लौ जा यो चै हाम्रा जिम्माल बा को चर्तिकला--
हरिशरणम!
‘मरेर जानुछ ,हाए! एकलै एकलै’
जिम्माल बा ओछ्यान बाटै भजन शुरु गर्छन।
‘ख्वाक्क!’
‘लौ न मुखाँ राखेओ पोलेओ अदुवा मुखैआँ र’छ।‘
‘हरेभगवान! कुन सर्को निदाइचु, क्यार्नु अब थुक्नु कि खानु यो रातभरिओ बासी पोलेओ अदुवा टुक्रो।‘
‘होस त अब रातभरी यै टुक्रोले खोकि लाएन कार्न फ्याल्नु बजाराँट रुप्पे हालेर किनेओ अदुवा ।यै जाबो टुक्रो निल्न लै म बुढोलै के को माभारत!’
‘ए! बुढी पानी ले ले?’
‘सुनिनेस!’
ओछ्यान छामछुम पार्दै ‘अरे हिजो रातीआँ घुर्की लाउदै थी माइत पो गई कि जिम्माल्नी’
–सिरक पल्टाउदै कोल्टे हुदै सिरानीको पर खोपोमा राखेको अंखोरा’ट पानी संग अदुवा पनि घुटुक्क निल्छन- ‘लौ जा! भुढिआँ पुगे भईलाई के को सास्ती।
‘अब क्यारी उठ्नेहोला हात सामत्ने मान्छे पनि छैन’
ऐयाssss !! ए तितौरी! नातिनी! ऐयाअय्य्य!’
उफ् भुसुक्क बिर्सेचू फेरी नातिनी केटीपनि आइनच एसपाला।‘
‘शन्सरबार आम्चु भन्थी तो नातिनी केटीलै माष्टर्नीले उतै भुलाउन थालिन।‘
‘यसो दुइचार अक्छ्यर भ’नि सिकोस न त भनेर उन्काँ पठाइदेकुम । बड तिनैलै साथी ठिक्क ।‘
‘अस्ति पनि बाख्रालाई स्याउला काट्न जादा आफै सअ ले’र गथि’न। घाँस काट्न जादा नि उनी सअ हुन्छे रे तिरू।‘
‘कठै!मेरी नातिनी! कसरी हिड्दि हो खुट्टाँ चप्पल नि नला’र।(रिसाउदै) मलै नि आम्च माभारत र गिता रामायण सप्पै जो पढ्न – तिनै मात्रै होलिन जान्ने।कुन चै दिन ग’र लाम्चु मेरी नातिनीलै। ह्या भ’सि अइले तातो पानि त दिन्थि होली मलै।‘
‘खै कता गो मेरो टेक्ने लौरी- यो नलिखुट्टो नि कटकटी दुखिरन्छ। नातिनिओ ब्या अर्देर पनाती देखेर मरुम्ला भनेओ काल ले आज अइलेई लान्छ कि अस्तो अरेर दुख्छ बाबै!
जिम्माल्नी आमैलाई संझिदै जिम्माल बा ‘किन रिसाम्नु परेओ तो बुढीलै नि।‘
‘झिनो मसिनओ कुराआँ पनि बेक्काराँ दोष लाइचू— बिचरीलै’ फेरि जिम्माल्नी आमैले भनेको संझिदै गुनगुनाउछन जिम्माल बा
--‘‘तिमी बुढाले पुष्टकारी गोलिमिठाई का राख्छौ भनी हेर्दिहुम मैले। चौताराँ बसिरने खोरन्डो बुढो पोते किन्दिचु भनेर पैसो मागेर पुष्टकारी किन्ने तिम्लै एक्लै पारेर माइत गइन भने म नि जिम्माल्नी हैन।‘’
‘चोथाले चाउरी! मलै त खोरन्डो पो भन्दिरचे। सन्दुकाँ लुका’र राखेओ पुष्टकारी किन खाइस भनेर सोध्दैमआँ रिसाम्नु पर्च तल्लाई? गए जा माइतीआँ म नि जान्न तल्लाई लिन। हेर गइचू भने म नि जिम्माल हैन यसबाजि त।‘
‘’ए बुढा कल्लाई भनेऊ चाउरी हँ? उ बेला पानी पधेराआँ नुवाउदा धाराआँ ढिकमाथि बसेर कर्के आँखा लाम्दै टुलुटुलु हेरेओ बिर्सेउ। । त्यो के भन्छ लाखुरीओ रुखाँ चढेर लुकी लुकी पर्खिबस्दा रुखाँ’ट खसेर नलिखुट्टो भाच्चिओ नि बिर्सेउ- नराउरी भा’भे केल्लाइ पर्खिन्त्यौ हँ रैथाने बुढा।‘’
‘हेर हेर यो बुढीको ताल –धेरै नकरा जिब्रो सिब्रो तानेर चौतारीओ पिपल बुटाआँ झुन्डाइदिम्ला—दुखिरा’छ नलिखुट्टो खै तो अघी अगेनाआँ तताएको ईट्टा र पोलेओ अदुवा टुक्रो ? त्यै मेरो कछाड ले बेरबार पारेर पुर्याइदे इट्टा चै सिकाम्नु परो खुट्टो लै’
जिम्माल्नी आमैले इटा र बटुकामा राखेको अदुवा रिसाउदै जिम्मालबा तिर सार्दिन्छन, अनि सिरक ओढ्दै कोल्टे परेको संझिन्छन।अनि मुर्मुरिदै उठ्न खोज्छन
‘ऐयाअअअअ !मेरो नलिखुट्टो!! दुखो!’
घुडा पसार्दै सिरक फेरी ओढ्दै- ‘यो फागुन ला’सि नि कत्ति जाडो लाउच।‘
जिम्मालबा फेरि ओछ्यानमै गुटमुटिन्चन। हाई गर्दै भजन शुरु गर्छन-
‘’भइमा झरण किरिस्न भइमा झरन
आपत्पर्यो हामीलाई रक्षे गरन!’’
-----
‘हजुर्बा हजुर्बा हजुरले कांधमा किन धागो राखेको?:D धुलौटोमा क ख लेख्दै तितौरी भन्छे.
‘यो धागो हैन बा जनै हो, तँ बुज्दिनेस अहिले यो कुरा” हाताँ लेको लोटा पिंढिमा राख्दैछन जिम्माल बा
‘हजुर्बा हजुर्बा यो के हो ? कानमा झुन्डाएको धागो तान्न खोज्दै तितौरी हाँस्छे तितौरी --हिहिहिहिहि
‘यस्ले दांत माझ्ने हो तिरु’
‘हैन के हजुर्बा यो दांत माझ्ने हैन के यो । छ नि यस्बाट त बबल बन्च। अस्ति बारिआँ घाँस काट्न जादा हजुर्माले भन्नुभा।‘ जिम्मालको हातबाट सैजनको हांगा खोस्दै पिटिक्क भाचेर लामो केस्रा निकाल्छे तितौरी। चोप आउछ अनि हावा बहेको तिर फुक्न थाल्छे।
‘कत्ति चलाक छे मेरी नातिनी यस्लाई राउरो पढाम्नु पर्च’ भन्ने सोच्दै मनमनै रमाउचन जिम्माल बा। तितौरी रमाउदै फुक्दै बबल निकाल्छे तर फेरि के संझिछ जिम्माल तिर हेरेर खीइएर कालो भाको दांत देखाउदै हास्छे।
‘म पनि दांत माझ्छु के हजुरले जस्तै।‘ दगुड्दै तितौरी माथ्लोतला जान्छे अनिफेरि दौड्दै आउदा संघारमा भएको दुइटै खुट्किलोलाई एकैपटक फड्कोमार्छे।
‘ल ल के अरेको नातिनी लोट्लिस?’
‘हजुर्बा हजुर्बा यो मेरो जनै हजुरले जस्तै म नि कानमा राख्छु के‘:D:D:D
‘ धुत लाटी!यो त प्रसाद हो पोरसाल चारधाम अर्न जादा लेरआकुम कालो धागो घाटीआँ बाँध्ने हो’
‘हो’
‘अब मैले के अरी दांत माझ्ने होला?’ जिम्मालबाले तितौरीलाई हेर्दै भन्छन्।
फेरि भित्र जान्छे अनिफेरि दगुर्दै आउछे
‘हजुरबा हजुरबा यि मैले मन्जन बनाकिम अब हजुरले काठले दांत माझ्न पर्दैन- हई हई हजुर्बा’
‘कसरी?’ नातिनीको मिठो कुरा सुनेर जिम्माल बा मुस्काउदै हेरिरहन्छन।
‘हजुर्माले भनेओ अंगारले दांत माज्यो भने किरा पर्दैन रे,दांत पनि कालो हुन्न रे।अनि पछि जत्ति गोलिमिठाइ पुष्टकारी खाए नि हुन्छ रे।यि हेर्नुस त—‘ कालो खरानीको धुलो देखाउछे।
जिम्माल बा मख्ख पर्दै –‘यस्तो कालोले हैन नातिनि रातो मन्जन पो राउरो हुन्च अनिखेरी।‘
लौ भन्त मेरी नातीनि कसरी बनाइस यो दांत माझ्ने पाउरर मन्जन?
‘छ नि आगोमा पोलेर-हिहिहिहि'
‘के आगो बालेओ तैले?
‘हो के। अनिपछि हजुरले टेक्ने लौरो बालेकिम मैले!
‘तितौरीssssss!’
---------
‘ल हेर यो बुढोलै यति माथी घाम आम्दा नि सपना देखिराचन। त्यै भाकी एउडी नातिनीलै नि नपठाऊ माष्टर्नीकाँ भन्दा चारताल उफ्रेर पठायौ। अइले आ’र साँझै तितौरी ब्यानै तितौरी। चिया नि चिसो भैसएच। उठ्छौकि पधेराँट अइलै ल्याको पानी खन्याइदिम ए बुढा!
जिमाल बा झस्किदै उठ्छन-- ‘अँssss त् तss ह्याइछेस् अझै?!’
जिम्मालबाले सोधेको देखेर जिमाल्नी आमै अचम्म मान्दै हेरिरहन्छिन---
क्रमस......