Posted by: bikash kc July 12, 2008
KANTIPUR IS PARTING THEIR WAY?
Login in to Rate this Post:     0       ?        
कान्तिपुरका मालिकलाई अख्तियारले पाता कस्ने
पत्रकार विभाजित, सम्पादकहरूको राजीनामा मागियो
काठमाडौं। नेपालका सबैभन्दा ठूलो प्रकाशन गृह कान्तिपुर पब्लिकेशन्स बन्द हुने वा फुट्ने दोसाँधमा पुगेको छ। कान्तिपुरका मालिकहरूको झगडाले चरम रूप लिएपछि नेपालको निजी क्षेत्रको पहिलो राष्ट्रिय दैनिक ब्रोडसिट पत्रिका कान्तिपुर गत साता झन्डै बन्द भएको थियो। तर सम्पादकीय शाखाका पत्रकार कर्मचारीहरूको सदाशयताका कारण कान्तिपुर बन्द हुनबाट केही दिनका लागि जोगिएको छ।  
पत्रकारहरू दुईतिर  
कान्तिपुरका मालिकहरूका काला कर्तुतको पर्दाफास गर्दै पत्रिका बन्द भएको समाचार प्रकाशित हुन ठिक्क परेको बेला कान्तिपुर दैनिकका अधिकांश पत्रकारहरूले व्यवस्थापकको विवादमा नफस्ने सुझाव दिएको एक पत्रकारले बताए। कान्तिपुरका मालिकहरूले एकअर्काको विरुद्ध त्यहीँकै पत्रकारलाई दुरूपयोग गर्न थालेपछि सम्पादक र पत्रकारहरूको संयुक्त भेला डाकिएको थियो। सो भेलामा कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले, कान्तिपुरका समाचार सम्पादक गुणराज लुइँटेल र काठमाण्डू पोष्टका सम्पादक प्रतीक प्रधानले घुमाउरो ढंगले कान्तिपुर पब्लिकेशन्सका निर्देशक विनोदराज ज्ञवालीको पक्षमा उभिएर कैलाश सिरोहियाको नामै नलिई सिंगापुरमा पैसा राखेकोलगायतका डकुमेन्ट खोज्ने र त्यसलाई प्रकाशन गरी बाहिरिने अभिव्यक्ति दिएका थिए। उनीहरूलाई काठमाण्डू पोष्टका सबै पत्रकारहरूले साथ दिएका थिए। तर कान्तिपुर दैनिकका अधिकांश पत्रकारहरूले 'हामी व्यवस्थापकको विवादमा लाग्ने होइन, चौथा तल्लामा बसेर आफ्नो काम गर्नुपर्छ, व्यक्तिका लागि होइन संस्थाको लागि काम गर्ने हो' भनेपछि काठमाण्डू पोष्टका युवराज आचार्यलगायतका पत्रकारहरू पनि कन्भिन्स भएका थिए।  
सम्पादकको शिर निहुरियो
कान्तिपुर दैनिकका प्रमुख संवाददाता हरिबहादुर थापा, बलराम बानियाँ, सुदीप श्रेष्ठ, बालकृष्ण बस्नेत, विकास थापालगायतले नारायण वाग्ले, प्रतीक प्रधान र गुणराज लुइँटेलमाथि व्यवस्थापनको एक पक्षमा लागेर संस्थालाई अप्ठ्यारो पार्न खोजेको भन्दै सातो खाएका थिए। हरिबहादुर थापाले त औंलो ठड्याएरै वाग्ले र लुइँटेलका साथै प्रतीक प्रधानलाई समेत गाली गरेका थिए। व्यवस्थापकहरूलाई मिलाउने महिनौं लामो प्रयास असफल भएपछि सम्पादकहरूले अब के गर्ने भनेर पत्रकारहरूको भेला डाकेकोमा उल्टै आफैंले सातो खानुपरेपछि नारायण वाग्ले, प्रतीक प्रधान शिर निहुराएर बाहिरिएका थिए। मौकामा चौका हान्दै केही पत्रकारहरू कान्तिपुरका सम्पादक नारायण वाग्लेमाथि राम्रैसँग खनिएका थिए। उनीहरूले वाग्लेमाथि आफ्ना आसेपासे र हनुमानलाई विशेष भत्ता दिलाएर काम गर्ने सक्षम पत्रकारलाई पेलानमा पारेको आरोपसमेत लगाएका थिए। कान्तिपुर स्रोतका अनुसार वाग्लेको निगाहमा कान्तिपुरका पत्रकारहरू दिनेश वाग्ले, देवेन्द्र भट्टराई, अखण्ड भण्डारी, रघुनाथ लामिछाने, गिरिश गिरीलगायतले टेबुलमुनिबाट विशेष भत्ता पाउने गरेका छन्। विनोदराज ज्ञवालीको पक्षमा सबै पत्रकारलाई लैजाने प्रयास विफल भएपछि कान्तिपुरका सम्पादक वाग्ले, पोष्टका सम्पादक प्रधान अचेल निचोरेको कागतीजस्तो अनुहार पारेर बसेका छन्। उनीहरू दुवैजनासँग नजिक रहेका एक पत्रकारका अनुसार वाग्ले र प्रधान राजीनामा दिने मनःस्थितिमा पुगेका छन्। यता, यी सबै प्रकरणमा पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत रहेका कान्तिपुरकै संवाददाता उजिर मगर भने मौन छन्। उनी पत्रकारहरूको भेलामा पनि सहभागी भएनन्। मगरको मौनता कान्तिपुरका पत्रकारहरूबीच चर्चाको विषय बन्ने गरेको छ।
नयाँ सम्पादक बन्न चलखेल
 आफ्नो नेतृत्वमा रहेका पत्रकारहरूले नै साथ नदिएपछि नैतिक रूपमा सम्पादक भएर बस्नुको औचित्य नभएको भन्दै वाग्ले अचेल कफी गफ गर्न थालेका छन्। त्यसो त, कान्तिपुरको व्यवस्थापन वाग्लेसँग पहिलेदेखि नै असन्तुष्ट थियो। पछिल्लो समयमा आफ्नोविरुद्ध विनोद ज्ञवालीले उपयोग गर्न थालेपछि प्रबन्ध निर्देशक कैलाश सिरोहियाले वाग्ले र प्रधान दुवैको राजीनामा मागेको स्रोतले जनाएको छ। यता, वाग्लेको राजीनामा मागिएपछि कान्तिपुरको सम्पादक बन्नका लागि सुवास ढकाल र सुधीर शर्माले मुख मिठ्याएका छन्। हाल साप्ताहिक र नारीको सम्पादक रहेका ढकालले सम्पादक बन्नका लागि अलि बढी नै चलखेल गरिरहेको कान्तिपुरका एक पत्रकारले बताए। उता, कतिपयले अब कान्तिपुरको सम्पादकमा नेपालका सम्पादक सुधीर शर्मा आउने चर्चा गर्न थालेका छन् भने कतिपयले हालका प्रमुख संवाददाता हरिबहादुर थापालाई भावी सम्पादकका रूपमा चर्चा गरेका छन्। उता, कान्तिपुरका मालिकहरूले गत वर्षको मुनाफालाई कम देखाएर पत्रकार कर्मचारीलाई थोरैमात्र बोनस दिएका थिए। कान्तिपुरको कुल मुनाफा १७ करोड रूपैयाँ भए पनि मालिकहरूले तीन करोड रूपैयाँमात्र देखाएका थिए।  
माओवादीले खेल्यो
कान्तिपुरलाई एक नम्बर दुस्मन ठान्दै आएको नेकपा माओवादीले पनि मौकामा चौका हान्न बाँकी राखेको छैन। कान्तिपुरका मालिकहरूको विग्रहमा माओवादीले पनि खेलिरहेको चर्चा कान्तिपुरभित्र छ। राजनीतिमा स्थायी शत्रु वा स्थायी मित्र कोही पनि हँुदैन भन्ने उक्तिलाई माओवादीले कान्तिपुरको प्रसंगमा पनि चरितार्थ गरेको छ। केही महिनाअघि कान्तिपुरको मजदुर आन्दोलनका क्रममा माओवादीको तारो बनेका सिरोहिया अहिले माओवादी पोल्टामा पुगेका छन्। सिरोहियालाई मजदुरमारा भन्दै आक्रमण गर्ने र उनको गाडी जलाउन खोज्ने माओवादी मजदुर युनियनका अध्यक्ष सूर्य ताजपुरिया अहिले कैलाश सिरोहियाको बचाऊ गर्दै हिँड्न थालेपछि कान्तिपुर कप्लेक्समा राम्रो मनोरञ्जन मिलेको छ।  
मालिकको कालो धन्दा  
कान्तिपुरका मालिकहरू हेमराज ज्ञवाली, विनोद ज्ञवाली र कैलाश सिरोहियाले नेपालमा कमाएको करोडौं रूपैयाँ सिंगापुरको बैंकमा राखेको पोल आपसमै खोलाखोल गरेपछि कान्तिपुरका स्वाभिमानी पत्रकारहरू गम्भीर बनेका छन्। राष्ट्रको धन विदेशमा लुकाएर स्वदेशी मुद्रा अपचलन गर्ने कालाबजारियाको मतियार बन्ने कि सोही पत्रिकामार्फत नै उनीहरूका कर्तुत जनतासमक्ष लगेर छाड्ने भन्ने विषयमा कान्तिपुर गृहका सम्पादक तथा केही वरिष्ठ संवाददाताहरू एकमत हुन सकेका छैनन्। कान्तिपुर प्रकाशन गृहअन्तर्गत कान्तिपुर दैनिक, दी काठमाण्डू पोष्ट, नेपाल साप्ताहिक, साप्ताहिक र नारी मासिक पत्रिका प्रकाशन हुन्छन्। सम्बद्ध स्रोतका अनुसार कान्तिपुरका मालिकहरू विदेशी मुद्रा अपचलनको मुद्दाबाट जोगिन सहमत भए पनि एउटै प्रकाशन गृहमा अटाउने अवस्था भने छैन। त्यसैले जसले कान्तिपुर चलाउँछ उसले कान्तिपुरको लोगोलाई मात्र एक अर्ब २० करोड रूपैयाँ तिर्नुपर्ने मूल्यांकन भएको छ। त्यसबाहेक कान्तिपुरको सम्पूर्ण सम्पत्ति आधा–आधा हुनेछ। कैलाश सिरोहियाले ज्ञवालीले कान्तिपुर चलाउने भए आफूले हिसाब लिएर नयाँ प्रकाशन गृह खोल्ने घोषणा गरिसकेका छन्। कान्तिपुरका मालिकहरू दुवै फस्ने भएपछि सिंगापुरको बैंकमा पैसा जम्मा गरेको प्रकरणलाई साम्य पार्न खोजे पनि कान्तिपुरभित्रकै केही पत्रकार कर्मचारीले उनीहरूविरुद्ध नेपाली मुद्रा अपचलन गरेको अभियोगमा हदैसम्मको कारबाही गरिपाऊँ भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी गरेका छन्। यसका लागि आवश्यक प्रमाण जुटाउने प्रयास भइरहेको एक कर्मचारीले बताए। नेपालको सम्पत्ति विदेशमा लगेर थुपार्ने आर्थिक अपराधीलाई अख्तियारले पाता कस्नुपर्ने उनीहरूको भनाइ छ। –दीपक अधिकारी

http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=61833
Read Full Discussion Thread for this article