Posted by: fucheketo June 7, 2008
आत्मा उज्यालो माग्दै थियो ।
Login in to Rate this Post:     0       ?        

 

 

"कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।" गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको हेर्न भ्याईसकेछ ।

"तँ बुझ्दैनस्।"म भने गेट वारि थिएँ ,मैले पर्स गोजिमा नैँ फर्काउँदै भने ।

"हो । साँचो बोलिस् ,म त माया प्रेम बुझ्दिन ,म मात्र केटीहरु राम्रा हुन्छन्  तर हेर्दै जाँदा भोगचलन गर्दै जाँदा खीइदैँ जान्छन ,नराम्रा हुँदै जान्छन् ,  त्यसैले ति फेरिरहनुपर्ने खालका जन्तु हुन भन्ने बुझ्छु ।बुझीस ?" खिस्स हाँस्यो हर्के ,  दिउँसो भएको भए उसको पहेँलो दाँत देखिन्थ्यो होला तर रातको निष्पट्ट अँध्यारोमा उ हाँस्न स्वतन्त्र थियो ।हाँस्नलाई हुन त उसलाई दिन र रातको मतलब थीएन । हँसिलो थियो मोरो । लाईट हाउस बाट घुमिरहेको प्रकाश घरि घरि हामीलाई पनि गस्ति गर्दै थियो ।

आज मङ्गलबारको राती ,  उ र म ड्युटिमा सँगै परिने एक मात्र रात । बाह्र देखी चारको समय रात पुर्ण जवान भए देखी बुधबार बिहानीको जन्मसम्म हामी सँगै हुन्थ्यौँ प्रत्येक हफ्ता ,शायद छिप्पीएको रातले होला सँधै जसो कुरा केटीहरुका नै हुन्थे म त ज्यादा बोल्न मन पराउने मान्छे होइन  उ नै आफ्ना सफलताका कथा हरु सुनाउँथ्यो । तर सबैलाई आफ्नै कथा ब्यथा बोकेको नै भए पनि प्यारो लाग्छ , आफ्नो लाग्छ । मलाई त मेरै बिफल कथा प्यारो थियो । आफ्नो पर्स भित्र सँगालेको बिफल कथा ।तस्विरमा मुस्काइरहेकी मेरो बिफल कथा ।

 सँधै जस्तै उसलाई शायद आफ्ना सफल कथाहरु सुनाउन मात्र बहाना चाहिएको थियो ,अनि मैले आफ्नो पर्स खोलेर एक छिन एक टक अड्किएर त्यो बहाना दिएँछु उसलाई ।हुनसक्छ उ शुभचिन्तक हुनाले चाहन्थ्यो म ति कुरा हरु बिर्सुँ । हुन त म पनि चाहन्थेँ म ति कुराहरु बिर्सुँ तर वश मा थिएन मेरो चाहना ।

"अनि आज के सुनाउँछस् त?"मैले आफ्नो कुहिना थाक थाक गरी थुपारेका , हाम्रो सुरक्छ्या का लागि राखेका बालुवाका पहेँला प्लाष्टिक बोरामा राख्दै भनेँ । कहिले काहिँ सोच्छु कस्तो दुखी जागिर ,क्याम्फोलाईज भएर कहिले यता र उता धस्रिदैँ हिनेको छ ,कहिले डोरिमा झुण्डिएर पुरुषार्थ देखाउनु पर्छ अनि समाजको सबै भन्दा घ्रिणित पुरुष हुनु पर्छ कहिले काहिँ ।फेरि सोच्छु सबैको जीवन यस्तै हो तँ पनि बाँच्दै जा कहिले न कहिले त तैँले सोचे जस्तै दिन आउला ।

"ल आज तँलाई मैले संसारमै भेटेकी सबैभन्दा च्वाँक मैयाँ को कथा सुनाउँछु ।"

उ उत्साहि हुँदै भन्दै थियो । मैले हेरे उसको अनुहार मा चमक आइसकेको थियो सँधै जस्तै । म उसका कुरा हरु पत्याउँछु पनि किनकी छोटो समयमैँ पनि मैले यहाँ का उसका चर्तिकला देखीसकेको छु ।मैले गएको मङ्गलबार सम्झेँ उ यसरि नै उत्साहि हुँदै त्यतिखेरकी संसारकी सबै भन्दा च्वाँक मैयाँ को कथा सुनाउँदै थियो मलाई ।उसको पोष्टिङ्ग दाङ्ग हुँदाको कथा थीयो शायद त्यो ।  मलाई थाहा छैन च्वाँक को परिभाषा के हो ?उसको च्वाँक शब्द भने हफ्तै पिछे परिभाषा बदल्थ्यो । यो एउटा सौन्दर्य प्रतियोगिता जस्तै थियो मेरो बुझाईमा ।  जस्मा प्रतिस्पर्धि हरु मध्ये हफ्तै पिछे नयाँ बिजयी घोषित हुन्थे ।

"सुना न त ।"मैले उसको कथा सुन्ने निर्णय गर्दै भनेँ ।नसुनि सुखै थिएन। तर ठिकै छ , रातको यो प्रहरमा प्रणयका कुरा हरु रमाइलै हुन्छन् उसको ब्याख्याको शैलि  रमाइलो नभए पनि ।महेन्द्र राजमार्ग मा एउटा गाडी पश्चिम तिर बाट हुइँकिदै काँकरभिट्टा तिर लाग्यो ।काठमाण्डौ बाट आएको डे बस होला ।  आज बाटोमा ढिलो भएछ ।सरकार ले चेकिङ्ग त छोडिसकेको छ कतै बाटोमा बन्द थियो होला मैले मनमनैँ सोचेँ ।

"यो त्यति खेर को कुरा हो जतिखेर म सल्लेरि ब्यारेक मा थिएँ ।"

गाडिको आवाजमाँ पनि उसले मेरा कुरा सुनेछ ।

"धनकुटा ? २ बर्ष अघी ?"हुन त त्यो मलाई थाहा थियो ।म निश्चित हुनको लागि उ सँग सोधेको पनि होइन । त्यो त म तेरो गफ दत्त चित्त भएर सुन्दै छु भनेर उसलाई बुझाउने एउटा अप्रतक्छ्य माध्यम थियो ।मान्छे साँच्चै नै ढोङ्गि हुन्छ ।कहिल्यै आफ्नो आत्मा अनुसार चल्दैन । उसका हरेक कुराहरु अरुलाई देखाउनलाई गरिएका हुन्छन् ।फगत काँचुलि देखाउँछ । किनकि भित्रबाट त उ मैलो हुन्छ ,कुरुप हुन्छ । अनि त्यो कुराको उसलाई ग्यान पनि हुन्छ । थोरै फरक अवश्य हुँला तर म पक्कै पनि अपवाद थिइन ।

क्रमश:

 

 

Read Full Discussion Thread for this article