Posted by: somewhereondearth June 22, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

अन्तिम भाग।

…….बिहानी को उज्यालो संगै आशाको संसार अर्को भईसकेको तियो । जीतबहादुर केहि दिन बिर्तामोडमै बस्यो । उ र आशा बीच अत्याश्यक कुराहरुमा मात्र बोलचाल भयो । उनिहरु संगै बसे पनि एक अर्का संग धेरै टाढा भईसकेका थिए । दुबैले एक अर्कालाई धेरै हद सम्म गुमाईसकेका थिए । यो नि:शब्दको पराईपनबाट दुबै पीडित थिए । फरक मात्र कारणमा  थियो ।

एक बिहानी, झिसमिसे संगै जितबहादुर ले जाने तयारि गर्यो । न उसले  आशालाई केहि भन्ने आँट गर्यो, न आशाले प्रष्टसंग सोध्न नै सकिन्  । रातै भए पनि आशाले चिया त बनाईन् तर उ नखाई हिड्यो । आशालाई चसक्क बिझ्यो ।

बिहानीको चर्को घामले दिन बोलायो । एक दिन, दुई दिन; समयले आशालाई सत्य संग अभ्यस्त बनायो । भनिन्छ नि, सत्य अंगाले पछि सजिलो हुन्छ । आशालाई त्यहि भयो । हो पीडा त थियो  तर त्यसलाई समातेर बस्यो भने जीवन कहां संम्भव देखिन्छ र? अन्त्य जे भएपनि शायद भोगाई त हो जीवन । त्यहि माथि दुई बच्चाकि आमा, कहां लोग्नेले सौता ल्याएको बिरहमा रोईबस्नु, तड्पिई बस्नु । आशा बिस्तारै पुरानो लय मा फर्किन् ।

 

जितबहादुरले पुगेर फोन पनि गरेन । पछि पनि गरेन । आशाले पनि फोन गरिनन्, गर्न मन लागेन  । भित्र चित्त दुखेको थियो । त्यसै त कसरि मान्छ, मन ।

ब्यवहार हो, चलायो भने त्यसै चल्दो रहेछ । अपुरो भएपनि आफ्नै घर भएकाले डेरा भाडाको समस्या थिएन । ढाकाको ब्यवसाय ले थोर बहुत पैसा आईरहन्थ्यो । दैनिक दाल चामलको खर्च त्यसैले टर्दथ्यो । रह्यो नानी बाबुको स्कुलको पैसा, पहिले पनि ४-५ महिनामा मा तिर्ने गरेको। त्यसले पिरोलो पार्दैन थियो ।

लियो भने कति सजिलो छ, जीवन । बुढा कान्छी ल्याएर परदेशीएका, जेठि छोराछोरि सहित घर सम्हालेर बसेकी, आफ्नै ईलम गरेर । देख्‌नेलाई  आशाको घर यस्तै एउटा घर देखिन्थ्यो । हुन पनि, नानी बाबु को जीवन मा खासै ठुलो परिवर्तन आएको थिएन् । तर आशाको मनमा एक्लोपनले जह्रो गाडेको थियो । जे भएपनि लोग्ने हुदाको र नहुंदाको स्वास्नीमान्छे मा ठुलो फरक हुन्छ, खास गरि हाम्रो घर समाजमा । यसैले त होला १५औं बर्षसम्म पनि हराएका, नफर्केका, भए नभएका लोग्ने लाई लिएर हाम्रा नारीहरु निर्जल ब्रत बस्ने, सिंदुर लगाउने, पोते लगाउने ।

 आशा अपवाद थिईनन् । सिंदुर उनले लगाउन छोडिनन् । पोत लगाउन छोडिनन्, ब्रत बस्न छोडिनन् । तर पनि उनको समस्या लोग्ने हराएको वा नफर्केको भन्दा पनि लोग्नेको भाग लगाईएकोमा थियो । अनि त्यो भाग पनि उनको आफ्नै लोग्नेले लगाएको थियो ।

शायद यो ‘लोग्ने’ भन्ने सम्बन्धमा हाम्रा नारीहरुको मन केटाकेटीको जस्तो हुन्छ । सबै भाग आफ्नो पार्नु पर्ने । बाड्नै परे पनि सबै भन्दा ठुलो भाग आफुलाई अवश्य पार्नु पर्ने । चाहे त्यो ‘भाग’ राम्रो होस वा ठिकै । कत्रो मोह, कत्रो माया ।

तर अर्को तिर, हाम्रो समाजका पुरुषको मन चाहि मध्य शताब्दिका साहसि योध्दाको जस्तो । स्वास्नीमाथि जितेको राज्य सरि, पूर्ण आधिपत्य चाहिने । total possession !! अनि फेरि योध्दा न हुन्, एउटा राज्य मात्र जितेर कहां हुन्छ र?

शायद यि सबै समानुपातिक कुरा हरु हुन् । सोचाई संगै परिभाषा बदलिने । आधार(reference) संगै सत्यको मात्रा घटबढ हुने ।

आशाले आफ्नो वरिपरि हेर्ने थालिन् । आफ्नो लोग्नेको राज्य बिस्तार र आफ्नो ‘भाग’को समानुपातिक सत्यको लेखाजोखा गर्न थालिन् । बिर्तामोड बिकासतिर लम्केको शहर भएपनि बासिन्दाहरु पहाडबाट नै झरेका थिए । गांउ, घरमा दोहोरो स्वास्नी भएका ‘लोग्ने’हरु अपवाद थिएनन् । समाजको त्यो सत्यले आशाको मनमा जीतबहादुर माथिको चित्त दुखाईको मात्र घटायो । तर आशालाई दोहोर स्वास्नीको सत्य अफ्ठ्यारो लाग्न छोडेपनि, दोहोरो स्वास्नी ल्याउने लाई उनले राम्रो भनेर चाहि मान्न सकिनन् । यहि नापतौलमा जीतबहादुर पनि पर्यो ।

…………………………………………………………………………..

 

महेश दाई हेर्दा बिशेष त थिएनन् । तर तानको धागो ल्याउने, ढाका लैजाने र पैसाको लेनदेन उ संगै हुन्थ्यो, आशाको । तर पनि उनि बोलि रहेने, जिस्कि रहेने, हांसी रहने मान्छे थिए । उनको ब्यवहार बडो प्रष्ट थियो । पैसाको कारोबार सफा संग राख्ने । आशालाई महेशदाईको ब्यवहार मन पर्दथ्यो । जीतबहादुरले सौता हालेपछि गाँउका अरु मान्छे आशासंग खुलेर कुरा गर्न डराए पनि महेशदाईले जिस्काउन छोडेका थिएनन्  

दिनहरु संगै, आशाको पुरानो हास्ने, रिसाउने,  जिस्कने बानीहरु पनि महेशदाईको आगमनले बोलाउन थाल्यो । हुन त अरु पनि मान्छे हरु आउँथे, तानको काम लिएर । तर आशालाई महेशदाईको आगमन राम्रो लाग्दथ्यो । हुन पनि उनले आशाको व्यवहार संगै नानी बाबु को पढाई सम्म सबै कुरा सोधि दिन्थे। कुराहरु सुनि दिन्थे ।

एक्लिएकि आशालाई थाहै नपाई महेशदाईको मीजासिलो ब्यवहारले बाँध्न थाल्यो । महेशदाई आईरहोस जस्तो लाग्ने । बोलिरहोस लाग्ने । कुराहरु सुनाई रहुं जस्तो लाग्ने । हुन त महेशदाई पनि बिवाहित नै थियो । तर दुईवटि स्वास्नी नल्याएको  । यो पनि एउटा थपिएको गुण थियो, महेशदाईको ।

लोग्ने मान्छे र आईमाई मान्छेको सम्बन्ध पनि अचम्मको हुंदो रहेछ । आशा दिनानुदिन महेशदाईको छांयामा रमाउन थालिन् । उनको प्रत्येक आगमन संगै आशाको मुहार उज्यालो हुन्थ्यो । महेशदाई बढि समय बसिदेओस जस्तो लाग्ने । कहिले ढाकाको नयां डिजाईन देखाएर केहि समय जित्दथिन त कहिले चिया ढिलो गरि पकाएर ।

एउटा नजानिदो तागत ले आशालाई महेशदाई तिर धकेलिरहेको थियो । यो कुरा आशाले थाहा पनि पाईरहेकि थिईनन् ।

 

महेशदाईको सोचाई भने पढ्न नसकिने थियो । शायद उसले आशाको बदलिदै गरेको देखेको हुंदो हो । तर उसको ब्यवहार न बिसको एक्काईस भयो, न उन्नाईस नै  । आशाले डिजाईन देखाईन् भने हेरि दिन्थ्यो । चिया दिए खाई दिन्थ्यो । तर आक्कल झुक्कल छोईएका आशाका हात उसले कहिले समाएन् । काम बिना, कुनै हप्ता दोहोरो आएन् ।

 

दिनहरु बिति नै रहे । भदौको अन्तिम हप्ता थियो । घाम डुब्न लागेको बेला थियो ।  आशा बारीमा फाट्ट फुट्ट बाकि रहेका हरिया मकै पोल्दै थिईन् । गर्मी प्रसस्त थियो । पसिना त उनलाई दार्जिलिङ्गमा नै आउँथ्यो, बिर्तामोडको के कुरा । पल्ला घरकि मैया नानीले चिच्याएर बोलाईन्

“आन्टी छिटो आउनु, ट्रंकल छ” उनि मकै त्यसै छोडेर फोन उठाउन गईन् ।

‘संन्चै छेस्”

‘अं छु, तपईं नि?’

‘ठिक छु ‘

‘केटा केटि को के छ’’

‘राम्रो छ, नानीलाई जरो आएको थियो, अहिले ठिक छ ।’

‘अरु कुरा ठिक छ, कृष्णदाईको हात ११ हजार पठाएको छ । बुझेर खर्च चलाउँदै गर्नु । पराजुलि ठेकेदार संग कुरा गर्दै गर्नु, दशै अगाडि छत ढलाई गरिदिउंला । रंगलाउन त्यस्तै होला, अब यता पनि घरखर्च पुर्याउनु पर्यो । ल अरु कुरा पछि गरौला ।‘

यति भनेर जितबहादुर ले फोन राख्यो ।

आशा बिस्तारै घर फर्कन्  । पश्चिममा घाम आधी बांकि थियो । उनलाई अचानक आएको खुशिले थिचेको जस्तो भयो । उनि दंन्ग भईन । जीतबहादुर संगको रिस, चित्त दुखाई सबै हराएर गयो । उनले त्यो महेश दाई पनि बिर्सिन, पोल्न हालेको मकैका घोघा पनि । उनका जीवनका साना तिना  समस्या र सबै उजुरी निमेषमै बिलाएर गए । लोग्ने को एउटा बोलिले नारीको सोचाईमा कत्रो प्रभाव पार्दो रहेछ, प्रष्ट देखिन्थ्यो आशाको अनुहारमा, आंखामा । उ पूर्ण खुशी देखिन्थिन् । चार पांच महिना देखि सम्पर्क नगरेको जीतबहादुरको एक मायालु बोलि नै काफि थियो, आशाको मन फर्काउन ।  कहां पहिलो प्रेमको बेजोड तागत, जसले आफ्नो सारा घर, सम्बन्ध त्यागेर जितबहादुर संग आउने शक्ति दिएको । कहां लोग्ने को एउटा गल्ति, जुन अक्ष्यम्म थिएन्, आशाको लागि । अरु तनाब जे भएपनि जीतबहादुर ले माया गर्छ भनेर आशालाई राम्रो संग थाहा थियो । अनि उनले जीतबहादुरलाई गरेको माया एउटा सौताको सम्बन्धले कहां पखाल्न सक्थ्यो र । आशाको रिस कहिले लामो हुन सकेन । उनि मन मनै पुलकित भईन् ।

आशा अग्लिएका सुपाडि संगै कल्पनामा अकाशिईन् । ढलाई गरेको छत, थपेका कोठाहरु । दुई श्रीमतीलाई संगै राखेर टिका लाउँदै गरेको जीतबहादुर र उसको त्यो मीठो हांसो । ……………………

यो 'आशा' यति नै ।

meaninglessthinkings@somewhereondearth.

Read Full Discussion Thread for this article