Posted by: chipledhunga September 5, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

हाई टेक शौचालयको प्रयोग पछिको केही क्षणमै बिमान चढ्ने बेला भयो।  तीनै सुन्दर युवती मध्ये एकलाई ट्रान्जिट कार्ड बुझाएर बिमानमा प्रवेश गरें। सबै जसो सिट भरिएका थिए। एक जोडीले सँगै बस्ने सिट पनि पाएनछन्। बुढा चाहिंको सिट मेरो छेउमा, बुढीको चहिँ अलि पछाडि झ्याल पट्टि रहेछ। बुढाले सिट साट्न गरेको अनुरोध सहर्ष स्वीकार गर्दै सिट सरें। समुद्र अलि राम्रोसँग हेर्ने धोको पुग्न लागेकोले के खोज्छस् कानो आँखो भने जस्तो भईहाल्यो। पछिल्लो भागमा बिमान केही साँघुरिएकोले होला, ३ जनाको सट्टा दुई जना मात्रै बस्न मिल्ने सिट थियो।

दिउंसोको ५:१५ बजे प्रशान्त महासागर माथिको यात्रा प्रारम्भ भयो। लस अन्जेलसको समय टोकियोको भन्दा १६ घण्टा पछाडि रहेछ, उडान अवधि चाहिँ १० घण्टाको। समय अन्तरले गर्दा स्थानीय समय अनुसार प्रस्थान गरेको ६ घण्टा अघि नै आगमन हुने रहेछ। जमीन छोडेको निमेश भरमै समुद्र देखियो। केही बेरमै जमीन देखिन छोडियो र पानीको अथाह भन्डार देख्न थालियो। त्यही जल भन्डार बीच एउटा पानीजहाज देखियो, खोइ कतातिर लागेको हो कुन्नी। बिस्तारै अंध्यारो हुन थाल्यो, र परिचारिकाहरुले सबै यात्रुलाई झ्यालको सटर बन्द गर्न लगाए। छेउमा बस्ने मानिस एक अंधबैंसे अमेरिकी रहेछन्, फ्लोरिडाका। छ महिना थाइल्यान्ड बसेर बल्ल घर फर्किन पाइयो भन्दै थिए, आफूलाई भने चस्स बिझायो। प्रशान्त महासागर माथिको अँध्यारो आकाशमा प्रति घण्टा झन्डै ९०० किमिको गतिमा घरबाट टाढिंदै थिएँ एउटा अनिश्चित कालको लागि।

खाना खाने समय भयो। बुद्धि बिग्रेको थियो र सिंह बियर नखान? एक क्यान मजाले खाइदिएँ।  माछा र गाइमा माछै खाइयो। अनि जीवनमा पहिलो चोटि वाइन पनि चाखियो। मीठै लाग्यो तर थपेर खान डर लाग्यो लाग्ला कि भनेर। त्यतिबेलासम्म एक दुई चोटि ६५० मिलिको एक सिसी बियर भन्दा बढी मद्यपान गरेको थिइनँ कहिले।

बिमान एकोहोरो आवाजका साथ अघि बढिरहेको थियो। अलि अलि निदाउन खोज्थें, अनि बिउँझिएको बेलामा सटर अलिकति माथि तानेर हेर्यो, निस्पट्ट अन्धकार बाहेक केही देखिन्नथ्यो। तीर्खा पनि बेस्सरी लाग्दो रहेछ लामा उडानहरुमा त। परिचारिकाहरुले प्लास्टिकका कपमा पानी, जुस आदि ल्याइरहेका हुन्थे, नत्र त गार्हो नै हुने रहेछ।  "प्रेक्फास सर!" झल्यास्स बिउँझिएँ म। प्याजी र सुनौलो रङको पोशाक, गोरो अनुहार, चिम्सा आँखा अनि मध्यम लम्बाइको कालो कपाल भएकी परिचारिका मीठो मुस्कानका साथ मेरो सामुन्ने। लाग्यो कि म त्यो धातुको लामो नली भित्र बसिरहेको होइन कि कहिंबाट सूर्योदयको सुन्दर द्रीष्य हेरिरहेको छु। ब्रेकफास्टको लागि बिउँझाएकी रहिछन्। के खाएँ त बिर्सिएँ तर ती सुन्दरीको हातबाट लिएको खानेकुरा मीठो मानी खाएँ। त्यतिन्जेल बाहिर उज्यालो भईसकेको थियो। तल त बादल मात्रै देखिन्थ्यो माथि चाहिं स्वच्छ नीलो आकाश। अवतरण गर्नु अघि सुख्खा रातामाटे पहाडहरु देखिए र निर्धारित समय भन्दा २५ मिनट ढिलो गरी बिहानको ११:२० बजे बिमान गेटमा रोकियो। लामो उडानले थकित त थिए होलान् परिचारिकाहरु, तै पनि मीठो मुस्कानका साथ यात्रुहरुलाई बिदा गरे उनीहरुले।

जेटवेबाटै बिमानबाट निस्किएको भए तापनि बस चढेर मुख्य टर्मिनल भवनमा जानु पर्ने रहिछ। थोरै मात्रै सिट थिए बसमा। अधिकांश यात्रुहरुलाई उभिन पर्‍यो। बिभिन्न बिमानसेवाका जहाजहरु हेर्दै थिएँ, केही बेरमै ओर्लिने समय भयो। यसै पनि जम्मा २ घण्टाको समय थियो, त्यसमा पनि आउनलाई २५ मिनट ढिलो भईसकेको थियो। बसबाट ओर्लिंदा आन्तरिक उडानको लागि १ घण्टा १५ मिनट जती मात्रै समय बाँकी थियो। अध्यागमनको लाइन लामो थियो। कर्मचारीहरु पनि एसियाली बिमानस्थलहरुका जस्ता नम्र थिएनन्। औपचारिक रुपमा अमेरिका प्रवेश गरे पश्चात ५० मिनट जतिमा सामान बुझेर भन्सार क्लेअर गरेर आन्तरिक उडान भ्याउनु थियो। एउटा गाडा लिएर निर्धारित कन्भेयर बेल्टको अगाडि उभिएँ। ओभल आकारको छ्ड्के परेको बिशाल बेल्ट्मा माथिपट्टिबाट सामान झर्दो रहेछ। केही बेरमै आफ्नो सुटकेस झर्यो र गाडामा राखेर भन्सार क्लेअर गरेर आन्तरिक उडानको लागि थाइको एजेन्टलाई सामान बुझाएँ।

टम ब्राड्ली अन्तरराष्ट्रिय टर्मिनलबाट बस चढेर यू एस् एअर (हाल यू एस् एयरवेज)को टर्मिनलमा जानु पर्थ्यो। यसै त हतार, त्यस माथि अलमल्लिएँ पनि अलिकती। चेक इन गरेर सुरक्षा क्लेअर गरी आफ्नो गेटसम्म हस्याङफस्याङ गर्दै पुग्दा प्रस्थान समय भन्दा शायद ५ मिनट भन्दा बढी समय थिएन होला। जे होस्, उडान त छुटेन नत्र अरु के के समस्या आइपर्दो हो।

क्रमश:

 

                                
Read Full Discussion Thread for this article