Posted by: highvoltage August 1, 2008
लुट लुट देशलाई लुट सबै मिलेर बलत्कार गर
Login in to Rate this Post:     0       ?        
कभरस्टोरी

गृहले बाँड्यो ११ करोड
अन्य समाचार
पुरानो अंक

खगेन्द्र पन्त/नयाँ पत्रिका
काठमाडौं, १६ साउन

2008-08-01,Friday


गृहको अनुदान लिनेमा राजाका मामादेखि शान्तिमन्त्री रामचन्द्र पौडेलकी पत्नीसम्म
गृह मन्त्रालयले वरिष्ठ मन्त्रीकी श्रीमतीदेखि सामाजिक सेवा तथा अनुदानका नाममा एक वर्षमा करिब ११ करोड रुपैयाँ बाँडेको छ । अनुदान लिनेमा शान्तिमन्त्री (अहिले कार्यवाहक प्रधानमन्त्री) रामचन्द्र पौडेलकी श्रीमतीदेखि पूर्वराजा ज्ञानेन्द्रका मामा सुशीलशमशेर राणाको कम्पनीसम्म छन् ।

मन्त्रिपरिषद्बाट निर्णय नै गराएर गृहले पैसा बाँडेको छ । कांग्रेस उपसभापति तथा शान्तिमन्त्री पौडेलकी पत्नी सविता पौडेल र पूर्वसांसद लोकराज जोशीकी श्रीमती शान्ति जोशीलाई गृहले दुई/दुई लाख दिएको छ । कति गरिब नेपाली वीर अस्पतालमा समेत औषधोपचार नपाएर छटपटाइरहेका छन्, तर मन्त्री पौडेलकी पत्नी सवितालाई भारतको अल इन्डिया अस्पतालमा आँखाको उपचार गर्न भनेर सरकारले दुई लाख रकम दिएको छ । अझ जोशीलाई त रकम किन दिइएको हो भन्नेसमेत खुलाइएको छैन ।

विराटनगरस्थित गणपति कटन मिल्सका मजदुरहरूको तलबभत्ता भनेर गृह मन्त्रालयले ३१ लाख रुपैयाँ दिएको छ । यो उद्योग पूर्वराजा ज्ञानेन्द्रका मामा सुशीलशमशेर राणा र कोलकाता बाजुरिया समूहले संयुक्त रूपमा चलाएका थिए । राणा निर्देशक रहेको सो उद्योग घाटामा गएकोले बन्द भएको सात वर्षभन्दा बढी भइसक्यो । तर, कम्पनीका तर्फबाट मन्त्रिपरिषद्ले गत ५ जेठमा निर्णय नै गरेर कर्मचारीलाई तबल भत्ता दिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत यो रकम निकासा भइसकेको छ ।

वर्तमान सरकारका विज्ञान तथा प्रविधिमन्त्री फरमुल्लाह मन्सुरको 'सञ्जीवनी बाटिका' नामक संस्थालाई पनि गृहले पाँच लाख अनुदान दिएको छ । स्रोतका अनुसार मन्त्री मन्सुरकै विशेष पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराएर यो रकम दिइएको हो । विभागीय मन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापाका व्यक्तिदेखि गैरसरकारी संस्थासम्मलाई १० हजारदेखि पाँच लाखसम्म रकम बाँडिएको पनि गृह मन्त्रालयको तथ्यांकमा छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला मोरङको प्रेस युनियन शाखालाई पाँच लाख दिइएको छ । कांग्रेस नेत्री तथा प्रधानमन्त्रीकी भाउजू नोनाको स्मृतिमा पुरस्कार स्थापना गर्ने भनेर सो रकम दिइएको हो ।
त्यस्तै, बहालवाला माओवादी सभासद् सत्या पहाडी र सद्भावना पार्टीका सभासद् महेशप्रसाद यादवले पनि गृह मन्त्रालयबाट दुई/दुई लाख लगेका छन् । पहाडीलाई पत्थरीको उपचारका लागि भनिएको छ भने यादवलाई दिइएको रकमको कारण खुलाइएको छैन ।

कांग्रेस नेत्री शैलजा आचार्यको उपचारका लागि गृहले करिब ११ लाख दिएको छ । गृह मन्त्रालयको लेखा शाखाका अनुसार शैलजाको उपचार खर्चमध्ये ६ लाख ५१ हजार अस्पतालमा तिरिएको छ भने चार लाख नगद दिइएको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्षमा जम्मा ३३ करोड ३९ लाख ४२ हजार खर्च गरेको छ । जसमध्ये सामाजिक सेवा अनुदान शीर्षकमा मात्रै ११ करोड ४२ लाख ५४ हजार दुई सय ४६ रुपैयाँ खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार सामाजिक सेवा अनुदान शीर्षकबाटै मधेस आन्दोलनमा मारिएका ३५ जनाका परिवारलाई १०/१० लाखका दरले क्षतिपूर्ति दिइएको छ । त्यस्तै, संविधानसभा चुनावमा मारिएका तीन उम्मेदवार तथा चुनावका क्रममा मारिएका प्रहरीका परिवारलाई पनि यही शीर्षकबाट १० लाखका दरले राहत दिइएको छ ।
त्यस्तै, औषधि-उपचार शीर्षकमा छुट्टै ६३ लाख ५६ हजार पाँच सय ४३ रुपैयाँ खर्च गरिएको छ । यो रकम तराई आन्दोलन र संविधानसभा चुनावका क्रममा घाइते भएकाहरूको उपचारमा खर्च गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कर्मचारीहरूको कार्यक्रम भ्रमणमा ३३ लाख ५३ हजार तीन सय ९६ रुपैयाँ खर्च गरिएको छ ।

Read Full Discussion Thread for this article