केही भाग बाहेक समथर भए पनि दुई घण्टा जति त लाग्थ्यो। यस्तै यस्तै सोचिरहेको थिएँ, गाडी अर्को बाटोमा मोडियो जहाँ ६५ माइल प्रति घण्टाको गति सीमा तोकिएको थियो। यसो स्पिडोमिटरमा चिहाएको, त्यस्तै ७२-७३ मा हाँकिरहेकी रहिछ। केही ठूला ट्रकहरु पनि देखें, गन्दा खेरी १८ पाङ्ग्रा रहेछन्। सोचें, नौबिसेसम्म त जसो तसो आउँथे कि, त्यहाँबाट काठमाडौं आउन चाँही असम्भव।   

बिमानस्थलबाट करीब ४० माइल पर भनिएको कलेज पुग्न शायद एक घण्टा पनि लागेन होला। मध्यरात कटिसकेको थियो, मलाई एउटा छात्राबासमा छोडियो। त्यहिँको एक जनाले माथिल्लो तलामा रहेको एउटा कोठामा लगेर साँचो दिए। केही चाहिए सम्पर्क गर्नु भनी एउटा कागजको टुक्रामा आफ्नो नाम र एक्स्टेन्सन नम्बर लेखी बिदा भए।

क्रमश:                                                 
Last edited: 19-Sep-08 04:50 PM
Read Full Discussion Thread for this article