Posted by: Birkhe_Maila June 19, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

खोर पुरै भिजेको रहेछ। यसो हेर्दा कतैबाट धेरै पानी नपस्ला जस्तो भए पनि कुन्नि कसरि हो खोरमा लगभग तलाऊ जमेको रहेछ।

माष्टरनीले संगै बोकेको टुकीको उज्यालोमा यता उता नियालिन्। दायाँ पट्टि कुनाबाट पानी छिरेको रहेछ। बाख्राका बड्कौँला पानीमा घोलिएर भुइँ साह्रै नै फोहोर भएको थियो।

एस्तामा रातभरि बसे भने त बाख्रा सपै मर्लान के रे नि!

माष्टरनीले मनमनै भनिन् र बाहिर निस्किन। पिँढिको पल्लो पट्टि अलिकता रातो माटो थियो त्यो लिएर आइन् र दुई हातले मुछ्न थालिन्। माटो अलि लेसाइलो भएपछि पानी छिर्ने प्वालमा त्यो माटो लगेर टाँसिन्। फेरि बाहिर निस्किन् र घरसंगै जोडिएको एउटा कटेरोमा छिरिन्, त्यहाँबाट परालको एउटा हातभरिको मुठो लिइन र फेरि खोरमा गइन्। सुख्खा परालको मुठोले सबै फोहोर सोहोरिन् र बाहिर फालिन् अनि अलिकता बाँकि भएको पराल सबै खोरमा बिछ्याइन्; अब खोर अलि सुख्खा र न्यानो देखिन्थ्यो।

फलैँचाको उपल्लो पट्टि घरको भित्तामा सबै बाख्राहरु एक अर्का संग टाँसिएर गुडुल्किएर बसेका थिए; शायद पानीको बाछ्छिटा बाट बच्न वा न्यानोको लागि। माष्टरनीले सबै बाख्रा फुकाइन र खोरमा लगेर हुलिन्। खोरको ढोका बन्द गरेर उनि घर भित्र छिरिन्।

भउते खाना खाएर माथि आफ्नो कोठातिर लागिसकेको रहेछ।

उनलाई घुँडा नराम्रो संग दुखेको जस्तो अनुभव भयो। त्यहिँ अगेनानिर थ्याच्च बसिन्, खिन्न अनुहार बनाइन् र सोच्न थालिन्-

फेरि बेथा बल्झेला जस्तो छ!

बाथको पटके दुखाई सम्झेर आज फेरि एक पटक त्रसित भइन्। यता उता नियालिन् र तेल तताउने भाँडोमा अलिकता तोरिको तेल हालेर अँगेनाको आगो भुङ्ग्रोले फुकेर जगाउन थालिन्। फुक्दाखेरि लगभग मृत प्राय: आगो बाट केवल खरानीहरु उडेर घरभरि छायो। निकैबेरको प्रयासपछि झिनो आगो पार्न सफल भइन र अँगेनामा तेल तताउन थालिन्।

तेल अलिअलि तातेपछि घुँडामा घस्दै सोच्न थालिन्-

यो बर्खा किन लाउछ भन्छु, कउनै बर्खा नि शान्तीसंग नजानिभो प्रभु!

मनमनै बर्खामा आफ्नो बाथले दुख दिने सम्झेर आहत भइन्।

कुन जुनिमा के पाप गरिछु अइले यो दुख भोग्नु पर्यो भन्दै घुँडामा तेल घस्दै गइन्।

 अचानक उनलाई सान्नानीको निर्दोश मुहार याद आयो।

मट्टितेल देको भ नि हुने हो हुन त, बरा त्यो बालखा केटिको के दोश!

उनको मन सहानुभुतीले भरियो।

बिस्टे बुडाले बिचरीलाई आजारात भोकै राखे कि न??

माष्टरनीको मनमा सान्नानी प्रतिको माया उमडिएर आउन थाल्यो।

उनको नजर भातको कसौँडिमा पुग्यो; भउतेले कसौँडिको एकापट्टिको पाटो खाएर सकेको थियो, र उनलाई थाहा थियो बाँकि भात उनलाई र सान्नानीलाई मनग्गे हुन्छ भनेर।

उनि जुरुक्क उठिन्।

ढोकानिर झुन्ड्याएर राखेको छाता झिकिन र बाहिरिइन्।

बिस्टे बुढाको ढोका ढक्ढक्याइन्, ढोका आफैँ घुरुक्क गरेर खुल्यो। उनि भित्र छिरिन्।

निसपट्ट अँध्यारोमा उनले केहि देखिनन्।

सान्नानीss!

उनले बिस्तारै सान्नानीलाई बोलाइन्।

शायद बोलाएको सुनेर हो या निद्रामै हो सान्नानि अस्पटाइन र कोल्टे फेरिन्। माष्टरनिलाई सान्नानी सुतेको ठाउँ थाहा भयो, उनि त्यतै गइन र सान्नानिलाई झकझकाउँदै, बिस्तारै बोलाउँदै बिउँझाउन थालिन्। सान्नानि बिउँझिइन।

सान्नानीss! म माइजु!

उनले आफ्नो परिचय दिइन्। केटाकेटि सान्नानीले माष्टरनीलाई बोलि र गन्धबाट चिनिन् र उठेर पलेँटि कसेर बसिन्!

के खाएर सुत्यौ नानु तिमी?

माष्टरनिले सान्नानीको टाउकोमा हात राख्दै सोधिन्।

सान्नानी केहि बोलिनन्।

भोक लाग्या छ?

माष्टरनीले फेरि प्रश्न गरिन्।

सान्नानीले स्विकारोक्तीमा टाउको हल्लाएको माष्टरनीको हातमा आभाष भयो। नबोलिकन भर्खरको बच्चिले अन्धकार रातमा भोकै बिउँझिएर भोक लागेको जानकारी दिराखेकि थिइन्। माष्टरनीको मन कुँडियो! उनको हात सान्नानीको टाउको बाट तल गालातिर झर्ने क्रममा उनले थाहा पाइन सान्नानी रोइरहेकी थिइन्। उनको मन झनै कुँडियो!

हिँड नानु, हाम्रा घरमा भात खानि अनि आएर सुत्नि!

सान्नानीले बिस्तारै फुटेको स्वरमा भनिन-

हस्!

सान्नानिलाई लिएर माष्टरनी बाहिर आइन्, ढोका ढपक्याइन् र छाता खोलेर सानन्नानीलाई डोर्याउँदै आफ्नो घरतिर लागिन्।

माष्टरनीलाई तल बाटोमा कोहि दौडेको जस्तो आभाष भयो। फर्केर हेरिन्। एकजना मान्छे थुन्चे बोकेर घुम ओढेर दौडँदै थियो। माष्टरनी अलिकता डराइन् सान्नानी आत्तिएर मास्टरनीको खुट्टामा च्याप्पिएर हिँड्न थालिन्।

त्यो मान्छे मकैबारिमा ओझेल भयो।

माष्टरनी सान्नानीलाई डोर्याउँदै घर पुगिन्। भउतेको कोठाको बत्ति बलिराखेको थियो।

भित्र गएर सान्नानीलाई अँगेना निर बस्न लगाइन र भात पस्किदिइन्।

सान्नानी बेला बेलामा माष्टरनीलाई पुलुक्क हेर्दै कपाकप खान थालिन् मानौँ बर्षौँको भोको थिइन्। उनले खाएको देखेर माष्टरनीका आँखा रसाए!

सान्नानीले खाइसकेपछि, उनलाई चुठाइदिइन् र भनिन्-

पर्ख म दूध तताइदिन्छु

उनि चुल्होतिर लागिन् र दूध तताउन थालिन्।

दुध तताएर कचौरामा हालिन् र सान्नानि भएतिर आइन; सान्नानी निदाइसकेकि रहिछ!

बरा! भोकले बिम्झेकि रइछिन्

माष्टरनीले मनमनै भनिन् र सोचिन्-

यो निदाएकी बालखा केटिलाई फेरि क्यार्न झरिमा भिजार लैजानु, यतै सुत्छे आज अब!

उनले सान्नानीलाई बोकिन, र टुकि लिएर आफ्नो कोठामा छिरिन्। खाटमा सान्नानीलाई सुताइन् र टुकि निभाएर उनि संगै टाँसिएर सुतिन्। उनि सान्नानिले सास फेरेको सुन्दै थिइन्; र उनका आँखा ट्वाल्ल माथि दलिन हेर्दै थिए तर कतिबेला उनि निदाइन् उनले पत्तो पाइनन्!!

 

----

Read Full Discussion Thread for this article