Posted by: SurNaTal February 29, 2008
सुर न ताल को डाएरी
Login in to Rate this Post:     3       ?         Liked by

गाउँ फर्कने दिन - १

२०५९ - ६ - २१।
भोजपुर।

 

ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ............

सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm Clock नै हो। अफसोस, सबै भन्दा नभै नहुने केही छ भने पनि त्यो तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

ए साच्ची आज त क्लास जान लागेको हैन नि। मन हलुंगो भयो। जुरुक्क उठें। ठोका खोलेर मस्तला लागें। भान्सामा भाउजु चिया नास्ता तिर लागि सक्नु भएछ। छतमा गएं। बिहान निक्कै जाडो हुन थालीसकेछ। हुस्सुले पुरा शहर ढाकेछ। केही पो देखिदैन त। यस्तोमा प्लेन पनि कसरी उड्ला। मन अलिक भारि भो। पोलिथिन ट्यांकिको धारो खोलेँ। कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने। मुख फटाफट धोएं र तल दौडिएं।

"आच्छु, कस्तो जाडो, चिया पाक्यो भाउजु।"
"सेलाउन लागिसक्यो। कस्तो खुस मुड हो, घर जाने भने पछि त। गाउमा कोही छ कि कसो?", भाउजु मुसुक्क हास्नु भो।
"हो नि त। बुवा आमा, दाजु भाउजु, दिदी-बहिनी, सबै त हुनुहुन्छ", चिया समाए, कुरो बिचैमा छोडेर भर्यांग तिर लागें।

भुइतलामा मेरो सानो कोठा छ। सानो टेबलमा कम्प्युटर मनिटर। भित्ता पट्टी सानो खाट। कुर्शिको काम खाटैले गर्छ। कुर्शी राख्नलाई कोठामा ठाउँ पनि त छैन। टेबलको छेउमा मेरो सबै भन्दा मन पर्ने बस्तु छ। सानो क्यासेट प्लेयर। बेलुका २-४ वटा मन पर्ने गीत नसुनी निद्रा लाग्दैन। हुन त त्यो कम्प्युटर बाटै सुने पनि हुने हो। तर क्यासेटसंग जुना साईनो जोडीएको छ, बाल्यकाल देखी, त्यो अरु केहीले पुरा गर्दैन। भित्तातिर बिद्यालय र कलेजमा जितेका खेलकुदका कपहरु लहरै छन। मेडलहरु कांटी ठोकेर टेबल माथि भित्तामा झुन्ड्याएको छु। सिरानेको पारीपट्टी भित्तामा मेघा पोखरेलको ठुलो वाल पेपर टासेको छु, किन किन तिनी मलाई मन पर्छिन। मेरी सोल्टिनी जस्ताइ। दाँया तिर हिमालयन रेन्ज झुन्डिएको छ। एक महिनालाई म मेरो यो सानो संसारलाई छाडेर गाउँ जादैछु, सम्पूर्ण आफ्नो संसर तर्फ।

समयले एक फन्को अरु मार्यो, अत्यन्तै दर्दनाक काहानीहरु/ईतिहासहरु बनाएर, मेरो राष्ट्रको र एउटा नयाँ बडादशैंले मेरा बेफुर्सदिहरुलाई कस्सेर धक्का मार्यो। म मेरा दैनिकिहरुलाई पूर्ण रुपले परिवर्तन गरेर, सम्पूर्ण नाम र उपनामका लेपनहरु फुकालेर एउटा सानोभाइ मात्र बांकी भएको छु, अबका ३-४ हप्ताहरु, जस्लाई म मेरो पहाडमा बिताउने छु, आमा-बुवा, दाजु भाउजु र बहिनी संग; आँगन, दलान र बलेसी संग। यही दशै एउटा आउंछ र जीवनमा अलिकता अपनत्व/आत्मियता छरेर जान्छ। नत्र त जीवन एउटा स्वचालित यन्त्र न हो। यही एउटा उत्सब जो बांकी छ, तेस्लाई पनि देशको बिषम परिस्थितीले कुठाराघात गरिरहेछ। घर जान कत्तिको सुरक्षित छ भन्ने छलफलहरुलाई सिरानी मुनी घुसारेर म निस्की रहेछु - मेरा आकांक्षाहरुलाइ उद्वेलित गर्न - मेरो रातोमाटोले पोतेको चुलो र मझेरी संग, राडी ओछ्यायको ओछ्यान संग, र टुकी बालेका रातहरु संग।

आज लगाउने भनेर हिजै छुट्याएको लुगा टेबल बाट उठाएं। पट्याएका धर्साहरु श्पस्ठ देखिक्दैछन। सर्टमा पनि, पाइन्टमा पनि। उहिले उहिले गाउभरिमा एउटामात्र इस्त्री हुँदा कती जागर लाग्थ्यो। सिरानघरबाट इस्त्री ल्यायो, कोइला फुक्यो, ततायो, लगायो, पुर्याउन गयो। आजकाल कोठामै बिजुलिवाला इस्त्री छ। तर जागर छैन। आsss, कस्लाई देखाउनु छर। पुन: आँफैलाई बाहाना मिलाएं र त्यो खुज्मुजिएको पाइन्ट र सर्ट उसै घुसारें। आफ्नो कोठामा कहिल्यै ऐना भएन। शायद जरुरी ठानिन। कपाल हिजो नै मुडुलै हुने गरी कटाएको थिएं। हातले यसो मिलाएं। टाउकोको देब्रे तिर सिउदो पर्ने गरी।

"प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ"
बा अ ञ २८१४ चिच्यायो। दाजु कहिले उठेर तयार भईवरी मोटारसाइकलमा पुगी सक्नु भएछ। फटाफट गोल्डस्टारको तुना कसें, हिजै मिलाएर राखेको कलेज ब्याग पछाडि भिरें र "भाउजु गएं है" भन्दै दौडिएं।
"तेरो प्लेन ८ बजे हैन?", दाजुले पक्का गर्नुभो।
"हो", भन्दै पछाडि चडें।

शहर चक्रपथ बाहिर पनि निक्कै बिकास भई सक्यो। दाँया बाँया भर्खर बनेका वा बनीरहेका घरहरु लहरै थपिदैछन। सानोभर्यांग ननीस्कुन्जेल उकडफाकड छ बाटो। चक्रपथमा दाजु बाँया लाग्नु भो, बनस्थली तिर। अब यो चक्रपथ नछोडी गए भईगो, मन मनै नक्सा बनाएं। दाँया बाँया त्यो लहरे पिपल हो कि के का ठुला ठुला रुखहरुले छ्याप्प छोपेका छन, रिङ रोडलाई। बनस्थली चोक। ठेलागाडा र त्यो स-साना काठका छाप्रे पसलहरु खुल्न थालीसकेका छन। बिहानी कक्षाका विद्यार्थीहरु निला, हरिया, कलेजी, थरिथरीका युनिफर्ममा हतार हतार यता उता गरिरहेछन। साच्ची दसैं बिदा त सूरु भएकै छैन नि। मैले पो त मुस्किलले २ दिन अघाडी छुट्टी पाएथें। धेरैजस्तो तेही बनस्थली स्कुलका होलान। राम्रो स्कुल भन्थे, आफुले पढ्न पाएको होइन केरे। के भो त, गाउंमै पढेपनी प्रतिस्पर्धा गरिरहेकै छु। मन वाद बिवाद गरिरहेछ। बालाजु चोक आइपुगेछ। मेरो दिमागको नक्साले काम गरेन। दाजुलाई उपत्यकाका गल्ली गल्ली याद छन। यो छोटो बाटो हुनुपर्छ। बिष्णुमतीको पुल तरेर उता लागेपछी म कता जादैछु थाहा भएन। दाँयाँतिर पसुपती डेन्टल हस्पिटल हो के के लेखेको थियो, दाँया बाँया लहरै घरहरु, एस्तो बाक्लो बस्ती रहेछ, म कहिल्यै नआइपुगेको होकी, आएर पनि मेसो नपाको होकी। त्यो दाँयाको खै के शाहीत्तिक समाज हैन। य हो त, नयाँ बजार पो रहेछ। मोदनाथ शिक्षा मन्त्री थे क्यारे। कती ७ बर्शै भो कि कसो, त्यो युवा सेवा कोशको पुरस्कार थाप्न आथें यहाँ, पहिलो पटक। दाजुले नै छोडिदिनु भाथ्यो।

दाजुले गियर चेन्ज गर्नु भयो, ४ बाट ३ अनी २। त्यो उकालोमा मोटारसाइकल पछाडिनै जाला जस्तो गरिराछ। १ मा नराखी भएन। सरस्वती क्याम्पस कट्यो, अस्कल आयो। धेरै कर्णधारहरुको कलेज। तर बिडम्बना आजकल प्रायस: टायरको थुवाँले रुमल्लिरहन्छ यो कलेज। बिहानै भएर पनि होला, आज केही तल माथि रहेनछ। राजदरवारको त्यो पश्चिम पर्खाल छेउमा पुगेर दाजु दाँयाँ लाग्नु भो। दाँया-बायाँ अलेली पैदाल यात्रीहरु देखिन्छन। कानेटोपिहरुमा। आज निक्कै नै जाडो हो। बल्ल पो ज्याकेटको चेन लगाउने होस आयो। घर जाने उमंगमा बेहोसी बढीरहेछ। आच्ची, ऊ तिनी केटीको सर्टमा चराले बिस्ट्याइ दियो। बिचरा। अस्कल गैराकी जस्ति छन, खैरो खैरो पाइन्ट देख्छु। त्यो सिक्षा मन्त्रालयको पर्खाल छेउको बाटो हिड्यो भने जहिले बिस्ट्याइ खाइन्छ। के जाती चरा हुन कुनी यिनिहरु, टाउको तल झुन्ड्यायर ति पात बेगरका रुखहरुमा सर्बत्र झुन्डिरहेछन।

त्यो ठमेल जाने चोकबाट दाजु बायाँ लाग्नु भो। म आँफैमा हराइरहेछु। साच्चि त मैले केही पनि किनिनछु घर लानलाई। कस्तो उल्लु म। बाटोमा केही पाईन्छ कि। फेरी ढिला पनि हुन लाग्यो। सोच्दै थें दाजु जैनेपाल हल बाट दाँयाँ लाग्नु भो। यो बाटो अलिक तल पुग्यो भने कृष्ण पाउरोटी पुग्छ हैन? ए हो रहेछ। एकछिन दाजुलाई रोक्न लगाएं। यो पाउरोटी पनि गाउँमा त कस्तो चिजको बस्तु पो हुन्छ त। मैले पहिलो पटका यही आएर खाएथें। सुरु सुरुमा त अचाक्ली मिठो लाग्ने। मिठ्ठाइहरु पनि प्रसस्तै रहेछन, कृष्ण पाउरोटीको पसलमा, बेसै भो। अनी दाजु त्यो अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो। कुन चाँही कालो पुल कुन चाँहीं रातो, मलाई कहिल्यै याद भएन। पुल आउनु अगाडिनै दाजु दाँयातिर लाग्नु भो। किन रहेछ, यो फेरी कता हो? ए मैतिदेभी मन्दिर पो त। सिर झुकाएं। चोक आयो। ए गूद्पाक किन्ने भनेर पो त यता तिर आउनु भा रहेछ। र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

...............................
Last edited: 29-Feb-08 04:34 PM
Read Full Discussion Thread for this article