Posted by: harikancha May 31, 2008
नारायणहिटीमा भोज http://sajha.com/sajha/chat/smileys/m-bloos.gif
Login in to Rate this Post:     0       ?        

राष्ट्रपति र नयाँ सरकारको हैन, सात दलको आजको बैठकमा कुरा भएछ- नारायणहिटीमा भोज गर्ने बारे। राजनीतिक असहमतिका कुरा यति छन् कि भनी साध्य छैन। त्यसमा कुरा मिल्न बाँकी नै छ। हतारमा संविधान संशोधन गरिसकेका कारण अब प्रधानमन्त्रीले राजीनामा दिने ठाउँ नै छैन। संशोधित संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा दिनुपर्नेछ, तर राष्ट्रपति अहिलेसम्म निर्वाचित भइसकेको अवस्था नै छैन। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रपति निर्वाचन हुने बाटो नखुल्ने अनि राष्ट्रपति निर्वाचित नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिने ठाउँ नै नहुने स्थिति आइपरेको छ।

यो सब समस्यालाई थाती राखेर दलहरुको बैठकले आज निर्णय गरेछन्- नारायणहिटीमा आयोजना गर्ने भोजको विषयमा।

हजुर, भोज। भूतपूर्व राजा ज्ञानेन्द्रले दरबार छाडेर गएपछि उनको दरबारमा दलहरुले राज्यको खर्चमा भोज गर्ने रे। भोजमा सर्वसाधारण नागरिक थोरै जान पाउँछन्, उनीहरु आफै खाने होलान्। भूतपूर्व राजाले दरबार छाडेको सन्देश देशभर पुर्‍याउन भोज गर्न लागेको भन्ने तर्क त्यति चित्तबुझ्दो लागेन। त्यसो गर्न भोज नै गर्नुपर्छ भन्ने के छ र। एउटा मक्किसकेको संस्था जनदबाबका कारण ढल्यो। सामान्य नागरिक बनिसकेका व्यक्ति उसको हक नभएको दरबार छाडेर आफ्नो वासस्थानतिर लाग्यो। अब यसमा के त्यस्तो खुसियाली मनाउनु पर्ने छ र ?

विद्यार्थीहरुले पुस्तक पाएका छैनन्। त्यसैले स्कूल बन्द गर्नुपरेको छ। पेट्रोल पम्पमा सवारी साधनहरुको कहालिलाग्दो लाइन छ। शान्ति सुरक्षाको स्थिति बिग्रँदो छ। कैलालीमा सुरक्षा नपाएर त्यहाँबाट प्रकाशित हुने पत्रपत्रिका बन्द गर्ने निर्णय त्यहाँका प्रकाशक/सम्पादकहरुले गरेका छन्। अनि नेताहरु चाहिँ नारायणहिटीमा भोज खाने ?

दरबारको सम्पतिको लेखाजोखा गर्न बनेको समितिले काम गरिरहेको भनिएको छ। समितिले त्यहाँ रहेका ऐतिहासिक दस्तावेज के कस्तो हालतमा भेट्टाए, त्यो भने तत्काल सार्वजनिक गरिहाल्नु पर्छ। किनभने त्यो राष्ट्रको सम्पति हो।

दलहरुको बैठकले नारायणहिटी र राजपरिवारको सुरक्षामा रहेको ठूलो संख्याको सेनालाई कटौति गर्ने निर्णय पनि गरेछ, जुन समय सापेक्ष हो। भूतपूर्व राजा ज्ञानेन्द्रले शान्तिका साथ दरबार छाड्न र सामान्य नागरिक भएर बस्न राजी भएको खबर पनि आएको छ, जुन स्वागतयोग्य कुरा हो।
http://www.mysansar.com/?p=2706#more-2706
.
Read Full Discussion Thread for this article