सुकिर्तीले उस्लाई बाहिरिदै गरेको देखी ......."कस्तो निरस मान्छे होला --" उस्को मनमा यही सोच ओर्लियो तर गीत र नृत्यको झंकारमा त्यो सोच धेरै टिक्न भने सकेन उ फेरी नाँचमा मग्न भई।
प्रकासले घरमा आमालाई आउन अलि ढिलो हुने कुरा सुनायो। उ घर भित्र नआई आमालाई निन्द्रा लाग्दैन भन्ने थाह् थ्यो उस्लाई।
"यत्ति राती भैसक्यो बाबु --धेरै राती राती हिन्नु हुन्न --समय ठिक छैन" आमाले चिन्ता ब्यक्त गरीन अनि सोधिन "तिमीहरु के गर्दैछौ अझै? भोज सकिएन र? खै त सुकिर्ती?"
खै किन हो उस्ले "सुकिर्ती नाँच्दै छे" भन्न सकेन बरु उ "कुरा गर्दै छे --अब हामी एक छिनमा हिन्ने" भन्दै कुरा सक्यो। आमा चै ढिलो नगर्न भन्दै थिईन।
प्रकासलाई त्यो नाँचेको ठाउँमा फर्केर जान मन लागेन। "बिनसित्तिको झ्याँउ झ्याँउ" उ यसै झर्कियो। तर नगएर पनि कता जानु?
उनीहरु त्यहाँबाट निस्किदा राती १:३० भै सक्या थ्यो। सुकिर्तीलाई अहिले नाँचको नशा ओर्लेर अघिका गिलासका नसा चढेका थिए। त्यो अघि लाकि हिल जुत्ता प्रकासलाई बोक्न देकी थिई। सुकिर्तीका तिनै श्वास हुन जस्ले प्रकासलाई बेचैन बनाउँथे अहिले क्रुद्ध बनाउँदै थिए। बाउको रक्सी खाने बानीलाई उस्ले सधैं घृणा गर्यो। सुकिर्ती भने उस्को सहारामा पुरै भर परेर "आई लभ यु भन्दै थिई -- प्रकासले होस भनेर एक दुई चोटी "अँ अँ म पनि" त भन्यो तर पछि भन्न छोड्यो। सुकिर्ती भने अंङ्ग्रेजीमा धेरै नेपालीमा थोरै बोल्दै थिई।
"यस्लाई यो हालतमा आमाले देख्नु भो भने?" प्रकास त्यै चिन्तामा पिरोलिएको थ्यो। सुकिर्ती तिर हेरेर उस्ले मनमनै भन्यो "कस्ती जड्याँ स्वास्नी"।
सुकिर्तीको मामाको छोराले पजेरोमा पुर्याईदिने भो दिदी भिनाजुलाई घर। मोटरसाईकलमा श्रीमतीलाई लाने आँट प्रकासको भएन --सुकिर्ती भने "हुन्छ म सक्छु" भन्दै थिई।
बाटा भरी प्रकासले श्रीमतीलाई चुप गराउन खोज्यो तर सकेन। "तिमी कहिलेई ड्रिङ्क गर्दैनउ?" सुकिर्तीले सोधी। "गर्छु कहिले काहीँ" प्रकासलाई त्यो रक्सीको कुरा गर्या मन परेको थिएन। उस्ले गर्ने ड्रिङ्क पानी अनि जुस जस्ता सादा हुन्थे तर नशालु रंगीन हुन्न थे। त्यो उस्ले भनेन।
" अनि अघि मामाघरमा किन नगर्या त? तिमीले बेज्जत गरेउ था छ? सबैले तिमीलाई बाजे भिनाजु भने -- हा हा हा तिमी बाजे भिनाजु हो?" सुकिर्ती बोल्दै गै। प्रकासले केही भनेन। कति बेला घर पुग्ने हो। आमाले देखे के भन्ने हो भन्दै घोरीँदैथ्यो।
"हो भन्या?" सुकिर्तीले उ सँग अरु ढेस्सीदै सोधी।
"के?" प्रकासले पनि सोध्यो।
"तिमी बाजे भिनाजु हो भन्या?"
मामाको छोराले पनि गिलास त रित्याएकै हो क्यार तर गाडी चलाउँदै थ्यो। उस्ले "ह्या सुकिर्ती दिज्जुलाई अलिकति खानु हुन्न लाग्छ फेरी नखाई पनि हुन्न--खाए पछि सधै यस्तै हो -- बोल्या छ बोल्या छ।"
घरको ढोकामा पुर्याएर मामाको छोरा फर्कियो।
"तिम्रो घर त कस्तो टाढा बुझेउ --अहिले आउला नी छैन भरे आउला नी छैन" सुकिर्तीले घरको मुल ढोका तिर लाग्दै भनी। उस्ले आफ्ना दुबै हातले प्रकासलाई अंगालेकी थिइ। प्रकासले भने एउटा हातमा सुकिर्तीको जुत्ता र झल झल झल्किने रातो पर्स समातेको थ्यो अनि अर्को हातले सुकिर्तीको कुम। ( ...फेरी थप्छु--)