रात पर्ने बेला त भएको थिएन तर झरिले गर्दा झमक्कै भैसकेको थियो। भउते पलंगमा बसेर केहि लेख्दै थियो शायद गजल वा कविता। मैनटोलको प्रकाशले कोठा झलमल्ल थियो। आज बिहानै देखि झरि परेकोले एक त भउतेको मन कता कता उडेको जस्तो भैराखेको थियो अर्को, अगि सम्म धोबिनीकहाँ गएर अलिकता चढाएको रक्सीको हल्का मात पनि बाँकि थियो। गजल नै लेख्ने किसिमको मात चाहिँ धोबिनीकि बहिनी जुरेलीले गिलाँसमा पटक पटक रक्सी भरिदिँदा लागेको थियो।
“ भउते बाबुsss!”
भाउजुको स्वरले भउते लेख्दा लेख्दै अड्कियो। एक पटक मुख नमिठो बनायो र बोल्यो-
“ हउर भाउजु!”
माष्टरनी तलबाट नै बोलिन-
“खाना पस्कौँ कि भन्छु र!”
सितन बिनाको रक्सि खाएको भउतेलाई ‘खाना’ शब्द र तल पाकेको खानेकुराको गन्धले भोकको तिव्र आभाष भयो।
“ हुन्छ भाउजु पस्कनोस के रे, म ओर्लिएँ”
लेख्दै गरेको कापि बन्द गर्यो, एक पटक जुरेली मस्केकी सम्झेर मुस्कुरायो र तल झर्यो।
चुल्होमा माष्टरनी भात पस्कँदै थिइन्। भउते पुजा चौकितिर लाग्यो धोती समात्यो र फेरि माथि उक्लियो। धोति फेरेर तल झर्यो र चुल्होमा भाउजु भन्दा पर बस्यो;शायद रक्सीको गन्ध भाउजुले थाहा नपाऊन भन्नाका लागि।
“कत्तिको भोक लाया छ र?”
माष्टरनीले पुलुक्क देवरलाई हेर्दै सोधिन्।
“ एउटा उपद्रो भोक लाग्या छ भाउजु, आज त भातको पइरो नै लडाम्ने हुम्” मुन्टो बङ्ग्याएर मुस्कुराउँदै जवाफ दियो।
माष्टरनीले खाना अगाडि सारिदिइन्। भउतेले थाल तान्यो र औसनी हाल्दै सोध्यो-
“ साँच्चि अगि म आम्दा हाम्रि भान्जि यताटि हिन्या देख्या थेँ क्यार्न आइकि रेछिन?”
“मट्टितेल माग्न नि अरु के हुन्थ्यो र”
माष्टरनीले घ्यूको कचौरा भउतेतिर सारिदिँदै बोलिन्।
भउतेले केहि सोचेको जस्तो गर्यो र सोध्यो-
“ अनि कति लइन् त मट्टितेल?”
“ छैन भन्दिएँ मैले, अस्तिन देखिको लग्या पैँचो कइलेइ तिर्ने हैनन् कति दिनु!”
माष्टरनि भावबिहिन भएर बोलिन्।
भउते चुप लाग्यो केहि बोलेन। चुपचाप निहुरिएर भात खान थाल्यो। माष्टरनी देवरलाई हेर्दै थिइन र केहि बोल्न खोज्दै थिइन्।
“बाबु!”
माष्टरनीले स्तब्धता भङ्ग गरिन्।
भउतेले केहि नबोलि पुलुक्क माष्टरनी तिर हेर्यो।
“एक चोटि हिँड्नुस न बाबु मैले अस्ति भन्या ठाममा, जाँदैमा के बिग्रिहाल्छ र?”
“कुन ठाममा भन्नुभो भाउजु?” भउतेले बुझेर पनि नबुझे जसरि सोध्यो र मुखमा गाँस हाल्यो।
“त्यहि मेरो माइलाबाउकाँ, साह्रै उत्तम छे बाबु मेरि माइलाबाउकि कान्छि छोरि! तपाइँ हेर्नोस मात्रै, चित्त नबुझे नगर्ने त छँदैछ नि!”
भउतेले अचानक जुरेली सम्झियो, एक पलको लागि टोलायो र बोल्यो-
“ जानै हुँदैन भन्या त कहाँ हो रा भाउजु मैले पनि, तै पनि बे गर्ने सुरमा नभा’ मुन्छे म क्यार्न हेर्नु अर्काकि छोरि भनेर नि!”
“ केहि हुँदैन बाबु, भाउजुको माइति जाने नि भेटघाट गर्न भनेर भाउजुसित के भयो र?”
“ हुन्छ जाम्ला त नि उसोभए” भउतेले कुरा सकाउने प्रयासमा भन्यो र छिटो छिटो खाना खान थाल्यो।
माष्टरनीको मुहारमा खुसिको लहर देखा पर्यो।
“ बाबु खाना खाँदै गर्नुस म बाख्रा सारेर आम्छु” यति भन्दै माष्टरनी उठेर बाहिर लागिन्।
भउते चुपचाप खाना खान थाल्यो र अन्तिममा एक अम्खोरा पानी सिनित्त पार्यो, घ्यूको कचौरा छुँदै छोएन।
खाना खाएर माथि उक्लियो, कोठामा गयो र धोति नफुकाली त्यत्तिकै लेख्न बस्यो।
बाहिर झरि परिरहेकै थियो, भ्यागुताहरु कराएको आवाज दिउँसो भन्दा बढि थियो। निकै बेर केहि लेख्दै बितायो। लेख्दा लेख्दै कुन्नि के सम्झियो र जुरुक्क उठ्यो। घडि हेर्यो, रातिको ९ बजेको थियो। झ्याल खोल्यो। पानीको बाछ्छिटाले अगाडिको भाग सबै भिजायो। तलतिर हेर्यो, बिस्टे बुढाको घर अन्धकारमा डुबेको थियो! उसले भान्जिले भउते मामा भन्दै पछ्छ्याएको सम्झियो।
झ्याल लगायो र पाइन्ट लगायो अनि बिस्तारै तल ओर्लियो। भाउजुको कोठाको बत्ति निभिसकेको थियो।
“कता राखिछिन् कुन्नि?”
मनमनै बोल्दै भान्साको टुकि बालेर यताउता हेर्न थाल्यो।
मट्टितेलको जर्किन कुनापट्टि थियो र चामलको बोरा अलि पर थियो। फेरि माथि गयो र एउटा पुरानो कछाड लिएर आयो। बोराबाट केहि चामल कछाडमा पोको पार्यो, मट्टितेलको जर्किन समात्यो र ढोका खोलेर पानीमै बाहिरियो र ढोका ढप्क्यायो! पानि मुसलधार पर्दै थियो! भ्यागुताहरु कराएको आवाज बाहिर बढि थियो!
---