अन्तिम गिलाँस सिनित्त पारेर पुन्टे बुडाले एक पटक कागती निचोरेको जस्तो अनुहार बनाए र स्वाट्ट मुख पुछे। अगि भर्खर सितन खाँदा हातमा लागेको मसलाको मानौ उनलाई कुनै मतलब छैन। मसलाले बुढाको ओठ र च्यापु पँहेलो बनायो। एक पटक जिउ तन्काए र पुलुक्क धोबिनीलाई हेर्दै ओठमा हल्का छिल्लिएको हाँसो ल्याउँदै भने-
“ झरि त दर्केको दर्केइ छ के रे, फेरि निसप्ट्ट अँध्यारो छ घर क्यारि पुग्ने होला?”
धोबिनीले सितनको थाल र गिलाँस टिप्दै बोलिन्-
“ घरमा बुढी दैलो कुर्दै होलिन बुढा जसरि भ’ नि जान पर्ला नि!”
“ गाम थर्काऊने गरेर घुर्दै होलि मारानि, के को दैलो कुर्नु”
बुढाले नमिठो मुख बनाएर रुखो स्वरमा भने र बसेको गुन्द्रिमा लम्पसार परे। धोबिनीले बुढालाई हेर्दै मुखमा फेरि मन्द हाँसो ल्याइन र भनिन्-
“ हइन भन्न मन ला’ कुरो प्याच्चै भन्न नि सक्दैनौ बुडा तिमी? याइँ सुत्न मन लायो भनन आजा रात!”
पुन्टे बुडा तालु कन्याउँदै धोबिनितिर हेरेर हाँसे। गुन्द्रिबाट परालको त्यान्द्रो उखेलेर निकाले र त्यसले दाँत कोट्ट्याउँदै बोले-
“ क्यार्नु अइ दिउँसो, म आम्नु र भउते बजिया जानु संगसंगै भयो, आजा रात घर पुइएन भने त बित्याँस पर्छ!”
“यस्ता डरछेरुवालाई किन नानाभाँति मन लाया हो फेरि?”
धोबिनीले पुन्टे बुडालाई कटाक्ष गरिन्।
“ हेर् साइँली यो ज्यानलाई डर भन्या लाग्दैन, क्यार्नु; गामसमाजले गर्दा मात्रै हो, अलिब्यार पर्खि के रे, तँलाई याँबाट उछिट्ट्यार’ बटौलीमा रानि बना’र राखिन भने मेरो नाउँ पुन्टे हैन!”
पुन्टे बुडालाई शायद धोबिनीले डरछेरुवा भनेकोले आफ्नो पौरुषत्वमा प्रहार भएको महसुश भयो।
“ नचिन्या बराजु हैनउ बुडा तिमी, यस्ता बात मार्न थाल्या नि दुइ बर्ख भयो, तिम्लाई मेरो मया पटक्कै छइन्, मया हुनेले त मया देखाम्छन केकेजाति कोशेली ल्यादिन्छन्, स्वास्निसित खटपट भ’ बेलाँ म चाइएर आम्ने मात्रै हौ तिमी!” धोबिनिले रक्सिको जर्किनमा खोया लगाउँदै भनिन्।
“ हेर् साइँली तेस्तो होइन, कुरा बुज न लाटी, अलिब्यार पर्खि अनि था’ पाउलिस मलाई तेरो मया कति लाग्छ भन्नि!” पुन्टे बुडा गुन्द्रि बाट उठ्दै धोबिनितिर आउँदै बोले।
“यता आउन पर्दैन बुडा, घरमा स्वास्निसित जाऊ!”
धोबिनी अलि पर सर्दै बोलिन्।
पुन्टे बुडाले धोबिनीको हात समाते।
“खुरुक्क घर गइहाल बुडा, अइले जुरेली उठ्छे फेरि!”
धोबिनीले बुढाको हात पन्छाउँदै भनिन्।
“तेल्लाई सपै था’ छ क्यार्न डराम्ने हो? तरुनि भइ है तेरि बइनि?” पुन्टे बुडाको मुखमा फेरि छिल्लिएको हाँसो आयो।
अचानक धोबिनीको अनुहारमा रिसका रेखाहरु देखिन थाले।
“मेरी एउटि भा कलीली बैनिलाई आँखा लायौ भने बुडा, तिम्रा खलकभरि तिम्रो नाक काटिन भने म सन्ते धोबीको छोरि हईन!”
धोबिनीको रिस भरिएको वाक्य सुनेर बुढा केहि सभ्य भए!
धोबिनि गुन्द्रिमा बसिन् र फेरि बोल्न थालिन्-
“मलाई त भउते बाउ मन पर्छ, कुबेला नि आउँदैनन्, आए नि जुरेलीलाई कोसेलि ल्याइदिन्छन्, सारै मया मान्छन जुरेलीको!”
“त्यो बजिया बच्चो छ अझै” पुन्टे बुढा पनि गुन्द्रिमा धोबिनी संगै बस्दै बोले।
“ जुरेली पनि बच्चै छे नि, भउते बाउ बे गर्छु भन्छन जुरेलीसित ज जल्ले जे भने नि बे गर्नि रे, आफ्नो बना’र राख्ने मर्दको चाला नै अर्कै हुन्छ, सपै तिमी जस्तो असत्ति काँ हुन्छन?” हात नचाउँदै बोलिन् धोबिनी।
पुन्टे बुढा धोबिनीलाई हेर्दै बोलेको सुन्दै थिए। बाहिर झरि परेको एकनासको आवाज आइरहेको थियो। बुढालाई अहिले घर जानु नै ठिक लाग्न थाल्यो। भउतेसित जुरेली मस्कने यथार्थ संग पुन्टे बुढा अपरिचित थिएनन् र भउतेको मनमा जुरेली प्रति अंकुराएको प्रणयभाव पनि बुढा राम्रो सित बुझ्दथे।
“ लौ त साइँली, म लाएँ अब घरतिर, मा’रानीले आउलो नला’ भ भित्र जान पाइँछ ला’ भ पिँडिको बास हुन्छ यो झरिमा!”
यति भन्दै बुढा उठे र धोबिनीतिर हेरे। धोबिनीको मुहारमा हल्का रिस र हल्का उदासी प्रस्ट देखिन्थ्यो। धोबिनीले बुढातिर हेरिनन्। बुढा ढोकासंगै रहेको माथि कोठामा जाने भर्याङनिर पुगे। माथिबाट कोहि लोग्ने मान्छे बोलेको जस्तो निकै मधुरो र अष्पश्ट आवाज आइरहेको थियो। बुढा एकछिन टक्क अडिए। बुढा अडिएको देखेर धोबिनीको अनुहारमा उत्सुकताको भाव आयो। बुढाले इशाराले धोबिनीलाई बोलाए। धोबिनि बुढा भएतिर आइन्। बुढाले साउति मार्ने पाराले माथि कोहि बोलेको संकेत दिए, धोबिनीको कान ठाडो भयो।
“भउते बजिया नि नपत्याउँदो रेछ”
बुढाले मनमनै भने र धोबिनीलाई चुप लाग्ने इशारा गर्दै बिनाआवाज भर्याङ चढ्न थाले, धोबिनि पनि बेआवाज पछि पछि भर्याङ चढ्न थालिन्।
माथि कोठा अगाडि पुगेर दुबैजना टक्क अडिए।
कोठा भित्र जुरेली र कुनै लोग्नेमान्छे बोलेको त्यति स्पस्ट थिएन। धोबिनीको अनुहारमा आत्तिएको भाव प्रष्ट देखिन्थ्यो।
बुढाले इशारा गरे, धोबिनिले आवाज लगाइन-
“जुरेलीsss ओइ जुरेलीsss सुतेकि छैनस??”
भित्रबाट गुनगुनको आवाज बन्द भयो!
“ ढोका खोल त झट्टै?”
अलि कर्कश आवाजमा धोबिनी बोलिन्।
भित्र खड्याकखुडुकको आवाज आयो र एकछिनमा केहि नबोली जुरेलीले ढोका खोलिन्। बुढा र धोबिनी हतारिँदै भित्र पसे। झ्याल ह्वाङ्ग खुल्ला थियो जसले गर्दा बाहिर मकैबारिमा परेको पानीको आवाज भयङ्कर सुनिनथ्यो। धोबिनीले शंकाको दृष्टीले जुरेलीलाई हेर्न थालिन्; बुढा लगभग दौडेर झ्यालतिर गए।
बाहिर झरि परेको र अन्धकार भए पनि मकैबारि तिर हतारिएर दौडँदै छिरेको पर्वतेलाई बुढाले प्रष्ट संग चिने!!
(लोल! पालो आउला है गाम्ले हो होश गर्नु)