"अँ रोकियो -- अरु दर्केको भए हुन्थ्यो नी" उस्ले बिस्तारै भन्यो। उस्ले भनेको कमलाले सुने हुन्थ्यो भन्ने पनि थ्यो सुन्ली भन्ने पनि थ्यो।
कमलाको अनुहारमा मन्द मुस्कान थ्यो। त्यो उस्को कुरा सुनेर हो वा हैन प्रकासले यसै भन्न सकेन। उस्ले याद गरेको थ्यो कमलाको अनुहार मुस्कानको फुलबारी थ्यो।
बिदा भएर प्रकास घर लाग्यो। सुकिर्तीले "किन ढिलो?" भन्दा उस्ले त्यो प्रस्नलाई घर खाली गर्न भनी सकेको र त्यसमै कुरा मिलाउँदै गरेको खबरले किच्न खोज्यो। घर खाली हुने कुरा प्रकास किन ढिलो आयो भन्ने भन्दा अरु महत्वको भएकोले सुकिर्ती खुसी भै। प्रकास पनि कता कता खुसी भयो। फेरी आफ्नो ताल देखेर छक्क पनि।
एक् दुइ दिन पछि प्रकास अफिसमै थियो, फोन आयो।
कमलाको रहेछ।
"घर भेट्टाउनु भयो त?" प्रकास त एक छिन अलमलियो। कताको घर? कस्को घर? कस्लाई घर?
"बिर्सिनु भयो कि के हो?" कमलाले फेरी सोधी।
यतिन्जेल सम्म त प्रकासले सम्झि सकेको थ्यो। उस्ले त कहाँ घर खोजेको थ्यो र?
"काँ बिर्सिनु?" प्रकासले स्वरलाई सकेसम्म स्वभाबिक पारेर भन्यो।
"अनि?" उस्ले सोध्ने क्रम रोकिन।
"भेट्या छैन, अब जुन पायो त्यै घर भएन। राम्रो चाहियो। हेर्दै छु।"
"काँ बाट फोन नम्बर पाईछ" प्रकासले सोच्यो। तर फोन आएको उस्लाई राम्रै लाग्यो। अचेल त सुकिर्तीको पनि त्यस्तो फोन आउन्न थ्यो। उस्लाई पनि फोन गरेर सुकिर्तीलाई भन्ने केही थिएन। घरमा ढिलो चाँडो भेट भैहाल्थ्यो।
हुन त उ कुन अफिसमा काम गर्ने हो कमलालाई थाहै थ्यो। त्यति थाह भए पछि सकिईहाल्यो नी। उस्ले तर्क गर्यो।
"तपाईँले भेट्टाउनु भयो त?" प्रकासले सोध्यो।
"मैले भेट्या भए त तपाईलाई किन सोध्नु पर्थ्यो र?" उस्ले भनी।
प्रकास काममा एकदम ब्यस्त भएको बेला आएको थ्यो फोन। एक छिन अघि मात्रै हाकिमले जरुरी छ यो तुरुन्तै हेरेर के भा रे छ मलाई खबर गर्नोस त भनेर एउटा काम जिम्मा लाथ्यो। झन फोन तिर लाग्या देखेर होला हाकिमले प्रकासलाई नियाल्दै थ्यो। प्रकासलाई असजिलो लाग्यो। छेउ बाट आर्को ब्वाँसो पनि कुरा सुन्दै झै गर्दै थ्यो।
"सुन्नस न -- म घर फर्किदा त्यतै भएर जान्छु आज -- अनि कुरा गरम्ला नी है --अहिले --" प्रकासले कुरा सकाउन पाएन कमलाले सोधी "खाना खाएर जाने हो?"
"किन र? भरे पनि पानी पर्छ रे?" प्रकासले हांसोमा सोध्यो।
उस्को भन्दा उन्मुक्त हाँसो उस्ले कमलाको सुन्यो।
"मस्कि मस्कि को सँग हो, गुरु?" ब्वाँसोले सोधि हाल्यो।
"दिमागमा अरु केही कुरा आउँदैन?" प्रकासले झर्के झैं गरी सोध्यो।
पटक पटक ध्यान कमला तिर जान थाल्यो। "यो राम्रो कुरा होईन" उस्ले भन्यो उसैलाई।
काम सकाएर कमला कहाँ पुग्यो उ। यत्तिकै मन उस्को रोमान्चित भयो। "एक जनाको लोग्ने म, एक जना को स्वास्नी उ-- बिनिसित्ती मन किन असला झै हुने होला?" सोच्दै उ छिर्यो घर भित्र।
अस्ति झै आज पनि कमला सजिएकी रहीछ। अनुहारमा आज पनि मुस्कानका फुलहरु फुलेकै थिए। ...