Posted by: samaeBajii April 29, 2008
लोडसेडिङमा आधा कटौती
Login in to Rate this Post:     0       ?        

लोडसेडिङमा आधा कटौती

नेपाल समाचारपत्र (काठमाडौं) नेपाल विद्युत् प्राधिकरणले आज मंगलबारदेखि लागू हुने गरी लोडसेडिङमा आधा कटौती गरी साताको २१ घण्टामा झारेको छ।

सोमबारसम्म साताको ४० घण्टाका दरले लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि करिब आधा कटौती गरिएको छ।

आज मंगलबारबाट सिरहाको लहानदेखि पश्चिम, दाङको लमहीदेखि पूव तथा हेटौंडा-वीरगन्ज क्षेत्रबाहेक अन्य भागमा सातामा दुइ दिन विद्युत् कटौती नहुने भएको छ। औद्योगिक क्षेत्र भएकाले हेटौंडा-वीरगन्जमा भने लोडसेडिङको बेग्लै तालिका बनाउनुपर्ने प्राधिकरणले जनाएको छ।

अब सातामा पाँच दिन दैनिक चार घण्टाका दरले मात्र विद्युत् आपूर्ति कटौती हुनेछ। यसअनुसार एक दिन साँझ साढे ६ देखि राति ९ बजे, एक दिन साँझ ६ देखि राति साढे ८ बजे, एक दिन साँझ ७ देखि राति साढे ९ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ।

यस्तै सातामा एक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म, सोही दिन साँझ ६ देखि राति १० बजेसम्म र एक दिन बिहान ६ देखि १० बजेसम्म र दिउँसो २ देखि साँझ ५ बजेसम्म लोडसेडिङ हुने भएको छ।

हिजो सोमबारसम्म सातामा छ दिन सात घण्टाका दरले विद्युत् कटौती हुँदै आएको थियो। एक दिन कटौती गरिएको थिएन।
केही दिनदेखि प्राधिकरणले विद्युत् उत्पादनमा वृद्धि भएपछि परीक्षणका लागि भन्दै अघोषित रूपमा लोडसेडिङ कम गर्दै आएको थियो।

यसै गरी लहानदेखि पूवमा भारतको कटैया प्रसारण लाइनबाट ६० देखि ७० मेगावाट विद्युत् आयात भएकाले पनि लोडसेडिङ घटाउन सकिएको बताइएको छ।

लमहीदेखि पश्चिममा भने टनकपुरबाट २० देखि २२ मेगावाट विद्युत् आपूर्ति भइरहेकाले त्यस क्षेत्रमा सातामा १२ घण्टसम्म लोडसेडिङ हुने गरेको छ। लोडसेडिङ सबैभन्दा बढी लाहानदेखि पश्चिम तथा लमहीदेखि पूवको मध्यक्षेत्रमा हुँदै आएको छ।

गर्मीका कारण हिउँ पग्लिएर नदीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादनमा पनि सुधार आएकाले लोडसेडिङ कटौती गरिएको प्राधिकरणप्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

हाल कालीगण्डकी, मर्स्याङ्दी र चिलिमेजस्ता ठूला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेका कारण लोडसेडिङ कटौती भएको भाटले स्पष्ट पार्नुभयो।
from: Newsofnepal.com
Read Full Discussion Thread for this article