Posted by: chipledhunga August 29, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

ट्रान्जिट कक्ष पनि भब्य नै हुँदो रहिछ। थुप्रै ड्युटी फ्री देखि लिएर हजाम पसल देखि भट्टी पसलहरु सम्म टन्नै रहेछन्। बस्ने ठाउँ पनि टन्नै थियो। कोही एक्लै बसिरहेका थिए, कोही गफ गर्दै अनी कोही त भुइंमै पनि सुतिरहेका थिए। स्थानीय समय अनुसार घडी मिलाएँ। नेपाली समय भन्दा एक घण्टा १५ मिनट अघि रहेछ।  एकछिन यताउती डुलें। सामानहरु जे पनि अलि महँगै लाग्यो नेपाली रुपैँयामा बदल्दा त। हुन त कत्ती त तुलनात्मक रुपमा मूल्य थाहा भए जस्तो। बिस्तारै सोही उडानबाट आएका अरु नेपालीहरुसँग घुलमिल हुन पुगें। धेरै त अमेरिका जाने नै थिए। संयोगबस त्यतिबेलाको एउटा प्रख्यात पप ब्यान्डका गायक (जसलाई यदा कदा साझामा पनि देखिन्छ) अनि ओ लेभल गर्दाका एक सहपाठी (ऊनी र अर्को एक जनाले P खाएर झ्याप भएर एउटा मिटरवाला टेम्पो भक्तपुर पुर्याएका थिए रे, कोटेश्वरदेखि आँफै चलाएका रे। त्यतिबेला त्यो कुराले निकै नै चर्चा पाएको थियो) भेट्टिए। ती दुई र अर्को एक गरी पहिलो चोटि अमेरिका जान लागेका हामी चार जनाको सानोतिनो ग्रुपै बन्यो भनूँ न। धेरै समय उनिहरुसँगै गफ गरेर बित्यो। गफको क्रममा नेपाल र बिशेष गरी काठमाडौंका बिभिन्न ठाउँहरुको नाम लिंदा ती गायकले एक्कासी भने, "अब त ती ठाउँहरु पनि कति टाढा जस्तो।"

तीनै जना चुरोट खाने रहेछन्, नखाने म मात्र। हरेक ४५ मिनट वा एक घण्टाको अन्तरमा उनीहरु चुरोट खान पाउने ठाउँमा जान्थे। त्यति बेला म चाँही यताउति डुल्ने वा अरुसँग कुरा गर्ने गर्थें। एकैछिनमा ती तीन जनासँगै भईन्थ्यो फेरी। भेट भएकामा छुट्टीमा नेपाल आएर फर्किन लागेका केही विद्यार्थीहरु थिए। मिलनसार नै थिए उनिहरु। ती मध्ये एक जनाबाट म जान लागेको कलेजमा एक जना नेपाली रहेछ भन्ने थाहा भयो। नत्र त त्यहाँ कुनै नेपालीको मुखसम्म पनि देखिने हो कि होइन, नेपाली बोल्न पाइने हो कि होइन जस्तो लागिरहन्थ्यो।  अलि लामो समय अमेरिका बसेकाहरु चाँही खोइ कस्तो कस्तो लाग्यो, त्यति घुलमिल हुन नसकिने खालका।

त्यत्तिकैमा रातको ११ जति बज्यो। ट्रान्जिट कक्षभित्रैको लुइस टाभर्न होटेलमा ६ घण्टाको लागि कोठा बुक गरेको थिएँ नेपालबाटै। चार जना मध्ये दुइजनाको नर्थवेस्टको उडान थियो, बिहान ६:३० बजेतिर छुट्ने। मेरो र ती गायकको चाँही ८ बजेको थाइकै उडान थियो। ती दुइलाई अल दि बेस्ट भनी रिसेप्सनतिर लागें। बिहान ४:३० बजे उठाइदिन रिसेप्सनकी महिलालाई अनुरोध गरी कोठातिर लागें।

अघिसम्म पो अरुहरुसँगको घुलमिलले घर छोड्नुको पींडा केही हदसम्म बिर्साएको थियो त। एक्लै परेपछि फेरि बल्झिन थाल्यो। ओछ्यानमा ढल्यो, के निद्रा लागोस्। टि.भी खोलें, च्यानल बदल्दै गएँ। कुनै पनि च्यानलमा एक मिनट भन्दा बढी राखिनँ होला। केही हेर्न पनि मन लागेन। १०-१५ मिनट पछि बन्दै गरिदिएँ। सुत्न खोजें, सकिनँ। बत्ती बालेर ढाडेपोका खोलें। बिहान एउटा खाममा त्यस्तै २०-२५ वटा फोटोहरु हालेको थिएँ। अघिल्लो बर्षको दसैंमा टीका लगाउँदाको, ब्रतबन्ध गरेको बेलामा जोगीको भेष लगाएको, कलेजबाट नगरकोट पिकनिक जाँदा सामुहिक रुपमा लसून छोडाएको, घरको फोटो, दाङ जाँदा जाल भरी माछा समातेको (कत्ति न आँफैले मारेको जस्तो), यत्तिकै सपरिवार खिचेको, हिले धनकुटाबाट सूर्योदयको द्रीष्य लगायतका बिबिध फोटोहरु हेरें। कुनै फोटोमा केही बेर टोलाउँथे, कुनै चहिँ झुलुक्क मात्रै हेर्थें। सबै फोटो हेरिसकेर झोलामा राखें। त्यति बेला मध्यरात कटिसकेको थियो। ४ घण्टा जति भए पनि सुत्ने प्रयास गर्नु पर्‍यो भनेर बत्ती निभाएँ। मनमा अनेकौं कुराहरु खेलिरहेका थिए, एक्कासी बिहान ४:३० बजे फोनको घन्टीले बिउँझिएँ।

होटेलबाट निस्किएपछि थाइको ट्रान्स्फर डेस्कमा गएँ। झ्यालको सिट मागेको, आयलको मात्रै छ भन्यो। समुन्द्र हेर्न नपाईने नैराश्यका साथ बोर्डिङ पास लिएर फेरि यताउती केही बेर डुलेर निर्धारित गेटतिर लागें। सुरक्षा फेरि क्लेअर गर्नु पर्ने रहेछ। जहाज ७४७ नै रहेछ, चढ्ने इच्छा पूरा हुने भयो भने जस्तो लाग्यो। प्रतीक्षालयमा अरु नेपाली भेट्टिए अनि देखिए। ती मध्ये तीन जना ब्रीद्ध पनि थिए।  तीनै जनाले ट्याग भिरेका थिए "तीन जनाको समूह, डेन्भर, अङ्रेजी बोल्न नजान्ने" भनेर अङ्रेजीमा लेखिएको। गार्हो नै हुँदो हो उनीहरुलाई यात्रा गर्न।

सिट नम्बरको रेन्ज अनुसार जहाज चढ्ने पालो आँउदो रहेछ। हुन पनि जहाजको सबै सिट भरिएको भए त ४०० जति यात्रु एकै साथ छिर्न खोज्दा भद्रगोल नै हुन्थ्यो।  पालो आएपछि त्यो बिशाल ७४७ भित्र पसें म पनि, बोर्डिङ पासको ठुलो भाग गेट एजेन्टलाई सुम्पिएर।

क्रमश:    


 
Read Full Discussion Thread for this article