Posted by: Birkhe_Maila June 18, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

खै कुन्नि के भयो सपनामा हो कि बिपनामा, बिस्टे बुढा झस्केर बिउँझिए!झरि अनवरत रुपमा परि नै रहेको थियो।वरिपरि,चुक घोप्ट्याएको जस्तो अन्धकार थियो।गरिबीको पराकाष्टामा पुगेर रिन तिर्न त परै जावस छाक समेत टुट्न थालेपछि अत्यन्तै दुखि भएका बुढा,सानि नातिनिलाई एक छाक तातो सम्म खुवाउन नसकेकोले मर्माहत नै भएका थिए। आँखा अगाडि गोरुले आफ्नो भएका केहि मकैका बोट पनि सबै फाँडिदिएकोले बुढालाई रिस र पिडा संगसंगै परेको थियो, तर सराप्दै गोरु धपाउन अघि बढ्दा हर्केलाई देखेपछि बुढा दुबै पिउन बाध्य भएका थिए!भोकि नातिनीलाई फकाइफुलाई पारेर बल्ल बल्ल सुताएपछि बुढा एकछिन यत्तिकै ढल्केका थिए तर तुरन्तै बुढो शरीर र दिनभरिको थकाइले निदाएछन्।

"दुए पहर बित्यो जस्तो छ!"

रातको निस्तब्धता नियाल्दै बुढाले अनुमान लगाए र आफ्नो निद्रा अचानक के ले बिथोल्यो भन्दै सोच्न थाले।

"भान्जिssss?! ए भान्जिsss?!"
बाहिर कोहि बोलेको सुनेर बुढा चनाखो भए।
" को हँ sss?"
बुढाले प्रतिउत्तर दिए।
"ए म भउते हउर! ढोका खोल्नुस त!"
बुढा अचम्ममा परे।
" क्यार्न अन्मरियो यो भउते आधारातमा?"
ओठ चलाउँदै बुडा छामछाम छुमछुम पार्दै ढोकामा पुगे।
"पख् पख् आम्दै छु।"
फुस्कन लागेको कछाड समेट्दै बुढाले ढोका ताने।ढोका सजिलै संग खुल्यो।
"खापा त मक्क्या थ्यो थ्यो चुकुल नि बिग्रेछ!"
 मनमनै  भन्दै बुढाले ढोका खोले।
"चुहुन पनि कति सक्या हो तेसको झोल!"
भउते  पानी चुहाउँदै  भित्र छिर्यो।
" के बित्याँस परो तेस्तो र आधारातमा एता आएउ ए भउते, मास्टरनीलाई आज नि च्याप्यो बेथाले??"
बुढाले ढोका ढप्काउँदै भउतेलाई प्रश्न गरे।
" के को आधारात हुनु, भर्खर नउ बज्यो। तपाइँले के गर्या बुडा एस्तो? ति कलिली भान्जीको यो बिजोग गर्ने हो? पाप लाग्ला बुडा!"
अँध्यारोमा हेर्ने प्रयासमा आँखा ट्वाल्ल गर्दै भउतेले भन्यो।
" हन के भन्छ यो भउते? क्यारेँ र मइँले नातिनीलाई?"
बुढाले अचम्भित हुँदै प्रश्न गरे।
" यो दर्के झरि छ,सपै घर नै अँध्यारो बना'र। केइ खानुभो पनि कि तेसै पसारिनुभा' थ्यो?"
भउतेको प्रेमपूर्ण रिसाहा प्रश्नले बुढा अलिकता पग्लिए शायद, र भने-
" के खानु बाबु,मकै त छ घराँ, तेइ खाम भन्दा नि मइतेल छइन,नातिनीलाई तिम्रा घराँ माग्न पठा' थेँ तिम्राँ नि सिद्ध्या रेछ, क्यार्नु। मलाई त एउटा दोटा छाक भोकै भ'र केइ हुन्न यो बाँसको मुना जस्ति नातिनी सम्झेर भक्कानो छुट्छ!"
बुढा द्रवित भएको भउतेले अँध्यारोमा नदेखे पनि महशुस गर्यो।
"ल यो दुई मुठि चामल र मट्टितेल ल्याइद्या छु,टुकि कता छ? पइला टुकि सल्काम त्याँसि भात पकाउनुस र नातिनीलाई ख्वाउनुस!" चामलको पोको र जर्किन भुइँमा राख्दै भउतेले भन्यो।
" किन पर्थ्यो र भउते चामल ल्याम्न, मकै छँदैथ्यो घराँ!"
बुढा भित्र रहेको स्वाभिमान वाक्य बनेर बाहिर निस्कियो।
भउतेले खल्तिबाट सलाई झिक्यो र कोर्यो। ओसिलो सलाइ परेन। फेरि अर्को सलाई कोर्यो त्यो पनि परेन। अर्को सलाई झुर्रर गर्दै बल्यो।
" ल जानुस छिटो टुकि ल्याउनुस, सलाई निभ्छ अइले फेरि!"
भउतेले बुढालाई हेर्दै भन्यो।
भउतेलाई धिपधिपे उज्यालोमा बिस्टे बुढा उमेर भन्दा निकै बुढो लाग्यो।
बुढा छामछाम छुमछुम गर्दै भित्तातिर गए र भित्तामा छाम्दै टुकि भेटेर फेरि ढोका नजिक आए।
सलाई निभ्यो।
भउतेले जर्किन खोलेर टुकि मा मट्टितेल हाल्न थाल्यो। अँध्यारोले होला टुकिमा भन्दा बढि मट्टितेल बाहिर पोखियो र मट्टितेलको गन्ध घरभरि छायो। भउतेले खल्तिबाट फेरि सलाई झिक्यो। केहि सलाईका काँटि परेनन् र त्यत्तिकै खेर गयो।
झर्रर आवाजका साथ एउटा सलाई पर्यो। भउतेले टुकि सल्कायो।
घर उज्यालो भयो।
"भान्जिssss!"
उज्यालो हुना साथ भउतेले सान्नानीलाई बोलायो र यताउता हेर्यो।
बुढाले कुनामा ओछ्यानतिर हेरे।
सान्नानीको ओढ्ने देखियो, ओछ्यान देखियो। बुढाले सम्पूर्ण कोठा हतार हतार नियाले।
सान्नानी घरमा थिइनन्!!

Read Full Discussion Thread for this article