Posted by: Birkhe_Maila June 18, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        
 

रिट्ठे आज दिउँसो देखि नै निकै खुसि थियो। झरि परे पनि बेच्न लगेको मकै सबै बिकेको थियो। तर यो भन्दा पनि बढि खुसि बसन्तीले बाटो पारी चियापसल बाट चिहाएरै भए पनि दिनभरिमा कयौँ पटक उसलाई हेरेकोमा भएको थियो। उसलाई थाहा थियो, उसको बारिमा अझै १५ दिन जति हरिया मकै हुनेछन्। सबै समयमा बिकेमा मकै छिप्पिने डर पनि हुने थिएन र यो बर्खालाई मनग्गे पैसा जम्मा पार्न सकिन्थ्यो।

 

बजारबाट वारि तर्दा झमक्क रात परिसकेको थियो। जति राति भए पनि रिट्ठेको अभ्यस्त पाइलाले बाटो पहिल्याउँदै थियो। खालि थुन्चे बोकेर गाउँपट्टि उकालो लागेको करिव एक घन्टा जतिमा रिट्ठे चौतारी पुग्यो। उसले ओढेको घुम नाम मात्रको जस्तो लाग्दथ्यो; उ पूर्णतया: भिजेको थियो।

चौतारीमा पुगेर एकछिन ठिङ्ग उभियो। तल खोलाबाट उकालो लागेपछि यो चौतारीमा पुगेर उकालो सकिन्थ्यो र त्यसपछि गाउँ सुरु हुन्थ्यो। उसले चारैतिर नियाल्यो। झरिको एकोहोरो आवाज  बाहेक रात चकमन्न थियो। उसले कम्मरमा लुकाएर बेरेको पटुका छाम्यो र पैसा अझै त्यहिँ रहेकोमा आश्वस्त्व भयो।

 

आठ-नउ बज्यो होला भर्खर!

मनमनै बोल्यो र अँध्यारोमा तेर्सो बाटो लाग्यो।

अचानक कान्ला माथि मकै बारिमा सररर को आवाज सुनेर रिट्ठेको कान ठाडो भयो।

मकै बारिमा कोहि हिँडेको जस्तो लाग्यो। अँध्यारोमा रिट्ठेको मन आत्तियो।

 

आवाज तिव्र गतिमा नजिक आउँदै थियो। रिट्ठेका पाइला छिटो छिटो अगाडि बढ्न थाले। निसपट्ट अन्धकारमा एकपलको लागि अचानक माथिबाट कोहि उसको ढाडमाथि हाम्फालेको जस्तो भान भयो रिट्ठेलाई; र उ भुइँमा लड्यो। एउटा बलियो ज्यानको मान्छे हतारिएर उठेर बाटो बाटै दौडेर भाग्यो। रिट्ठे सम्हालिएर उठ्यो। मान्छे पर पुगिसकेको थियो उसले चिनेन। उभिएर ढुकढुक गरेको मुटुलाई सम्हाल्न यताउता हेर्यो। कान्ला माथि बारि संगै जोडिएको घरको झ्याल खुल्ला थियो र कोहि झ्याबाट तल मकैबारितिर हेर्दै थियो। रिट्ठेको मन झन आत्तियो। त्यति टाढा टुकिको मधुरो उज्यालोमा पनि झ्यालबाट हेर्ने मान्छेको तालु टल्केको उसलाई डरलाग्दो लाग्यो। रिट्ठे फटाफट पाइला चाल्न थाल्यो। एकपटक फेरि पुलुक्क झ्यालतिर हेर्यो। झ्याल बन्द भैसकेछ।

 

रिट्ठेले फेरि पटुका छाम्यो। पैसा त्यहिँ रहेछ। थुन्चे बोक्यो र घुम टाउकामा राखेर बाटो लाग्यो।

उसले महशुस गर्यो उसलाई यति डर कहिले पनि लागेको थिएन। अलि अगाडि आएपछि ऊ अलि सम्हालियो र सोच्न थाल्यो-

ज्यानमाराको बिगबिगि छ भन्छन, ज्यानमारा पो थ्यो कि न?

काँम्दै बर्बरायो रिट्ठे।

ह्या के खार ज्यानमारा हुनु, ज्यानमारा भा भ मलाई तेतिबेलै ठुनुक्क पारिहाल्थो नि!

आफैँले आफ्नो चित्त बुझायो।

एकैछिनमा केहि सम्झेको जस्तो गरेर फेरि बर्बरायो-

साँच्चि तो घर त धोबिनिको पसलघर पो हो त ए! तो ज्यानमारा क्यार्न तेताटि भाग्या होला फेरि? ह्या ज्यानमारा हैन तो, ज्यानमारा भा भ तेतिबेलै काटिहाल्थो नि मलाई

 

रिट्ठे, मनमनै बोल्दै हिँड्दै थियो।

अलि अगाडि पुगेपछि फेरि उसको मन डरले ढक्क भएर आयो!

बिस्टे बुढाको घरबाट माथितिरको बाटोमा कोहि सानो १०-११ बर्षको बच्चा डोर्याएर छाता ओढ्दै हिँड्दै थियो। निसपट्ट अँध्यारो थियो र त्यसमाथि बर्षिरहेको झरी। छाताले अनुहार छोपिएता पनि रिट्ठेले कुनै आइमाई हो भन्ने चाल पायो। सानि बच्चि खुरुखुरु हिँड्दै थिइन् छाता ओढ्ने आइमाईसित!

रिट्ठेको अघिनै उफ्रेको मुटु ठाउँ छोड्ला जसरि धड्किन थाल्यो। उसले सुनेको थियो निसपट्ट राति किचकन्निहरु बच्चा डोर्याएर हिँड्छन भनेर। रिट्ठेका पाइला लगभग दौडिन थाले। उसलाई दौडिने मन भइरहेको थियो तर दौडँदा आवाज सुनिन्छ कि भनेर डरायो। जति सक्दो छिटो ऊ घरमा आफ्नो न्यानो ओछ्यानमा निदाउन चाहन्थ्यो। गाउँ आइपुगे पनि उसलाई घर सम्मको यात्रा एक युगको भान भयो। बाटो माथिको मकै बारिले उ छेकियो, र केहि हलुका अनुभव गर्यो। अझै देखिन्छन कि भनेर रिट्ठेले माथि हेर्यो, बारिका मकैका बोटहरु सबै लडेका थिए! उसको मन फेरि ढक्क भएर आयो। उसले सुनेको थियो राति किचकन्निहरु औँलामा बत्ति बालेर नाच्छन रे! अगि देखेको बच्चा डोर्याउने किचकन्नि नाचेर मकैका बोटहरु भाँचेको अनुमान गर्दै रिट्ठे भएभरको शक्ती लगाएर दौडन थाल्यो। उसलाई बसन्ति समेत याद भएन यतिबेला!

किचकन्नि देखियो दैव आज!

फेरि बर्बराऊन थाल्यो!

ह्या किचकन्नि हैन तो, किचकन्नि भ अइ नै मेरो रगत चुसि हाल्थि नि!....हैन किचकन्नि नै हो, नत्र यो झरिमा यति राति बच्चा किन डोर्याउन पर्या छ र कसैलाई?

बर्बराउँदै, ठाउँ ठाउँमा हिलोमा चिप्लँदै आखिर ऊ घरनिर पुग्यो। हर्केको घर तिर नजर घुमायो, अझै बत्ति बलिराखेको रहेछ। उसको मनबाट डर हलुका भएर आयो। उ हर्केको घरको ढोकातिर लाग्यो र थुन्चे र घुम आँगनमा फालेर ढोका ढकढकाउन थाल्यो! उसलाई पटुकाको पैसाको याद आएन; उसलाई कुनै सुरक्षित ठाउँमा केहिबेर आँखा चिम्लेर ढुक्क संग सुत्नु  थियो!

 

----

बाँकि पछि-

Read Full Discussion Thread for this article