Posted by: chipledhunga August 22, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

म नौलो यात्रा थाल्दैछु अन्जान दिशा लिएर
अनन्तसम्मको तारालाई सुनौलो लक्ष बनाएर
(खोइ कुन्नी कस्को पर्‍यो यो गीत)

अनि रबीन शर्माको:
एक्लै लामो यात्रामा हिंडेको छु आज
कस्तो कथा बन्ने हो कस्तो ब्यथा बन्ने हो (खोइ आएन राम्रोसँग)

कौसिमा उभिउन्जेलको समयमा यी गीतहरु मेरो कानमा गुन्जिरहेका थिए, अर्थात् नयाँ ठाउँमा जाने, नयाँ जीवन शुरु गर्ने, अनि ठुलो हवाइजहाज चढ्ने, गीत सुन्दै सुन्दर परिचारिकाहरुले पस्केको खाने, झ्यालबाट समुद्र हेर्ने जस्ता कुराहरुको उत्साहले नै अरु कुराहरुलाई जितेको थियो। फोटोहरु खिच्ने बेलामा पनि हँसिलो अनुहार थियो। बिमान प्रस्थान गर्ने निर्धारित समय भन्दा करीब एक घण्टा बाँकी थियो। त्यसैले सबैजना दोस्रो तलामा ओर्लियौं र अध्यागमनको ढोका बाहिर जम्मा भयौं। तल ओर्लिंदा बुवाले फेरि सम्झाउनु भयो, मनिटरहरुमा हेरेर आफ्नो अरु उडान हुने गेट पत्ता लगाउनु, अनि उडानको समय नजिक गेटबाट टाढा नजानु, सामानको होश पुर्‍याउनु, पुगेर सकेसम्म फोन नसके फ्याक्स पठाउनु भनेर। अनि तल पुगेपछी, "हामी माथिबाट हेरिरहेका हुन्छौं, सीधै हिंड्ने हैन, फर्केर हेदै गर।" त्यति बेलासम्म बुवाको अनुहार धेरै गम्भिर भईसकेको थियो भने आमाको अनुहार रुन मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो। तर ती कुराले मलाई खासै असर परेको थिएन।

शायद ५ मिनट जति बसियो होला त्यहाँ। अनि बुवाले घडी हेर्दै भन्नुभयो, "ल अब भित्र जाउ तिमी।" त्यतिबेला पो घर छोड्नुको पींडा एक्कासी बढेको जस्तो भयो। अघिसम्म हँसिलो अनुहार थियो, एक्कासी गम्भिर हुन पुगें। पुर्याउन आउने अरुका अनुहारमा पनि पहिले भन्दा बढी गाम्भीर्य देखियो। जजस्लाई नमस्कार गर्नु पर्ने, ढोग्नु पर्ने वा हात मिलाउनुपर्ने हो, त्यति गरेर बुवालाई भनें, "ल बुवा अब तल ढोकामा भेटौंला" (आगमन कक्षको ढोकालाई लक्षित गरेर)। बुवाको अनुहारबाट गम्भिर हाँसो जस्तो निस्कियो, आमाको आँखाबाट चाँहीं आँशु। हँसाउन खोज्ने मान्छेकै बोली अर्धरुन्चे जस्तो भए पछि सुन्ने मान्छे पनि के हाँसून्। ढोकाबाट भित्र पसेर अध्यागमनको लाइनमा बसें। पालो कुरुन्जेल बेला बेलामा पछाडि फर्केर हेर्थें। बुवा आमालाई देख्दा जति मन दु:खे पनि एकैछिनमा फेरि पछाडि फर्किन पुग्थें र मन अझै दुख्थ्यो। राहदानीमा  प्रस्थानको छाप लागेपछि औपचारिक रुपमा नेपालबाट बाहिरिएँ।

केही समयमै बिमान तर्फ प्रस्थान गर्ने सूचना आयो। ढाडेपोका (backpack) एक्स्-रेबाट पठाउँदा प्रहरीले सोध्यो, "त्यो सानो सानो थुप्रै देखिन्छ नि के हो त्यो?" क्यासेटहरु हो भनें। बुवाको बर्षको दुई तीन चोटि जस्तो बिदेश जान पर्थ्यो कार्यालयको कामले। एक दुई चोटि त्यस्तै बेलामा प्रस्थान कक्षमा छिर्ने मौका पाएको थिएँ। एक्स्-रे मेशिनमा "films not safe" लेखेको देखेको थिएँ। भरखर ISc गरेको बुद्धी न हो, एक्स्-रेले क्यासेट पनि demagnetize गर्ला भन्ने डरले ढाडेपोकामा नै हालें। करीब ३०-३५ वटा अधिकांश नेपाली र केही अंग्रेजी गीतका चक्काहरु थिए। उसले नहेरी छोडिदियो। त्यसपछी बिमानतर्फ प्रस्थान गरियो।

क्रमश:                                                 

     
Read Full Discussion Thread for this article