Posted by: chipledhunga July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

जिम्मालबासँगको भेटघाट
चौतारीमा जतिसुकै ग्रामीण परीवेशलाई समेटेर कुरा गरिए पनि चौतारीका गाम्लेहरु बीचको वास्तविक अन्तरकृया भने शहरी परीवेशमै हुने तथ्य सर्वबिदितै छ। नयाँ खर्क र बाल्टिनमोडमा ठुलै जमघट भएका थिए। अस्ती शनिबार भने ह्युस्टन (चौतारी सुहाँउदो नाम जुराउन सकिएन है, कसैले प्रयास गर्ने हो कि?) शहरमा जिम्मालबासँग भेट भयो। साझाका पुराना केही हस्तिहरुलाई बिगतमा मैले भेटेको भए ता पनि चौतारीबाट परिचित कसैलाई मैले भेटेको यो पहिलो पटक थियो।

शायद एक महिनै भएको थियो कि, हामीले भेट्ने भेट्ने भन्न थालेको। शुक्रबार दिउँसो साहूको ईन्टरनेट सुबिधाको सदुपयोग गर्दै भोलिपल्ट भेट्ने tentative योजना बन्यो। शनिबार बिहान जिम्मालबाको मिस्ड कल फर्काएपछि भेट हुने निश्चित नै जस्तो भयो। ब्यक्तिगत कामको शिलशिलामा म डेराबाट निस्किएँ। दिउँसो त्यस्तै १:३० बजेतिर स्वर्गीय नातिकाजीको गीत "पहाड बसी बनमा खेली हुर्ककी अकेली" भन्ने गीत क्यासेटमा बजिरहेको थियो, म भने गाडी रोक्ने तरखरमा थिएँ। फोनको घण्टी बज्न थाल्यो, जिम्मालकै होला जस्तो लागेको थियो, हो रहिछ। नजिकैको वालग्रीन्समा भेट्ने निर्णय भयो र करिब ५ मिनेट भित्रै म त्यहाँ पुगें। बाहिर एकदमै गर्मी भएकोले पसल भित्रै छिरें। केही बेरमै उनले बाहिरबाट फोन गरे। मेरो गाडी बाहिरैबाट चिनेर हो (अघिल्लो दिन मेरो गाडीको केही काम गर्नु पर्ने कुरा भएको थियो) वा पछाडिको सीटमा बिच्छ्याएको "पोखराको सम्झना" लेखेको गलैंचा देखेर हो, उनी त गाडीको छेवैमा उभिएका रहिछन्। "ल बल्ल भेट भयो" भन्दै हात मिलाइयो। अर्को दुई ठाउँमा रोकिनु पर्ने काम सकाए पछी केही बेर बसेर कुराकानी गर्ने योजना तय भयो।

मेरो गाडी अगाडि थियो, एकै तिर तीन वटा लेन भएको बाटोमा बाँया मोडे पछी म सबैभन्दा बाँयाको लेनमा थिएँ, उनले बिस्तारै बीचको लेनबाट मलाई उछिने र मैले पनि त्यसैबाट पिछा गरें। केही बेरमै डाँडाखर्क (Hillcroft Avenue, जहाँ दक्षिण एशियाली तथा मध्यपुर्वी मूलका ब्यवसायीहरुको बाहूल्य छ) पुगियो र गँजडी देउताको नाम भएको भोजनालयमा छिरियो।

फोन र साझाको ईमेलमा सामान्य कुराकानी हुनु बाहेक हाम्रो खास परिचय भएको थिएन। चाट र दोसा मगाइयो, र कुराकानी गर्न थालियो। चौतारीको लेखाइ हेर्दा लाग्थ्यो कि, यिनी पक्कै ५० काटेका होलान्। उनको कुरा गराइले त लाग्थ्यो, उनले मलाई ६० नै काटेको ठानेका छन्। दुबै जनाको अनुमान गलत ठहरिएछ। ब्यक्तिगत पृष्‍ठभूमी लगायत ट्यौसासको र केन्टकी (जहाँबाट केही महिना अघी म यता सरेको हुँ) सेरोफेरोको कुरा भए। साझा र बिशेष गरी चौतारीका पात्रहरुको कुराले अधिकांश समय लिनु कुनै आश्चर्यको कुरा थिएन। कतिपय पात्रहरुका बारेका केही रहस्य अनुतरित गर्ने कार्य पनि भयो।  यद्यपि, कसैले पनि कुनै पनि पात्रका वास्तविक नाम नलिनु एउटा अर्को रोचक पक्ष थियो, मानौं कि चौतारीमै कुरा भईरहेछ। चौतारीको बिहानीको चियाको सम्झना आयो। स्टाइरोफोमको एक एक कप चिया खाइयो। त्यसपछी सँगैको पसलबाट जिम्मालले केही सि.डि किने। भेटघाटको क्रम जारी राख्ने कुरा गर्दै आ-आफ्नो बाटो लागियो। उनले गाडी डाँडाखर्कतिर मोडे, मैले चाँही राजामार्ग ५९ दक्षिणतिर।

ल यही हो, चौतारीको पात्रसँगको पहिलो भेटघाटको अनुभव।                                   
                                                   

 

 
Read Full Discussion Thread for this article