Posted by: somewhereondearth September 17, 2008
बबिताहरु, महरु, सत्यहरु !
Login in to Rate this Post:     3       ?         Liked by

कालो ज्याकेट लगाएकि रहेछ । मैले तल पनि नजर दौडाएं । कटराईजको खैरो पाईन्ट रहेछ । म तिर नहेरि, माईक्रोबाट बाहिर हेरि रहेकि थिई । शायद म चढ्नु अगाडि उसले मलाई देखि सकेको हुनु पर्दछ । उ हाम्रो एक अर्काको आँखा जुधाईलाई छल्ने प्रयासमा थिई । उसले मलाई देखिसकेको कुरा मलाई थाहा छ भनेर पनि उलाई थाहा हुन पर्दछ । तर पनि उ मलाई छलि रहेकि थिई । यसले गर्दा मैले झनै उसलाई नियाल्ने मौका पाए ।

कपालमा हल्का मेहेन्दिको रंग थियो । कानमा पथ्थर भएको सानो टप । झ्याल खोलेर बसेकि थिइ । हावाले उसको कपाल हल्का उडाएको थियो । उ त्यो चिसो हावालाई सहेर बसेकि थिई । हाईनेक ले छाति ढाकेको थियो । काठमाण्डौ जाडो नै हुन्छ, बिहान बिहान।

 

बबिता भनेकि थिई उसले नाम । म अझै सम्झंछु । बिर्सन पनि कसरी सकिन्छ र! मलाई बिश्वास छ, उसको सक्कली नाम त्यो होईन । मैले त्यो नामले उसलाई बोलाउन सकिन । म उसलाई नियाली रहे, जाँचि रहे, जोखी रहे । अलिकति मोट्टाईछ । तर अझै उस्तै राम्री ।

 

उ गम्भिर नै थिई । उ भित्रको ब्यवहार छल्न बाहिर को संसार चिहाउँदै थिई । शायद यो हामी सबैको बानि हो । आफ्ना केहि पल हरु साह्रै गह्रौ भयो भने, हामी अर्को संसार चियाउँछौ । सिरेटो ले उसका कान राता भईसकेका थिए, नाक सुँक सुँक । माईक्रो ले बेला बेला उफारि रहन्थ्यो, उ झस्कि रहन्थी ।

 

उसले त जिति रहेकि थिई, छेवै कि दिदिले राम्ररि नै गालि गर्नु भयो । उ बिवश भई, झ्याल बन्द गर्नु नै पर्र्यो ।

 

ढिलो चाँडो को कुरा थियो । हाम्रो आँखा जु्ध्यो । उसले नजानिदो गरि आँखा बटार्न पनि सकिन । म चौडा हांसी दिए । उ मधुरो मुस्काई ।

सन्चै छौ?

हजुर, तपाई नि?

म पनि सन्चै छु ।

अरु के छ?

ठिक छ

तपाई को?

मेरो पनि ठिक छ ।

सकियो, अब के भन्ने? साह्रै अफ्ठ्यारो भयो । मैले हजार सोचे हुँला, तर अंह केहि कुरा उप्काउन नै सकिन । गाह्रौ हुँदो रहेछ । म नै झ्याल बाहिर हेर्न थाले ।

उसले मलाई अवलोकन गरि गरिन, दैवै जानोस । मैले नजर बाहिर डुलाए । बेला बेला भित्र हेर्दथे । आँखा जुध्दा उ पनि हाँसि दिन्थि, म पनि । दुवै बोलेनौ ।

 

यो कस्तो अप्ठ्यारो होला जीवनको जहाँ चाह हुन्छ हाल खबर जान्ने । तर खै के ले हो सदा छेकि रहन्छ । कहिले काहि लाग्दछ, हामी सबै आफूलाई  बरिपरिबाट एउटा पर्दाले छेकि दिन्छौ, जसले कहिले काँहि आफ्नो बाहिर को संसार चिहाउनबाट आफैलाई बन्चित गर्दछ । शायद यो जरुरी पनि छ, कति अवस्थामा । जे सुकै भए पनि, यो हाम्रो जीवनका पाटो हरु मध्धे एक हो जसलाई चाहेर नचाहेर स्वीकार गर्नै पर्छ ।

 

उ म संग रात बिताएकि केटि हो । अंह, यो भन्न गलत हुन्छ । म उसलाई जान्दछु । बरु, म उसको ‍शरिर लाई जान्दछु । मैले उसको शरिर भोगेको हो । उसलाई होईन ।

 

उ झर्ने बेला भएछ, झोलाबाट पर्स निकाल्न थाली । मैले पर्दैन म दिन्छु भने । उसले आफ्नो जिद कायम राखि ।

भाँडा पनि तिर्न नदिने, मलाई? मैले अन्तिम अनुरोध गरे ।

उ हारी दिई, यो बेला ।

मलाई सुख भयो ।

 

माईक्रो छोडेर  उ आफ्नो बाटो लागि । म उसलाई हेरि रहे । उ टुपु टुपु हिडिंरहेकि थिई । माईक्रो बिस्तारै गुड्यो । मलाई म बसेको माईक्रो  स्थिर रहेर, उ हिडि रहेको धर्तिनै म संग बाट पर हुदै दौडिएको जस्तो लाग्यो । धर्ति झनै दौडियो । उ बिस्तारै पर भई । देखिन छोडी । तर पनि म हेरि रहे, हेरि नै रहे ।

 

यो उसको र मेरो एउटा अकस्मात भएको भेट थियो । फेरि कहिले भेट हुन्छ म भन्न सक्दिन । अब कहिले पनि भेट नहुन पनि सक्छ । तर पनि उ मेरो संम्झानमा एउटा ठुलो चाक्लो ओगटेर बसेकि छे, सदाका लागि ।

 

मलाई मेरो माईक्रो यात्राको गन्तब्य संग मतलाब रहेन । अफिस भनेर हिडेको थिंए । अब, जानु नजानु को खासै महत्त्व थिएन । जीवनले कहिले कांही बितग बाट यस्ता क्षण हरु बोकेर ल्याईदिन्छ जसको अगाडि हाम्रा बर्तमानका महत्त्वपूर्णहरु गौण भईदिन्छन ।

 

म बिगतमा निकै डुबिसकेको थिए, माईक्रो रोकिदाँ । न मलाई अफिसमा बुझाउने रिपोर्टको टेन्सन रहन्छ न ताता राजनैतिक खबरको अध्याबधि ।

 

खै हामी कसरी भेटेका थियौ । साथीले फोनमा कुरा गराएको थियो, पि के कि साथी हो भनेर ।

दाम राम्रो चाहिन्छ । जथाभावी व्यवहार नगर्नु । गर्लफेण्ड जस्तो ट्रिट गर्नु । उ पनि खुशी तं पनि । यस्तै भनेको थियो साथीले ।

 

मलाई पनि उन्माद थियो । हामीले एक अर्का को आवश्यकता साटासाट गरेका थियौ । अहिले संझदा उसको र मेरो आवश्यकता जोख्ने कडि नै झुठा लाग्छ । हामी दुबैको आवश्यकता एउटै तराजु मा जोख्नै नमिल्ने थियो ।

 

किन यस्तो हुन्छ । आफैले रमाएर गरेका कति कर्महरु समयको बहाव संगै अर्को मोडमा पुग्दा खल्लो लाग्दछ । नमिठो लाग्दछ । मलाई यस्ता अनुभुतिलाई गल्ति भन्ने संज्ञा दिन मन लाग्दैन । समयको त्यो बिन्दुमा यदि मैले त्यसमा निहित खराबी छ भनेर अनुभुति गर्दिन भने म त्यसलाई गल्ति भनेर कसरी पन्छिन सक्छु र!!  तर पनि जव समयले अर्को मोडमा पुर्र्याई दिँदा बिगत ले कहिले काहिं झस्काई दिन्छ । शायद, अनुभव भनेको यसरी नै बढ्दै जाने हो । एउटा बिन्दुमा राम्रो लाग्ने घट्ना/अनुभव समयको मोड हरु सँगै परिवर्तन हुन सक्छ भनेर बिचार गर्न सक्ने । बिचार गरेर निर्णय गर्न सक्ने ।

 

उ मसंग छैन । उसको र मेरो बिगत को भेट अब कुनै हालतमा पनि बिगतबाट उठेर मेरो बर्तमान मा आउँदैन । यो सत्य हो । तर पनि म  बिगतमा नै छु । मेरा संम्झनाहरु ले बिगतलाई वर्तमानमा र वर्तमानलाई बिगतमा ल्याउन/लैजान सक्छन । यो संम्भव कुरा हो । म यसै मा छु ।

 

फोन भएको दोस्रो दिन मा नै हामी भेटेका थियौ । उ मुस्काई रहन्थी । हामी एउटा मीठो डेट मा थियौ । हाम्रो लवजमा निकै परिचित साथीसँगको नजिकता थियो । भन्न अफ्ठ्यारो कुराहरु पर्दा पछाडि नै राखेर हामी अगाडि बढिरहेका थियो । बिस्तारै सांझ पर्यो । हामीलाई  जानु थियो, संगै । हामी दुवैलाई रात बिताउनु थियो, एक अर्का संग । यसैका लागि उ मसंग थिई, म उ सँग । यो कुरा मलाई जति प्रष्ट थियो, उसलाई पनि उति नै ।

तर पनि हामी यो सत्यलाई निकै शिष्टाचारले छोपि रहेका थियौ । हामीलाई नाङ्गो सत्य लुकाउनु थियो, छोप्नु थियो । ………………

 

 

meaninglessthinking@somewherondearth

Read Full Discussion Thread for this article