Posted by: chipledhunga September 4, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

परिचारिकाहरुले अघिल्लो दिनमा जस्तै मीठो सावादीकाका साथ यात्रुहरुलाई स्वागत गर्दै थिए। इकोनोमी क्लासमा दाँया बाँया ३-३ र बीचमा ४ सिट थिए। सिट फेरि दाँया पट्टि परेको रहेछ। हरेक १०-१५ मिटरको दूरीमा यात्रुहरुलाई सिट देखाउन तथा सामान राख्न सहयोग गर्न परिचारक तथा परिचारिकाहरु तैनाथ थिए। मेरो सिट जहाजको झन्डै पुछारतिर थियो।

ग्लोबल एक्स्प्रेसमा अन्तरमहासागरीय यात्रा गरेको कुरा यो संस्मरणको पहिलो भागमा उल्लेख गरेको भए ता पनि वास्तविक जीवनमा मैले कहिले समुन्द्र देखेको थिइनँ। जनकपुर जाँदा धनुष सागर, गंगा सागर आदि के के "सागर"हरु त देखेको हो, तर त्यस्तालाई के सागर भन्नु? शायद यीनै कारणहरुले गर्दा होला, कस्कसलाई केको धन्दा घर ज्वाइंलाई खानको धन्दा भने झैं आफूलाई समुन्द्र हेर्न नपाईने चिन्ताले सताइरहेको थियो। आखिर भूपरिवेष्ठित राष्ट्रबाट भूपरिवेष्ठित राज्यमा जान लागेको थिएँ। आकाशबाट हेर्ने बाहेक समुन्द्रको दर्शन पाउने अरु कुनै निकट सम्भावना देखेको थिइनँ मैले। धन्न आफ्नो सिट छेउको ३ जना बस्ने पट्टि परेछ र यसो चिहाएर अलि अलि भए पनि हेर्न पाइएला कि जस्तो भयो। यस्तै सोच्दै बोइङ ७४७-४०० बिमानमा सिटको पेटी कसेर बसें।

निर्धारित समय अनुसार बिहानको ८ बजे TG ७७० ले टोकियो हुँदै लस आन्जेलसको यात्रा प्रारम्भ गर्‍यो। अलिअलि पानी परिरहेको थियो प्रस्थान समयमा। बिमानमा खाली सिटहरु प्रशस्तै थिए। म पट्टिको झ्यालमा एक अधबैंसे मलेशियाली महिला थिइन्। अमेरिकामै बस्ने (खोइ कुन ठाउँ भनेको हो बिर्सिएँ) छोरा भेट्न जान लागेकी रे। बीचको सिट खाली थियो। टेक अफ लगत्तै झ्यालबाट अलिअलि धानका खेत देखिंदै थिए, बादल माथि पुगिहालियो। टोकियोसम्मको उडान ५ घण्टा ५५ मिनटको रहेछ, अनि त्यहाँको समय बैंककको भन्दा दुई घण्टा अघि रहेछ। केही बेर पछि पेय पदार्थको सेवा शुरु भयो। किस्तिमा रहेका स-साना प्लास्टिक कपमा पानी, ओरेन्ज जुस, लगायत रातो रङको पेय पदार्थ पनि थियो। त्यो के भनेर सोधेको, गोल्भेडाको जुस रहिछ। मैले त्यही नै रोजें, मीठै लाग्यो। केही यात्रुहरुले चाँही मद्यपान नै शुरु गरेका थिए बिहानी साइत हेरी। लामो उडान, समय कटाउन त गार्है हुँदो रहिछ। एकै छिन् तीनै महिलासँग कुरा गरें, केही समय सावादी र संगीतमा बिताएँ। अल्छी लाग्यो एक छिन् त्यही पढे र सुनेपछी। यसो सुत्न सकिन्छ कि भनेर सिट ढल्काएँ। छेउको बटन हलुकासँग थिच्नासाथ ढाल्किंदो रहिछ। बसको "फोल्डिङ" सिटको त कडा न कडा हुन्थे, त्यो सिट मुनिका ठूला नबहरु। ढल्केको सिट ठाडो पार्नै गार्हो, अनि ठाडो भए ढल्काउनै गार्हो। हुन त के तुलना गराइ भो र। कहाँ थाइको बोइङ ७४७-४०० बिमान, कहाँ सिन्डिकेटका थोत्रा टाटा 1210 E मोडेलका बस। त्यसै बीच कप्तान साबले साउथ चाइना सी माथि उडिरहेको सूचना दिए, तर बादल माथि उड्दा, त्यो पनि छेउको सिटमा बसेर के देख्नु। एकोहोरो घुइघुइ आवाज बीच कुन बेला निदाइछु।

बिउँझिंदा उडेको त्यस्तै ३ घण्टा भएको थियो कि। एकैछिनमा खाना खाने समय भएछ। पिउनलाई त सिंह बियर नै रोजें मैले, अघिल्लो दिन खाएर पल्किएकोले। खाना चाँही जापानी खालको चाउचाउ रोजें। खाना पछि एक परिचारक जापानी चिया अफर गर्दै हिंड्दै थिए। कक्षा ७ को सामाजिक शिक्षामा जापानको बारे पढ्दा चिया खाने पर्व (tea ceremony) हुन्छ भनेर पढेको सम्झिएँ। त्यही सम्झिएर पनि जापानी चिया भनेपछि चाखिहालूँ जस्तो लाग्यो। एउटा नौलो अनि मीठो स्वाद थियो त्यसमा। पछि निदाइछु एकैछिन फेरी। उडेको त्यस्तै ५ घण्टा भएको थियो कि बिउँझिँदा। एकोहोरो आवाजका साथ बिमान उडिरहेको थियो। केही समयपछि कप्तानले टोकियो बिमानस्थल ब्यस्त हुनको कारण अवतरणमा २० मिनट ढिलो हुने र त्यतिन्जेल चक्कर लगाइरहने सूचना दिए। बिमानले बिस्तारै ऊचाइ छोड्यो र त्यसैबेला झ्यालबाट चिहाउँदै समुद्र हेर्न पाइयो। घमाइलो दिन थियो, अनि नीलो समुद्र, किनारको सेतो बालुवा, त्यसपछिको हरियाली हेर्दै थिएँ नारिता बिमानस्थलमा अवतरण गरियो। जे होस् जीवनमा पहिलो चोटि समुन्द्र देखेर प्रफुल्ल भईयो।  बिमान रोकिंदा निर्धारित समयभन्दा २० मिनट ढिलो नै भयो। एक घण्टा रोकिएर प्रस्थान गर्ने रहेछ।  त्यन्तिन्जेल बिमानबाट बाहिर निस्किनु पर्ने रहेछ र ट्रान्जिट कार्ड लिनुपर्ने रहेछ।

कोन्तिनुइङ तु रस एन्जरस, कोन्तिनुइङ तु रस एन्जरस भन्दै दुई सुन्दर जापानी युवतीहरुले हरेक यात्रुलाई सोध्थे। उनीहरुलाई देख्दा लाग्थ्यो कि टर्मिनल भवन भित्र बत्ती बाल्नु आवश्यक नै थिएन। भित्री मनले होइन यहीं बस्छु भने पनि ब्यवहारमा त्यो सम्भव थिएन। बोर्डिङ पास देखाएर ट्रान्जिट कार्ड लिएर यताउति डुल्न थालें। शौचालय जानु पर्ने भयो। काम त सकाइयो तर फ्लश गर्नलाई तान्ने, घुमाउने, थिच्ने केही देखिनँ। छेउछाउबाट अरुले फ्लश गरेको आवाज पनि सुनिन्थ्यो। "थुक्क नेपाली, एक घण्टा जापान बस्न पा छैन, देशको बेइज्जत गरेर मरिस् हैन" भनेर आँफैलाई मनमनै सराप्दै अनि लज्जित हुँदै शौचालयबाट हटेको मात्रै के थिएँ, आँफै फ्लश भयो। त्यो बेला मलाई के थाहा, स्वचालित रुपमा फ्लश हुने शौचालय हुन्छन् भनेर। सोचें, यी जापानीहरुले कस्ता कस्ता प्रविधिहरुको बिकास गर्न सकेका होलान्। जलस्रोतको धनी मानिने नेपालमा पानीको पर्याप्त आपूर्ति भै यस्तै सार्वजनिक शौचालय बनाए त कति सफा हुँदाहुन्।

क्रमश:          
Read Full Discussion Thread for this article