Posted by: CaMoFLaGeD May 5, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

हितेश मेरो बाल सखा। सानो हुदाँ धरानमा नि निकै उत्ताउलो काम गरियो त्यस्ले र मैले। म त सोझो मान्छे तर कहिले काँहि त्यस्को संगतले मलाई नि बिगार्थ्यो। त्यस्तै एकपल्टको कुरा सम्झना आयो। हामी धरानको एउटा स्कूलमा संगै पढ्थ्यौँ। स्कूलको नाम चाँहि नभनौँ। उहि सेतो सर्ट, निलो पाइन्ट अनि निलो टाई लगायो, कालो जुत्ता अनि पछाडि कासा प्याको झोला भरि गुलमोहर, एक्टिभ इङ्लिश, सामाजिक शिक्षा आदी किताबहरु बोक्यो अनि ९:१५ बजे त्यो मेरो घर अगाडी आएर कराउँथ्यो,  म निस्किन्थे र संगै लागिन्थ्यो स्कूलतिर। हामीलाई टिफिन खान भनेर घरबाट दिएको पैसाहरु हामीले निक्कै जोगाएर राखेका थियौँ। "ओइ सुन! जनक दाईकोमा आलुचप र ब्रेड महिनावारी खानुपर्छ अनि घरको पैसा चाँहि जोगाएर राख्नुपर्छ, पछि एक चोटी त्यो पैसाले घुम्न जानुपर्छ" भनेर हिते ले मेरो ब्रेन वाश गरिसकेको थियो।

त्यो दिनपनि सधा झैँ उस्ले मलाई बोलायो तलबाट, म नि हत्तपत्त ब्याग टिपेर दौडे! बाटोमा एउटा बुटपोलिसको डिब्बालाई दुबैले एक एक गर्दै हिर्काउँदै जाँदैथिम, "ओइ! तैँले जम्मा गरेको पैसा कत्ति भयो?" हितेले त्यो डिब्बालाई बाटोको पल्लोतिर पुग्नेगरी हिर्काएर सोध्यो।

"पर्खि म हेर्छु!" भन्दै म त्यो झोला अगिल्तिर ल्याएर मेरो ज्योमेट्री बक्स भित्रको रुटिन कागज पछाडी च्यापेर राखेको पैसा निकालेर गन्न थालेँ।

"ए ल ल पुग्छ त्यत्ति भए! म सङ नि छ पैसा त्यत्ति नै!" हिते ले मलाई पैसा राम्ररी गन्न सम्म दिएन।

"किन नि? के गर्न पुग्छ र यो पैसाले?"

"सुन आज त्यो डेविड सरको होमवर्क नि याद भा'छैन, मलाई त स्कूल जान नि मन लागेको छैन, जुम् हिन तल भानुचोक तिर अनि गणेश टाकिजमा सिनेमा नि हेर्नुपर्छ"

"ह्या! हुन्न यार!! घरमा थाहा भयो भने त बबाल हुन्छ" मलाई डर लागेर आयो।

"कसरी थाहा हुन्छ? १२ बजेको सिनेमा हेर्ने अनि ३ बजे पछि बिस्तारै हिन्दै माथी आयो भने घर पुग्दा ठिक्क साँडे चार बज्छ, कसैलाई थाहा हुन्न।"

"अनि स्कूलमा भोली लिभ लेटर चाँहि कस्ले लेख्छ? तैले??"

"ह्या! त्यत्तिको नि चिन्ता गर्छ यार तँ! लु तँलाई र मलाई दुइटा लेटर म लेखाउँछु" हितेले सब प्लान मिलाइसकेको रहेछ।

यसो सोचेँ! त्यो डेविड सरको दुई पेजको पोयम याद गर्न नि सकिरा'थिइन! बेकारमा चुटाइ खाइने पिर थियो। यस्तो बेलामा हितेको प्लान त 'के खोज्छस् कानो? आँखो!' भन्या जस्तो भयो आँफुलाई।
हामी लागिम् दक्षिणतिर। अरु स्कूल जाने साथीहरुले देख्लान भनेर हत्तपत्त टाइ खोलेर झोलामा हालिम् अनि सर्टलाई बाहिर निकालेर अरु बाहिर हिन्ने मान्छे जस्तो भएर गल्ली गल्ली हुँदै लागिम् तल भानुचोक तिर।

"हिन उ त्या पर त्यो रुद्र दाईको क्यारमबोर्ड पसलमा गएर हाम्रो झोला राखुम" हितेले मलाई देशीलाइन तिर लग्यो। त्यहाँ गएर हितेले खोइ के के भनेर त्यो दाईलाई हाम्रो झोलाहरु दियो अनि हामीहरु निस्किम् गणेश टाकिज तिर। १० बजेको थियो, हलको मेन गेटपनि खुलेको थिएन। यसो बाहिर राखेको पोस्टर हेरेको त पुरानो राज बब्बरको फिलिम लागेको रहेछ।

"ह्या! यो सिनेमा त के हेर्नु यार? फाइटै छैन" हितेले नराम्रो संग मुख बिगार्यो।

"अनि के गर्ने त त्यसो भए? जुम् स्कूल बरु! मलाई त टेन्सन भइसक्यो यार घरमा थाहा पायो भने त भरे चाँदे हान्छ सबले!"

"गोइस तँ अब स्कूल! घडी हेर्न कत्ति बजिसक्यो। अब त त्यसैपनि ढिलो आएको भनेर चुटान हान्छ त्यो घिमिरे सरले!"

"त्यसो भए के गर्ने त?" मलाई केहि आइडिया भएन अब के गर्ने भनेर!

"एकछिन पर्खी!" भन्दै हिते यसो छेउछाउको घुम्ती पसलको भित्ताहरुमा टाँसेको फिलिमको पोस्टर हेर्न थाल्यो। अनि मलाई हेर्दै भन्यो, "ओइ तैँले मैने प्यार किया हेरिस?"

"अँ हेरिसकेको नि भिडियोमा उहिले नै!"

"त्यो भिडियोमा त सब रिल काटेको हुन्छ बुजिस! हलमा हेर्न मज्जा आउँछ"

"खोइ त कुन हलमा लागेको छ? माथ्लो हलमा त लागेको छैन"

"इटहरी जुम्!" हितेले मलाई हेर्दै भन्यो!

"ओइ! के भन्छ यार? लु म चाँहि जान्न इटहरी! मार्छ घरमा!"

"कस्ले थाहा पाउँछ हौ!!" हितेले मलाई उक्साउन थाल्यो।

"सुन हिते! यस्तो चाँहि गर्नु हुन्न के! इटहरी जाँदा जाँदै कसैले देख्यो भने के गर्छस्?"

"कसैले देख्दैन क्या! हिन् त्यो सेन्डिकेटमा जुम् अनि बिराटनगर जाने गाडीमा चढुम्! म सङ भाँडाको लागी पैसा छ" हितेले मलाई तानेर लग्यो।

हामी चडिम गाडीमा अनि लास्ट सिटमा बसिम्। गाडी हिन्यो, मेरो मन फुलेर आयो। हिते झ्यालतिर बसेर बाटोको पसलहरु हेर्दै रमाइलो गर्न थाल्यो। हामी इटहरी पुगिम अनि तल बिराटनगर लाइनमा भाको सिनेमा हलमा गएर रि-बाल्कोनीको दुइटा टिकट किनेर मैने प्यार किया हेरिम्। खुब रमाइलो भयो। हाफ्टेनमा पापड, चटपटे खाएम्। कोक खाने पैसा चाँहि थिएन। फिलिम् सक्कियो अनि हत्तपत्त निस्केर दौडिम धरान जाने बस स्ट्यान्डमा। यसो हेरेको बुढासुब्बा गाडी लागिरहेको रैछ। हामी फेरि लास्ट सिटमा बसेर धरानतिर लागेम्।

"ओइ ला--!!! तलाइँ थाहा छ?" हितेले मलाई कानमा आएर भन्यो।

"के?" मेरो मन झसङ भएर आयो।

"यो गाडीको चेकिन त सन्तेको बाउ पो हो त"

"को सन्ते?"

"त्यो सन्ते क्या! हामी सङ फुटबल खेल्न आउँछ नि"

"ला--!! अब के गर्ने? सुड्डाले देख्यो भने त घरमा भन्दिन्छ" मेरो मुटुले ठाउँ छोड्यो।

"लुकेर बस! थाहा पाउँदैन होला!" हितेले मलाई सम्झाउन थाल्यो।

हामी सन्तेको बाउको आँखामा नपर्ने गरेर बस्यौँ। सन्तेको बाउ अगाडीको प्यासेन्जरको पैसा चेक गर्दै गरेको हामीले देखिरहेको थिम्। ठ्याक्क तरहरा आइपुग्यो।

"सुन्! अहिले यहिँ उत्रिम् अनि अर्को गाडीमा जानुपर्छ" भनेर हितेले मलाई तानेर उतार्यो तरहरामा। खलासीलाई त्यहाँ सम्मको कन्सेसन् भाँडा दिएर हामी निस्किम्।

"अब कुन गाडीमा जाने नि?" मलाई कत्तिबेला घर पुगेर आनन्द संग बसुम भा'थियो।

"अब धरान बिराटनगरको गाडीमा नजाने। पुर्वतिरको गाडीमा पनि चिनेको मान्छेहरु हुन सक्छ बुझिस, पश्चिमतिरबाट आ'को गाडीमा जानुपर्छ, सब मधिसेहरु हुन्छ त्यत्ति चिनेको हुदैन।" हितेले आइडिया निकाल्यो।

म नि ढुक्क भएर बसेँ। एक दुइ वटा गाडीहरु गइसकेपछि पश्चिमको गाडी आयो। बल्ल तल्ल गरेर हामी अगाडीको ढोकाबाट छिरिम्। भित्र घुस्दै घुस्दै गाइम्। हितेले मलाई हेर्यो मख्ख पर्दै। मलाई नि मन शान्त भयो। लामो साँस फेरे।

त्यत्तिकै मा हितेले मलाई च्याप्प समातेर, "ओइ पछाडी नहेर!!!" भन्यो।

"किन?" मुटुको रफ्तार बढ्यो मेरो।

"घिमिरे सर!"

"ला--!!"

"हिन हिन अगाडी क्याबिनमा जुम!"

हामी लुसुक्क अगाडी गइम्। कन्डेक्टर आयो, अरु सबैको पैसा माग्यो, हाम्रो मागेन। हितेले मलाई हेर्यो अनि इशाराले पैसा नमागेकोमा खुसि भए जस्तो गर्यो।

बल्ल बल्ल घर पुगियो। घरमा सबै नर्मल देखेर खुसि लाग्यो। "आज चाँहि ज्यान बच्यो!" भनेर दङ परेर सुतियो।

भोलीपल्ट उहि पहिले जस्तै गरेर स्कूल गइयो। १० बजे स्कूलको घन्टी लागेर एसेम्ब्लीमा बसियो अनि क्लास तिर जादैथिम्, ठ्याक्क घिमिरे सरले हामीलाई लाइन बाट बाहिर निकाल्नुभयो।

"तिमीहरु हिजो स्कूल किन नआएका?"

"सर मलाई सन्चो थिएन" दुबैले एकै स्वरमा भन्यौँ।

"ए! त्यो तरहरा देखि धरान सम्मको भाँडा कस्ले तिर्यो जस्तो लाग्छ तिमेरुलाई?" भनेर घिमिरे सरले भन्दा पो हामी ट्वाँ-- पर्यौँ। घिमिरे सर स्कूलको कामले इनरुवा (सदरमुकाम) पुगेर आएका रहेछन्। उनैले हाम्रो भाँडा तिर्देका रहेछन्।

दुइ घन्टा सम्म बाहिर घाममा कान समातेर बसियो अनि १२ बजेतिर घरबाट गार्जेनलाई बोलाको रैछ। बा आमाको दह्रो नि भेटियो। टिफिनपछि डेविड सरले फेरि त्यो पोयम सोधिहाले, भन्न सकिएन क्यारे! हातमा पाँच पाँच स्वाँट पर्दा हिजो गरेको सबै मज्जा एकैचोटी निक्ल्यो!!

बेलुका स्कूलबाट घर जाँदै गर्दा रातो हात सुमसुम्याउदै मैले भने, "ह्या--!! बरु त्यो सन्तेको बाउले मात्र देखेको भए त घरमा मात्र थाहा हुन्थ्यो! बेकारमा घिमिरे सरले देखेर स्कूलमा सबको अगाडी बिल्ला भयो!"

"तर बुझिस् धन्न हाम्रो तरहरा देखिन् धरान सम्मको भाँडा बच्यो नि, त्यो पैसा अर्को पल्टलाई काम लाग्छ!" हितेको दिमाग अन्तै तिर थियो!

**************

Read Full Discussion Thread for this article