बेश्याको डायरी
(भाग ३)
प्यारी दिदी
तिमी यहाँबाट गएकी पनि ३ बर्ष भयो। कस्ती भेयौ होला? म पनि ठुली भये अब त। घरधन्दा सबै म नै भ्याउँछु। बा आमालाई बेशीमा खेत किनेदेखी भ्याइ नभ्याइ छ। दिदी अब त हाम्रो घरमा पनि टीनको छानो छ। तिमो परिश्रमले हामीलाई अब दुई छाक चामलको भात खान दु:ख छैन। साँहिली र काँहिलीलाई पनि बाले स्कूल भर्ना गरिदीएका छन। हामी सार्है खुशी छौं दिदी। तिमी पनि त त्यता सर्हैं रमाएकी छौ जस्तो छ। त्यसैले त फर्किएर एक चोटि पनि आएकी छैनौ। तिमीलाई हाम्रो याद आउँदैन?
तिम्री साथी सिताको पनि बिहे भयो अस्ती। तिमी यहाँ भएकी भए बाले तिम्रो पनि बिहे गरिदिन्थे होला। कस्ती राम्री देखिन्थौ होला तिमी सिन्दूर, पोते लगाउँदा। घरमा मेरो बिहेको कुरो गर्छन् तर मलाई तिम्रो बिहे हेर्ने असाध्यै रहर छ। हामीले नदेख्ने गरी उतै बिहे नगर है।
अर्जुनले सधैं सोध्छ " तिम्री दिदिले कही खबर गरिन" भनेर। तर सधैं "छैन" भन्नु पर्छ। निराश भये झैं लाग्छ उ। मैले भनेको लाग्ने भए तिम्रो बिहे अर्जुन सँग गरिदिन्थें। तिमीलाई अर्जुन मन पर्छ?
आमाले तिमीलाई सधैं सम्झिन्छीन। घरमा तिम्रो कुरा चल्यो भने बा केही बोलदैनन किन को कुन्नी। तिम्रो खसी पनि बाले पोहोरको दसैंमा खड्कादाइलाई बेचिदीए। मैले दिदी आएर रिसाउँछीन भनेर कत्ती अड्डी गरें तर बा मानेनन। मैले दुइवटा पाठाहरु पालेकी छु। तिमी आएपछी एउटा तिमीलाई दिन्छु भनेर।
घास दाउरा जाँदा, मेला पात जाँदा तिम्रो याद सार्है आउँछ दिदी। यसपाली दसैंमा त आउ है। अब त धादिङ बेशीबाट गाउँसम्म बस पनि चल्न थालेको छ। हिंड्नु पनि पर्दैन। आउ है दिदी।
उही तिमीलाई सधैं सम्झीरहने बहिनी
यसोधा
***************************************************************************************************************
मैले त्यो चिट्ठी पटक पटक पढें। ठुली भएँ भन्छे यसोधी तर मैले चिट्ठी भरी उस्को अबोधपन भन्दा पर केही पाइन। उस्लाई संसार कती कुरुप छ भन्ने कुराको सुइँको समेत छैन। स-साना कुराहरुमा कत्ती खुसी छे उ। तर मैले भने बेशीको खेत, टीनको छानो अनी चामलको भातमा कुन खुशी लुकेको हुन्छ भन्ने पत्तै लगाउन सकिन। मान्छे मरेपछी अन्धो हुँदो रहेछ जस्तो लाग्यो।
तँलाई के थाहा म यहाँ कती रमाएकी छु भनेर। म यती रमाएकी छु कि म कोहो भन्ने नै बिर्सिसके। अँह मलाई तिमीहरुको याद आउँदैन। आफ्नै याद आउँदैन भने तिमीहरुको के आवोस?
बहिनी तँलाई के थाहा बाले यहाँ ल्याएर मेरो बिहे हजारौं मान्छेहरुसँग गरिदीएको कुरा। ती मान्छेहरुसँग सिन्दूर, पोते हुँदैन त्यसैले कागजका नोट थमाएर जान्छन। तँलाई के थाहा मेरो सिन्दूर, पोते किन्ने पैसाले टीनको छानो हालेको, बेशीको खेत किनेको कुरा। के थाहा तँलाई। मेरो बिहे हेर्ने हिम्मत नै गरिस भने पनि तँलाई भ्याइ नभ्याइ हुनेछ। उस्तै मौका परे म दिनमा ३,४ चोटि सम्म बिहे गर्छु।
आमाले सम्झीरहन्छीन रे मलाई। अहिले सम्झीनु नै थियो भने किन तिमीले मलाई बासँग पठायौ त आमा? म पिडाले छट्पट्टीदा कती चोटि "आमा आमा" भनेर कराएँ। खै त तिमीले एक चोटि पनि सुनिनौ।
बाले मेरो खसी बेचेर के भयो र यसोधी? त्यो खसी बेच्नु भन्दा अगाडि उन्ले मेरो नारित्व बेचिदीए का थिए। बहिनी के तैले २ वटा नारित्व पालेकी छस? म केहीगरी यो दसैंमा आइ हालें भनें के तँ मलाई एउटा नारित्व दिन सक्छेस?
***********************************************************************************************************
क्रमश: