Posted by: Rahuldai June 23, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

संझना दिदी
भाग ५

टिचिङ् हस्पितलमा डा सायमीको रेखदेखमा डा एन् के सिंह को सल्लाह बमोजिम मान दाइ को उपचार चलि रहेको थियो। एक दिन बिराएर फ्रेशब्लड दिनु पर्ने अर्को झन्झट छंदै थियो। फ्रेशब्लडको लागि रक्तदाताहरुको खोजी गरिदिन संझना दिदीले आग्रह गर्नु भए अनुसार् धेरैलाई सोधियो। प्राय त ब्लड डोनेशन् भन्ने बित्तिकै १२ हात् पर भाग्थे, कोइ तयार भए पनि ब्लड ग्रुप म्याच नहुने। बडो सकस् का साथ् ३ जना को लाइन तयार पारियो। फलानोले फलानो दिन ब्लड दिने भन्ने तालिका पनि बनाइयो।


टिचिङ् मा राखेको २-३ दिन सम्म त बिरामीको हाल यथास्थितिमै थियो। इन्फेक्सन बाट बचाउनु नै मर्नबाट बचाउनु थियो। मान्छेको चक्षु त के माइक्रोस्क्कोप् को आखाँ छल्ने छट्टु बिषाणु-किटाणुको कुद्रिष्टिबाट कतिन्जेल बचाउन सकिने हो भगवान भरोसामा थियो।

चौथौं दिनमा बिरामिलाई सास् फेर्न सकस् भयो। संझना दिदीले तत्काल डा सायमीलाई खबर् गर्नु भएछ र डाक्टर साहेबले तत्काल् क्रितिम अक्सिजनको ब्यबस्था गरि दिनु भयो र छाति को एक्स्-रे लिन लगाउनु भयो रे। संझना दिदीले तत्काल मलाई पनि खबर् गर्नु भयो र म टिचिङ गएं। एक्स्-रे को रिपोर्टमा फोक्सो मा अलकति कालो धब्बा देखिएको ले इन्फेकसनको स्पष्ट संकेत गरेको मैले बुझें। लौ अब भने बित्यास पार्‍यो, मन मनै भनें। डाक्टर् साहेबले त्यो कालो प्याच के भनेर स्वाब कल्चर गर्न लगाउनु भएको रहेछ। प्रारम्भिक रिपोर्ट् अनुसार त्यो कालो दुष्ट Staphalococcus भन्ने ब्याक्टेरिया रहेछ। फोक्सोमा हामीले निलेको सास् मा भएको अक्सिजन बास् हुने अन्तिम थलो alveioli हरु हुन् र त्यहाबाट् शरीरको बिभिन्न अवयवहरुमा रगतले बोकेर लैजाने गर्छ।  तर तिनै अक्सिजनको बासस्थलमा दुष्ट ब्याक्टेरिया जबर्जस्ति बस्नाले अक्सिजनको अभाव भै म्रुत्यु हुने हुन्छ। सास् फेर्न कठिन हुनु त्यसको प्रारम्भिक लक्षण हुन्।


शरीरमा पूर्ण रुपमा रोग संग लड्ने जुझ्ने क्षमता  नाश भएको अबस्थामा ब्याक्टेरियाको लागि दशैं उत्सब आए जस्तो हुनु स्वाभाबिक हो। WBC को मात्रालाई फ्रेश ब्लडको माध्यमबाट थेग्न खोजे पनि अपर्याप्त थियो।  यस्तो अबस्थामा कडा भन्दा कडा आन्टिबायोटिकको मुढेबलले पनि काम गर्दैन।


मलाई मान दाईको अन्तिम दिन यहिं कतै छ जस्तो आभास् भैसकेको थियो। संझना दिदीलाई पनि यस्तो आभास हुंदो हो। हिजो अस्ति दिल्लीबाट फर्किंदाको कान्ति शिशिरको रुख जस्तो भैसकेको स्पष्ट देखिन्थ्यो।  तै पनि "मर ता क्या नहीं कर ता," इलाहाबादी उखान जस्तै, दिदीको लगन र प्रार्थना र कोशिश मा कुनै कमि थिएन।

बिरामी हेर्न आउने आफन्त  र मानदाईका सहकर्मी अनि दिदीका अफिसमा मित्रहरुको कमी थिएन। हर् एक ब्यक्ती डाक्टर भन्दा जान्ने हुने हाम्रो संस्कार। कुण्डकुण्ड पानी मुण्ड् मुण्ड बिचार भने जस्तै, सबले यो गर्नु उ गर्नि, यस्तो गर्नु भयो उस्तो गर्नु भयो भनेर आ-आफ्नो बिद्वता देखाइ हाल्ने। एक जना आफन्तले यो सबै देबी देबताको दोष हो। जान्ने द्यो: माँ ( देब देबी चढ्ने माता) लाई देखाउ, द्यो: माँ ले नै ठिक पार्दिन्छ भनेर सुझाए।


अब कुन द्यो: माँलाई देखाउने? प्रश्न मेरै थाप्लोमा आएर बज्रियो। मैले पनि आमा लाई सोधें। क्षेत्रपाटीमा एक जना साह्रै जान्ने द्यो:माँ हुनु हुन्छ उसैलाई देखाउनु भनेर आमाले घरको हुलिया बताइ दिनु भयो। सोही अनुसार संझना दिदी र म, मानदाईको चिना र मानदाईलाई स्पर्श गराई ल्याइेको एक मुठी चामल लिएर गयौं।


द्यो:माको आसन कक्ष भित्रको भिडले आस्था र बिश्वास् को मात्रा अन्दाज गर्न सकिन्थ्यो। हाम्रो पालो आयो। संझना दिदी द्यो:माँ को समुन्ने बस्दै चिना र चामल अगाडी राख्ने बित्तिकै, आँखा चिम्ली कामिरहनु भएकी द्यो:माँले भन्नु भयो।

"यो मान्छेलाई कडा रोग लागेको छ, खकारमा, दिसा पिसाबमा रगत आइसक्यो। यो मान्छेको भर्खर प्रमोशन भएको छ र अर्को प्रमोशन हुनेवाला छ तर । तर मै अड्कियो द्यो:माँ को धारा प्रबाह प्रबचन।


"कुनै उपाय छ कि छैन?" संझना दिदीले आफ्नो चासो को बिषय राख्नु भयो।

"कडा रोग लागेको छ, रगत सम्बन्धी। स्वयम्भूको अजिमा (हारती माता), बिजेश्वरी माई अनि हल्चोक को भैरबको पूजा बिधिपूर्बक गरिदिनु, केही हुन सक्छ।"
 
द्यो:माँको यी कुरा सुने पछि, संझना दिदी भोलि नै सबै तिर पूजा गरिदिन्छु, भगवान ले कहिले सम्म यो दुखीलाई हेर्दैन भन्दै कस्सिनु भयो। म भने द्यो:माँलाई कसरी यी सबै सत्यको ज्ञान भयो भन्ने कुराले दिमाग संगसंगै घुमिरहेको थिएं। चिन्दै न चिनेको, देख्दै न देखेको मान्छेको जीवन गाथा यसरी भन्न सक्नु दैबी शक्ती नै हो, मलाई पक्का बिश्वास भयो।


संझना दिदीले पूजाको कर्म पनि गरिदिनु भयो। बिरामीको हालत खस्किनु सिवाय केही भएन। झन निरासाको दहमा डुब्नु भयो। मानौं अब संझना दिदी अब आफ्नो प्राणभन्दा प्यारो पति को सुखद म्रित्युको लागि कामना गरिरहनु भएको छ।

तिहार नजिक थियो। यमपंचक सुरु भै सकेको थियो। कुकुर तिहारको दिन हो क्या र, बिरामीको हालत निकै नै नाजुक बन्यो। संझना दिदी आत्तिएर डाक्टर नर्सहरुको हार गुहार गर्नुभएछ। डाक्टर साहेबले फलानो इन्जेक्सन लिएर आउ भने छ र सो  इन्जेक्सन टिचिङ् हस्पिटलको एउटा मात्र औषधी पसलमा पाइंदो रहेछ। पसले ले पनि यो औषधि एक मात्रा ले पुग्दैन, अर्को मात्राको लागि पहिलेइ पैसा बुझाउनु पर्छ। बैंककबाट झिकाउन पर्छ भने छ। एक भाइल को ६ हजार नेपाली रे। १२ हजार न बुझाई त्यो इन्जेक्सन् न पाइने भयो। संयोग बस दिल्लीमा बस्दा अनुमान गरिए जति खर्च नभएकोले १५- २० हजार अझै हातैमा थियो र १२ हजार बुझाई एक भाइल लिएर आउनु भयो।  त्यो इन्जेक्सनको प्रभाव सकारात्मक रह्यो। बिरामीको हालत निकै सुध्रियो। अलिकति कान्ति अनि अलिकति शान्ति दूर क्षितिजमा देखियो। सास रहुन्जेल आस रहन्छ। संझना दिदीको मूल मन्त्र यही थियो।

लक्ष्मि पूजाको दिन थियो। तिहारको पहिलो छुट्टीको दिन। भरे साँझमा लक्ष्मीपूजा गर्नको लागि केही सरसामान किन्न बजार गएं र फर्किएर चिया नास्ता मात्र के सकेको थियो, संझना दिदीको फोन आयो।

"सर्, म बोलेको। सर् लाई फेरि दुख दिनु पर्‍यो। अस्तिको इन्जेक्सनले काम गरे जस्तो छ। अहिले उहाँको स्थिति धेरै राम्रो भएको छ।"

"एहे, खुशी खबर सुनाउनु भयो "( अनिष्ठको समाचार को शंका लागेको थियो। )

"सर्, त्यो इन्जेक्सन् ४-५ भाइल झिकाउनु पर्‍यो, भएको पैसा सकियो। अहिले चाडबाडको बेला को संग माग्न जाउं। २० हजार जति जसरी भए पनि ब्यबस्था गरि दिनु पर्‍यो।"

म असमंजस्यमा परें। मर्नै लागेको मान्छेको बाच्ने अन्तिम् प्रयासमा कसरी नाईं भन्नु। पहिला नै ३० हजार दिइ सकेको थिएं। फेरि २० हजार? एक छिन है दिदी म हेर्छु भन्दै एक छिन सोचें। लक्ष्मीपूजाको दिन धनको पो आगमन हुनु पर्ने, यहाँ त एका बिहानै धन को बहिर्गमन हुने कुरो पो देखियो। सोचें, मान्छेको जीवन भन्दा  माथी अरु केही हुन सक्दैन। "बांचियो भने आफुले पूण्य कमाइन्छ, दे  राहुले दे," लक्ष्मी माता आफैले आदेश दिएको आकाशबाणी सुने जस्तो लाग्यो।

तै पनि मान्छेको कपटी मन न हो, एक छिन पछी जवाफ फर्काएं।
"दिदी, २० हजार त मिलेन, १२ हजार जति चानचुन मिलाएर जम्मा हुन्छ। के गर्ने?"

 "१२ हजार भए पनि मेरो लागि लाख हो, अहिले नै सक्नु हुन्छ भने पैसा लिएर आउनु होस्, १ बजे को थाईको फ्लाइटबाट झिकाउनु पर्छ।"

 समयको अभावलाई बुझेर १२ वटा हात्ती को भारी खल्ति बोकेर टिचिङ  तिर लागें र पैसा दिएर एक छिन मानदाईको जिर्ण शरीर हेरेर घर फर्कें।
क्रमश:

Read Full Discussion Thread for this article