Posted by: Gautam B. February 16, 2008
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

शतक मउसबलाई भनेर एउ टुउरो (टुक्रो) ख्यास-खुस पारेको छु। भैरव अर्यालको कुनै लेखसंग मिलेको जस्तो लाग्न सक्छ। तर अलि फरक हो भन्ने लागेको छ। जे भए पनि, त्यसबाट प्रभावित भने होइन।

 

थरी-थरिका 'बोलाउने' नाम

पहिलो कुरा त यो लेखको टाउकोको बारेबाटै शुरु गरौं। 'बोलाउने नाम'को सट्टा 'उपनाम' राखौं कि भन्ने पनि नलागेको हैन, तर 'उपनाम'ले अलिक साहित्यिक रुप लिने जस्तो लाग्यो। फेरि, 'उपनाम' मान्छेले आफ्नै रोजाइको राख्छ सामान्यतया; 'विद्रोही', 'विरही', 'रोदन' इत्यादि। तर यहाँ कुरो गर्न लागिएको भने आफूले रोजेको नभैकन अरुले दिएको नाम हो, जुन नामको प्रयोग गरेर त्यो मान्छेलाई बोलाइन्छ अथवा (नराम्रो शब्द  छ भने) कन्नापछाडि उसको कुरा काट्न र गाली गर्न प्रयोग गरिन्छ।

उसो त 'बोलाउने नाम'को सट्टा 'निक नेम'नै किन नराख्ने भन्ने पनि नफुरेको हैन काँचो गिदीमा
,
तर यो शुद्ध नेपाली कुराकानीमा 'निक नेम' त्यति 'ठिक नेम' नहोला भन्ने लागेर 'बोलाउने नाम' नै सबैभन्दा 'ठीक नेम'हो भन्ने निष्कर्षमा पुगियो।

हामी सबैको बोलाउने नाम छ होला घरमा, जो सानो छँदा माया गरेर बोलाउँदा_बोलाउँदै सधैंका लागि हामीसंगै टाँसिन्छ। 'काले' अथवा 'काली' यसै गरी रहन्छन्। कोहि कालै वर्णको छ भने भने उस्लाई 'काले' भन्नु गाली गरेसरह मानिन्छ, तर गोरो मान्छेलाई 'काले ' भन्यो भने माया गरेको ठानिन्छ, गजब छ!

एकजना भाइ छ मेरो, काकाको कान्छो छोरो, मान्छे गहुँगोरो वर्णको छ। हुनत 'गहुँगोरो वर्ण'मा 'गहुँ'को अंश अलि बढी र 'गोरो'को अंश अलि कम नभएको होइन, तर  'कालै' भने छैन, तर उसलाई सबैले 'कालेभनेर बोलाउँथे पछिसम्म। हजुरआमाको मन पर्ने नाती हुनुको परिणाम हो यो। हजुरआमालाई उ साक्षात वृन्दावन निवासी जस्तो लागेर 'काले' भएको हो ऊ। अचेल  ऊ रिसाउँछ कसैले 'काले' भन्दा।

साना काँठीकालाई 'मूसा' वा 'मूसी' भनिनु पनि सामान्यनै हो गाऊँघरमा। आफ्नो शरीरको आकारकै भरमा कोहि 'चाउरे' र कोहि 'हात्ती' पनि कहलाइन्छन्। मान्छेको शारीरिक विशेषताका आधारमानै सबैभन्दा बढी 'बोलाउने नामहरु' बन्छन् होला। कैले, खैरे, कुइरे (अम्रिकान हैन नि!) आदि पनि यस्तै भए। मेरो बालसखा छ एकजना,बच्चामा भुँडी अलिक ठूलो भएकोले हामीले ऊस्को नामै 'भुँडी' राखिदिएका थियौं, जो आजपनि कायमै छ (भूमिगत रुपमै भएपनि)।

विद्यालय जीवनमा अर्काको नाम सबैभन्दा धेरै राखियो होला। धेरैजसो 'काले_काली' वा 'डल्ले_डल्ली' जस्तै भएपनि केहि अलि फरक पनि थिए। "सा---ला-हरु--!" भन्दै केटाहरुलाई थर्काउने केटीलाई हामी 'भिनाजु' भनेर बोलाउँथ्यौँ। यो कुरो बेग्लै हो कि, एकदिन माथिल्लो कक्षाको ऊस्को दाजुले हामीलाई थर्काउँदै 'रामधूलाई'को धम्की दिएपछि यो नामपनि भूमिगत हुन पुगेको थियो! अलिक पढ्नेलाई 'विद्वान' वा 'वैज्ञानिक' अझ 'आइस्टाइन' (भन्न खोज्या 'आइन्स्टाइन हो) भनिन्थ्यो भने जीऊ-डाल परेको तर ल्वाँदेलाई 'राइस्टाइन' भनिन्थ्यो। 'राइस' माने भात भनेर अलि उमेर भएपछिनै जानेको हो।

अल्लारे-अबुझ उमेरमा कतिलाई होच्याएर पनि नामहरु बनाइयो, ती कुरा अहिले नगरौं। भेटियो भने ती साथीहरुसंग एक राउण्ड माफी नमागी हुँदैन।


अर्काको 'नाम' राख्ने भने कलेज र विश्वविद्यालय गएपछि पनि छोडिएन। चीनमा पढ्दा एउटै कक्षामा तीनजना  नेपाली थियौं हामी। सहपाठी चिनियाँहरु सबैको नाम सम्झिन गाह्रो भएकोले धेरैजसोलाई बिभिन्न नेपाली नामहरु दिएका थियौं हामीले र तिनै नामहरु प्रयोग गरेर एकआपसमा कुरा हुन्थ्यो हाम्रो। कुरै-कुरामा एउटालाई 'उडुस' जस्तो' भनिएको  थियो, पढाई सक्ने बेलासम्म पनि उस्को वास्तविक नाम कण्ठ भएन, 'उडुस'ले काम चलाइयो। अर्को केटो थियो, जो हामीसंग अरु चिनियाँहरुसंगपनि त्यति मिल्दैनथ्यो, ऊस्को बानीब्यहोरा र विशेष गरी हेराई कुनै जासूसको जस्तो लाग्थ्यो। ऊस्लाई हामी 'केजीबी' भन्थ्यौं। अर्को केटोलाई 'क्रिमिनल' भन्थ्यौं, हामी तीनमध्ये कसले पहिला यो नाम राख्यौं र किन राख्यौं याद भएन, तर त्यो साथी खराब थिएन, उल्टो हामीसंग असाध्यै मिल्ने साथी थियो।

अरु नेपालीलाई पनि नाम नदिईएको होइन। नाक अलि ठूलो भएका एक सिनियर दाइलाई 'खतरनाक' भनिन्थ्यो। हामीमाझको सबैभन्दा अग्लोलाई 'रुस्की' (रसियनजस्तो) भन्ने अर्थमा भनिन्थ्यो, रिसाउँदैनथ्यो, उल्टो खुशीनै हुन्थ्यो होला । अर्को एक साथीलाई 'नेपालमा बनेको' भनिन्थ्यो। यो नामचाहिं अलि फरक ढंगले बनेको छ। साथी ब्यापक मोटो भएकोले 'माडे' भन्न थालेका थियौं। थाहा पाएर ऊ रिसाएपछि 'माडे'लाई 'MADE' हुँदै 'MADE IN NEPAL' बनाइयो, जो सजिलै 'नेपालमा बनेको' बन्यो।

'नाम' अपभ्रंश भएर 'नाम' बनेको अर्को उदाहरण पनि छ। हाम्रो पुरेत गाऊँका एकजना दाइ छन्, मलाई निकै मनपराउँछन्। मजस्ता उरण्ठेउला पातकीहरु भने उनी नभएको बेला उनलाई 'शिकारी' भन्छौं। अब उमेरमा 'बिरालोदेखि बट्टाईसम्म' के-के खाए रामजाने, तर बन्दुक अथवा गुलेली लिएर शिकारै गर्दै हिँड्ने मान्छेचाहिँ ती हैनन्। घरका कान्छा छोरा भएकाले 'भेरो पुण्टु, मेरो भुण्टु, मेरो भुण्टुरु---'
भनेर बोलाईँदा_बोलाईँदै गाऊँलेले 'भण्टर' भन्न थाले। उनी रिसाउन थालेपछि केटाहरुले 'भण्टर'लाई 'हण्टर' बनाए। 'भण्टर' 'हण्टर'मा खासै फरक नभएकाले 'शिकारी'ले ठाऊँ पायो।

त्यसो त अचेल पनि अरुको 'नाम' राख्नु मेरो बिशेष रुचिको विषय हो। एकचोटि १० मिनेटजति भेटघाट र कुराकानी भएपछि त्यो मान्छेले 'सुहाउँदो' 'रमाइलो' नाम पाउँछ।

कुरोको आधी पाटो त बाँकीनै छ। बाल्यकाल देखि विद्यार्थी जीवन हुँदै तीसको दशक भ्याउने मेलोमा पुगुञ्जलेसम्म आफूलाई पनि कतिले कति थरी नाम दिए होलान्! अब आफैंले लेख्न सक्ने कुरो भएन क्या रे!

Last edited: 16-Feb-08 08:24 AM
Last edited: 16-Feb-08 08:36 AM
Last edited: 16-Feb-08 08:38 AM
Read Full Discussion Thread for this article