Posted by: CaMoFLaGeD May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

लोल! दिपिकाले बिहान 'हितेको कथा सुन्ने!' भनेपछि लेख्न बसेको यो कथा, यहाँ काममा फुर्सद नभएर बल्ल बल्ल लेखिसकेँ। हुन त त्यहि आधा घन्टा जत्ति लाग्नुपर्ने यो लेख्न, आफुँलाई त्यहि आधा घन्टा समय मिलाउन नसकेर कत्रो बिजोग! ल यो चाँहि अस्ति नै कस्ले दिपिकालाई "दिपु" भनेको देखेर मलाई याद भएको मेरो साथीको कथा है त!

 

कुरो त्यो बेलाको हो जब हामी पुराना साथीहरु भर्खर पढाई भर्खर सकिएर जागिर खोज्ने क्रममा थियौँ। भन्नाले हामी संग फुर्सदै फुर्सद। मेरा एक दुइजना पुराना साथीहरु एउटा फ्लाट लिएर बस्थे। हामीहरु प्राय जसो साथीहरुको बसाई त्यहि हुन्थ्यो दिनभरि जस्तो! कहिले काँहि रातिपनि त्यत्तै बसिन्थ्यो। मेरो एकजना साथी दिपेन, जो त्यहि फ्लाटमा बस्थ्यो, खुब चकलेटी! आइ मिन एकदम क्युट! अनि उस्लाई मनपराउने केटीहरुको लाम लाग्थ्यो। फोनको घन्टी बज्यो कि उ दौडेर जानुपर्ने उठाउन किन भने लगभग ९० प्रतिशत फोन उसैलाई आएको हुन्थ्यो। प्राय जसो फोनमा हुने कुराकानीहरुमा चाँहि,

दिपेन: "हेल्लो!"

उतापटि: "दिपु हो?"

दिपेन: "अँ बोल्दै छु! के छ?"

अनि त्यसपछि कर्डलेस लिएर उ उस्को कोठामा पस्थ्यो। अनि हामी लिविङ रुममा बस्यो अनि उस्को फोन कहिले सकिएला भनेर पर्खियो। उस्को फोन सकिएपछि के के कुरा भयो अनि कहाँ जाने प्लान भयो के गर्ने प्लान भयो भन्ने कुरा सुन्यो अनि हाँस्यो बस्यो। यस्तै थियो हाम्रो जिन्दगी!

एकदिन यस्तै फोन आएर दिपेन आफ्नो कोठा तिर पसेको बेला हाम्रो हितेले खुब गुनासो पोख्यो!

"यार यस्तो जिन्दगी के जिन्दगी?"

"किन र के भयो त्यस्तो जिन्दगी देखि नै बिरक्तिने गरि?" मैले सोधेँ

"होइन यार भगवानपनि बायस छन् बुजिस्! कसैलाई केहि छैन, कसैलाई लाइन लागेको छ!" हितेले टिभिको रिमोट चेन्ज गर्या गर्यै गर्न थाल्यो।

आँफुलाई इएसपिएनबाट देखाइरहेको क्रिकेट हर्न मन लागिराथियो, उस्ले रिमोट चलाको देखेर हत्तपत्त रिमोट खोस्दै, "जा न त एउटा सापटी माग दिपेन सङ! अनि भोली देखि तलाईँपनि 'हितु!' भन्दै फोन आउन थाल्छ नि!"

"दिन्छ त्यस्ले! कुखुराले ओथारो बसे जस्तो सबैलाई छोपेर राख्या छ! हैन कसरी टाइम मिलाउन सक्छ यार त्यस्ले?" हिते कुरामा उ फ्रस्टु भाको प्रष्ट थाहा हुन्थ्यो।

"अब हेर हिते! त्यो सब निदारमा लेखेर आको हुनुपर्छ! उस्को निधारमा श्री लेख्या रहेछ अब तेरो निधार पिचिरी लेख्या होला अनि कसरी त्यस्को जस्तो भाग्यो हुन्थ्यो तेर!" मलाई त्यस्को कुरो भन्दापनि क्रिकेटमा कस्ले कत्ति हान्यो भन्ने कुरामा बढि ध्यान थियो।

"हो यार! त्यस्तै छ! तर बुजिस एक पटक चान्स पाए भने म पनि पट्याउन सक्छु क्या! तर के गर्ने आफुँले त डेब्यु गर्न ब्रेक पनि पा'होइन! सबैले खाली दिपु दिपु मात्र भन्छन्" हिते जुरुक्क उठ्यो अनि दिपेनको कोठा तिर गएर कुरो सुन्न खोज्यो! अनि हत्तपत्त आएर मलाई भन्यो, "बुजिस! त्यस्लाई प्रोब्लम परे जस्तो छ! खोइ के हो? खाली टाइम मिल्दैन! भनेको सुन्छु!"

"के को टाइम मिल्ला त बिचराको! अर्कीले पर्खि रा'होली यस्ले बोलाउदा! बिचरालाई पनि एउटा टाइम म्यानेजर राख्नेबेला भइसक्यो" भनेर भन्दै थिएँ, दिपेनले ढोका खोल्यो।

हामीहरु 'अब के भयो होला' भनेर उस्को अनुहार हेरेर बस्यौँ। दिपेन आयो, फोन राख्यो अनि हामीहरुलाई हेर्दै, "खोइ यार मलाई त यो देखि वाक्क लागिसक्यो यार! जे कुरामा पनि मै चाहिने!" भन्यो।

"अब त्यस्तै त हुन्छ नि सबै आफुँले मात्रै राख्न खोज्दा! यसो हामी तिरपनि एक दुइवटा प्रोजेक्ट सप्लाई गरिदिए हामीपनि खुसी हुन्थेम, क्लाइन्टपनि खुसी हुन्थिन्!" हितेले कुरो निकाल्यो!

मैले टिभि बन्द गर्दै दिपेनलाई सोधेँ, "किन दिपेन ब्रो! के समस्या आयो आज?"

"हैन यार! उस्लाई बल्खु टियुको अफिस जानुपर्ने रे, अनि म संगै जाने रे भनेर जिद्दी गर्या गर्यै! आफ्नो फेरि अर्कोतिर जानुछ, उता भक्तपुरतिर!" दिपेनको गुनासो!

"हामी साथीको के काम नि यस्तो समस्या परेको बेलामा पनि साथ नदिए!" हिते जङियो।

"हो नि त! तिमी खासै यो सङ त्यत्ति सिरियस नि देखिन्नौ! बरु बिचरा यो हितेको कल्याण गरिदेउ यार दिपेन!" मैले नि हितेको समस्या राम्ररी बुझेको थिएँ। बिचरालाई एउटा ब्रेक दिए कमसेकम उस्ले नि गरि खान्थ्यो भन्ने लागेको थियो मलाईपनि।

"साँच्चि जाने हो त? म उस्लाई म भ्याउदिन मेरो साथी आउँछ उस्ले सब चिनेको छ त्यहाँ बल्खुमा उस्ले तिम्रो राम्रो खयाल राख्छ भनेर उस्लाई फकाउछु अनि तँ चाँहि गएर आफ्नो जादु प्रयोग गर्नु" भन्दै दिपेन फेरि कर्डलेस लिएर कोठा तिर गयो।

हिते चाँहि मख्ख परेर मलाई भन्न थाल्यो, "बुजिस आज तलाइँ देखाउँछु मेरो निधारमा श्री लेख्या रहेछ कि पिचिरी!"

म नि उस्को मनोबल बढाउन थालेँ। दिपेन फोनमा कुरा गरिसकेर बाहिर निस्कियो। हितेले उस्को साथीलाई लिएर जान पाउने भयो। हामी हितेलाई ड्रेसकोड, डेटिङ एटिक्वेटका बारेमा प्रबचन दिन थालेम। उ पनि मख्ख पर्दै हाम्रो कुरा सुन्दै तयार भएर एकछिनपछि आफ्नो स्प्लेन्डर लिएर निस्कियो।

करिब दुई अढाई घन्टापछि हितेको मोबाइलबाट फोन आयो हाम्रोमा। मैले हत्तपत्त उठाए हितेको के खबर रहेछ भनेर।

हितेले, "दिपेन छ त्यहाँ?" भनेर सोध्यो, अरु केहि कुरा नगरी। दिपेन भर्खर आइपुगेको थियो, उस्लाई फोन दिएँ। उस्ले फोन लियो अनि एकछिन् हिते सङ कुरा गरेर आफ्नो कोठातिर लाग्यो। निकै बेर कुरा गरेपछि दिपेन बाहिर निस्कियो। मैले के रहेछ कुरो भनेर बुझ्न खोज्दा उस्ले, "हितेले राम्रो सङ हेल्प गरेछ त्यहि भएर मलाई थ्यान्क्स भन्नु फोन गरेको!" भन्यो।

म पनि अब हिते कहिले आइपुग्ला र उस्को कथा सुन्न पाइएला भनेर पर्खेर बसेँ।

एक घन्टा पछि हिते आइपुग्यो। अनि मैले कुरो खोतल्न थालेँ। उ केहि बोल्दैन!

"ओइ यार केहि त भन! कस्तो भयो?"

"हत्तेरी! यस्तो पनि हुन्छ? म त्यहाँ पुगेँ, उ पर्खिरहेकी रहिछ। उस्लाई मोटरबाइकमा राखेँ अनि लिएर गएँ! सबै कामहरु गर्न हेल्प गरेँ। काम सकिएपछि त मेरो मोबाइल माँगेर उल्टो दिपेनलाई नै "दिपु थ्यान्क्यु सो मच!" भनेर पो फोन गर्छे! म संग एक शब्द बोलेकि होइन। फर्केर आउँदा त अझ उस्को र मेरो बिचमा उस्को पर्स र फाइल पो राखिरा' के! भो यार मलाई अब यो स्वयं सेवक हुनु छैन! बेकारको पिडा!" भनेर थचक्क बस्यो।

*********************** 

Read Full Discussion Thread for this article