Posted by: Sarkozy August 8, 2008
डा. देवकोटाले घर छाडे
Login in to Rate this Post:     0       ?        

अपहरित छोरी मेघालाई सवा करोड फिरौती तिरेर छुटाएको सार्वजनिक भएलगत्तै वरिष्ठ स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाको परिवार घर छोडेर हिँडेको छ । उनीहरूको अवस्थाबारे प्रहरीलाई कुनै जानकारी छैन ।
डा. देवकोटाको बाँसबारीको हेपाली हाइटस्थित निवास अहिले सुनसान छ । उनी बिहीबार अस्पताल पनि गएनन् । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी अधिकारीहरू घटनाको बारेमा जानकारी लिन हेपाली हाइट पुगेका थिए । एक प्रहरी अधिकारीले भने, 'घरमा गएका थियौं, कोही रहेनछन् । घर पूरै सुनसान थियो ।'


अपहरित छोरी मेघालाई सवा करोड फिरौती तिरेर छुटाएको सार्वजनिक भएलगत्तै वरिष्ठ स्नायु
चिकित्सक डा. उपेन्द्र देवकोटाको परिवारले घर छोडेको छ

शनिबार निवासपरिसरबाट उनकी जेठी छोरी मेघा अपहरणमा परेकी थिइन् । डा. देवकोटाले उनलाई एक करोड तीस लाख रुपैयाँ फिरौती तिरेर मंगलबार एक बजे मुक्त गरेका थिए ।
प्रहरीका अनुसार घटनाको बारेमा आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीले सम्पर्क गर्ने प्रयास गर्दासमेत देवकोटा परिवारका कोही पनि सम्पर्कमा आएनन् । एक प्रहरी अधिकारीले
भने, 'अनुसन्धानका लागि गएका हौं, तर, घरमा कोही छैनन्, कहाँ गएका हुन् त्यो पनि थाहा हुन सकेको छैन ।'
अपहरणमुक्त भएलगत्तै अनुसन्धानका लागि केन्द्रीय प्रहरी अपराध महाशाखाका प्रमुख केशव बराललगायतका प्रहरी अधिकारी बुधबार डा. देवकोटाको घरमा गएर सोधपुछ गरेका थिए । विश्वस्त प्रहरी स्रोतका अनुसार डा. देवकोटाले आफ्नी छोरी मेघा अपरहणमा परेको बारेमा औपचारिक रूपमा प्रहरीका कुनै पनि निकायमा बिहीबारसम्म उजुरीसमेत हालेका छैनन् । प्रहरी स्रोतका अनुसार अपहरणकारी चढेको गाडी चक्रपथस्थित इसान हस्पिटलको परिसरमा प्रहरीले फेलापरेको छ ।

संविधानसभामा आलोचना
संविधानसभाको बिहीबारको बैठकमा सभासद्हरूले डा. देवकोटाकी छोरी अपहरण भएको विषयमा सरकारसित जानकारी माग गरेका छन् । उनीहरूले शान्तिसुरक्षाको स्थिति खस्कँदै गएको भन्दै सरकारको चर्को आलोचनासमेत गरे ।
संसद् बैठकमा बोल्दै सभासद्हरूले राजधानीमा दिनदहाडै भइरहेका यस्ता घटनाले सुरक्षा संयन्त्र र सरकारप्रतिको सर्वसाधारणको विश्वास घट्दै गएको आरोप लगाए ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. देवकोटाकी छोरी अपहरण गरी फिरौती असुल गरिएको घटनाप्रति भत्र्सना गरेको छ । संघका महासचिव डा. केदारनरसिंह केसीले बिहीबार विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा अपहरण, धम्की, गुन्डागर्दी र चन्दा असुलीका घटना बढ्दै गएको र चिकित्सकहरू दिन प्रतिदिन असुरक्षित बन्दै गएको जनाइएको छ । संघले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति गराउन तथा डा. देवकोटाको परिवारलाई उचित सुरक्षा प्रदान गर्न माग गरेको छ ।

Read Full Discussion Thread for this article