Posted by: chipledhunga September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

कता गा हुन् अरु सबै। म आइके पिंडित त हाजिर हुन सकेको बेलामा।

यसो अलिअलि गन्थन गरिहालम है त।

दुई हप्ता अघिको गुस्ताभेको सम्भावित आक्रमणलाई ध्यानमा राखेर खाने पानी, टर्च बत्ती तथा फ्रीजमा राख्न नपर्ने खानेकुराको त प्रशस्तै जोहो गरेको थिएँ। तैपनि बिहीवार बिहानै साहूले छुट्टि दिएपछि सीधै वाल्मार्ट गएर थप त्य्स्तै सामान किनें र गाडीको ट्यांकी पनि भरें।

शुक्रबार त बिहान घमाइलो थियो, दिउँसोसम्म पनि अलिअलि घाम लागिरहेको थियो। साँझ पर्न थालेपछि आकाश कालो हुँदै गयो र हावाको जोड पनि बढ्न थाल्यो। केही सहकर्मीले सम्झाए अनुसार बाथ टब पनि पानीले भरें, पानीको आपूर्ती अवरुद्ध भएको खन्डमा शौचालय चलाउन अवरोध नहोस् भनेर। लुगा पनि एक लोड धोइहालें, आइके बजियाले बिद्युत आपूर्ती अवरुद्ध गर्ने कुरा प्राय: निश्चित भएकोले। आफूसँग न त माटोको अटल छ, न त डल्ले साबुन। भए पनि कहिले चलाएको भए पो त।

टि.भी र ईन्टरनेटमा बारम्बार हेरिरहेको थिएँ, मुख्यत: आइकेकै चर्तिकला। ल्यान्डफल हुन केही समय बाँकी रहे पनि तटीय क्षेत्रमा त छालले बिहानै देखि असर गर्न थालिसकेको थियो। क्याटेगोरी २ अथवा ३ को रुपमा मध्यराततिर आइकेले जमीन हान्ने अनुमान थियो। राती १० बज्दा हावाको बेग निकै बढीसकेको थियो। झ्याप्प बत्ती गयो, तर तुरुन्तै आयो। मैले कम्प्युटर फेरि खोलिनँ तर टि.भी भने हेरिरहेँ। एक दुई चोटि बत्ती फेरि झ्याप्प जाने आउने भयो। ११ बजे तिर सुत्न गैयो। सुत्न त के सक्नु निरन्तर हावाको आवाजले। एकै छिन् रोकिए जस्तो हुन्थ्यो फेरि हुइँहुइँ गर्दै चर्किन्थ्यो। मध्यराततिर बत्ती निभ्यो। पानी पनि जोडसँग पर्न थाल्यो।  धातुको पाता जस्तो केही केही बज्रिरहेको जस्तो आवाज पनि बेला बेलामा आउँथ्यो।  आफूलाई चाँही छानोमा रुख ढल्ने हो कि, आफ्नो गाडी नै कच्याक कुचुक पारीदिने हो कि भन्ने चिन्ताले सताइरह्यो। कुनै गर्हौं बस्तुले झ्याल फूटाइदेला कि भन्ने उत्तिकै पीर।

निद्रा नलागे पछि त आफूलाई पानी खाइरहनु पर्ने, अनि चर्पी पनि गैरहनु पर्ने। नेपालमा जस्तो मान्द्राले बेरेको बाहिरी चर्पी भएको भए त के गरिन्थ्यो होल। ठुल्दाइलाई पनि सम्झिएँ, यस्तो हावामा न बाहिर चिलिम ब्रेक लिन जान सक्नु न भित्रै धुँवाले रङमँगाउनु। जसो तसो रात कट्यो, बाहिर हेर्दा बाटोमा रुखका हाँगा र स्याउला यत्रतत्र छरिएका थिए। केही मत्थर भए पनि हावा र बर्षा जोडसितै भैरहेका थिए। गाडीको जतिसुकै चिन्ता लागे पनि बाहिर निस्किहाल्नु सुरक्षित लागेन। बत्ती त के आएको होस्। सेलफोन बन्द गरेरै राखें ब्याट्री जोगाउन। आखिर सिग्नल पनि राम्रो थिएन। केही घण्टाको अन्तरमा केही मेसेज छ कि हेर्न भनेर खोल्यो, त्यो पनि नेट्वोर्कको समस्याले गार्हो। ल्यान्डलाइन पनि नचल्ने, कमकास्टको फोन लिएको, मोडेममा पावर नभए पछि कसरी चलोस्। ब्याट्रीबाट चल्ने रेडियो नै संचारको एउटै माध्यम रह्यो। रेडियोबाटै थाहा भयो, ग्याल्भेस्टन टापूमा धेरै क्षति भएको रहेछ। ह्युस्टनका सबैजसो ठाउँमा बिजुली गएको रहेछ, अनि प्रमुख राजमार्ग लगायतका धेरै ठाउँ डुबानमा परेका रहेछन्।

दिउँसो बाहिर निस्किएर गाडी हेर्दा सुरक्षितै रहेछ, तर नजिकै एउटा रुख ढलेर अरु गाडीलाइ भने क्षति पुगेको रहेछ। आफ्नो छरछिमेकको वरिपरि यसो निस्किएँ, धेरै ठाउँमा ढलेका रुख र बिजुलीका खम्बा अनि लत्रिएका तारहरु देखिए। छेवैको खोलो पनि बेस्सरी बढेको रहेछ। केही घरहरु रुख ढलेर क्षतिग्रस्त भएका थिए। मूलबाटोमा बिभिन्न ब्यवसायीका साइनबोर्डहरु पनि छरिएका थिए।

आईतवार केही ब्यवसायहरु खुल्न थाले, कुनै जेनेरेटरबाट कुनै चाँही बिद्युत सुचारु भएर। सीमित मात्रामा बरफ बेचेका थिए केही ठाउँले। दुई हप्ता अघि जिम्मालसँग काटेको खसिको मासु बचाउनु नै मेरो सबैभन्दा ठुलो चिन्ता थियो। दुई पोका बरफ दिएको थियो त्यो दिन, त्यसैले मोरेर बचाउन कोशीश गरें। पछील्ला दिनमा पनि त्यस्तै गरी बरफ थप्दै गरेको छु, हेरौं कत्तिको सफल भईएको छ। फ्रीजमा राखेको प्राय अरु सबै कुर त फाल्नै पर्‍यो।

अहिले क्रमश बिद्युत आपूर्ति सुचारु भए पनि हिंजो साँझसम्म करीब ३५% ग्राहकले मात्रै बिजुली पाएका थिए। आफू बाँकी ६५% मै छु। अर्को ३-४ हप्तासम्म लाग्न सक्छ भन्छन्, आशा गरौं त्यति समय त नलागोस्। तातो खान नपाएर कस्तो छट्पट्टी भैरहेको छ। बाहिर पनि कति पैसा खर्च गर्नु, घरकै खानेकुरा फाल्न परेको बेलामा। तातो त खान पाइएन पाइएन बियर समेत् चिसो पारी राख्न पाइएन भन्या। बाहिरको तापक्रम चाँही केही घटेकोले अलिकति राहत मिलेको छ। शनिबार र आईतवार त एकदमै गर्मी थियो।     

हिंजो साँझ बाहिरबाट फर्किने क्रममा आफ्नो बसाइ नजिकैको थ्री-वे स्टप साइनमा रोकिएँ। अघिल्तिरको घरमा बत्ती बलेको देखेर आफ्नोमा पनि आयो कि भन्ने आश जाग्यो। गाडी मोड्दा पो थाहा भयो त, आफ्नै हेडलाईटको रिफ्लेक्सन भएको रहेछ। आज बिहान निस्कुन्जेलसम्म पनि बत्ती आएको थिएन, इस्त्री नगरेकै कमीज लगाएर अड्डामा आएँ।                                                                                             
Read Full Discussion Thread for this article