गोपालराज मैनाली तिक्ष्ण बुद्धि भएका तर त्यसलाई प्रदर्शन गर्ने मौका कमै पाएका (कम्तिमा ९० को दशक सम्म, माने मलाई अन्तिम जानकारी हुँदासम्म) कलाकार हुन् । एकसमय मद्यवेसनबाट आफ्नो सम्पूर्ण करिअर र पारिवारिक जीवन नष्ट बनाएका उनले कसरी त्यो त्रासदीबाट उठे र आफुलाई पुनर्स्थापित गरे, त्यो हेर्न भने म वञ्चित रहें ।
उनको विलक्षण बुद्धिको अनुभव गर्ने एउटा अवसर पाएको थिएँ मैले एउटा सभाको संकटको क्षणमा ।
पञ्चायतकालको एक समय काठमाडौंको “काभ्रेली सम्पर्क समाज” (वामपन्थीहरुको प्रभुत्व भएको एउटा सामुदायिक संगठन) ले एउटा सभाको आयोजना गरेका थियो डिल्लीबजारको सांस्कृतिक केन्द्रमा । काभ्रेका सेलिब्रेटीहरु गोपालराज मैनाली, हरिवंश आचार्य, किरण खरेल आदि अतिथीहरु थिए र प्रमुख अतिथी चाही काभ्रेबाट निर्वाचित रा.प.स. र परराष्ट्रमन्त्री शैलेन्द्र कुमार उपाध्याय ।
सभासञ्चालक चाही म आफै थिएँ ।
शैलेन्द्र कुमार उपाध्यायद्वारा चुनावमा हराईएका एकजना युवानेता पनि वक्ता थिए । उनले त उधुमै मच्चाए बा, मन्त्रीलाई अत्यन्त आक्रामक गालीपुराण सुनाएर । हामी उनीप्रति सहानुभूतिशिल भएपनि (पञ्चायतविरोधी जो थियौं) त्यो भाषण अशोभनिय दर्जाको थियो र वातावरण एकदम तनावग्रस्त हुन पगेको थियो ।
हामीले, मैले भन्नुपर्यो, अलिक पछि पालोमा राखेको गोपालराज मैनालीलाई बोल्न निम्ता गरें, एउटा ताजा वातावरण बन्ला भन्ने पनि आसामा ।
र भयो पनि त्यसै ।
मैनाली पनि क्षुब्द नै रहेछन् । तर उनले एउटा यस्तो भाषण दिए जसले चमत्कारै गर्यो (आयोजक हामी सबैले आपसमा त्यसलाई “चमत्कारै” भनेम) । वातावरणको बोझिलोपना पनि गायव, गालीवाद पनि गायव र एउटा बुद्धिजीवीजन्य वातावरणको पुनर्स्थापना पनि ।
उनको भाषणमा शब्दहरु केही पनि थिएनन् । केही absurd शब्दहरु राखेर बुरुक बुरुक उफ्रेर भाषण ठोके मैनालीले । त्यो भाषण म जिन्दगीभर बिर्सन सक्दिन ।
मैनालीज्युलाई मेरो गहिरो श्रद्धाञ्जली !