Posted by: Sarkozy February 7, 2008
राजेश के.सी. को कार्टून र इंडिया को बक्त्ब्य
Login in to Rate this Post:     0       ?        
  1. बुद्धिनारायण श्रेष्ठ

    कान्तिपुरको पहिलो पृष्ठमा पुस १८ गते प्रकाशित सुस्ता अतिक्रमण व्यङ्ग्यचित्रबारे भारतीय राजदतावास, काठमाडौंका प्रवक्ता गोपाल बाग्लेले त्यसको भोलिपल्ट प्रष्टीकरण दिनुभएको रहेछ । उहाँ भन्नुहुन्छ, ‘व्यङ्ग्यचित्र भ्रामकमात्र नभएर यसले निःसन्देह सम्मानित पत्रिका बनाउने तपाईंको उद्देश्यभन्दा तल्लो दर्जाको पत्रकारिताको कमसल स्वाद स्मरण गराउँछ ।’

    यसबारे म के भन्न चाहन्छु चाहन्छु भने- व्यङ्ग्यचित्र भ्रामक होइन एकदम तथ्यपुर्ण छ । यो समसामयिक र सान्दर्भिक पनि छ । किनभने व्यङ्ग्यचित्रमा चित्रण गरिएका सबै विवरण सत्य छन् । अधिकांश नेपाली जनमानसले सुस्ताको नेपाली भूमि अतिक्रमण भयो, भारतीयले सुस्तामा क्रमशः च्याप्दै-मिच्दै ल्याएको महसुस गरिसकेको छ ।

    सुस्ताका पीडितमध्ये ६० बासिन्दा सरकारलाई दबाब दिन हाल काठमाडौंमा आएका छन् । गोपाल गुरुङ, आदम खाँ, रोजअली मियाँ, लला बेगमजस्ता पीडित व्यक्ति भारतीयद्वारा यातना खेपिरहेका छन् । सुस्ताको आफ्नो जमिनमा नेपाली किसानले लगाएको उखुबालीसमेत भारतीय बासिन्दाले बलजफ्ती काटी लैजाने र बाँकी लैजान नसकेको आगो लगाई बालेर नष्ट गरिदिन्छन् । यसमा भारतीय सशस्त्र सेना बलको केही संख्या र विहार भाजपाका केही नेताको भूमिका रहेको सुस्तावासीले राम्ररी अनुभव गरेका छन् । यो अनुभवको प्रभाव अब अन्य नेपाली जनतामा पनि परिसकेको छ । यी बुँदाबाट कान्तिपुरको व्यङ्ग्यचित्र तथ्यपरक पाइएको छ । यसबारे सायद बाग्लेजी दिग्भ्रमित हुनुभएकोले उहाँले कमसल स्वाद पाउनु भएको होला । उहाँको भ्रम हट्यो भने उहाँले पक्कै पनि अविस्मरणीय स्वाद पाउनु हुनेछ ।

    अर्को बुँदा उहाँले लेख्नुभएको छ- “नेपाली भूमि अतिक्रमणको विषय उठ्न सक्दैन किनकि सुस्ता क्षेत्रमा सिमाना अझ रेखांकित हुन बाँकी छ ।” हो सुस्तामा दुवै देशको संयुक्त सीमा र्सर्वेक्षण टोलीले रेखांकन र नक्सांकन गर्न सकेको छैन । भारतले सुस्ता अतिक्रमण गरेकाले उनीहरू नक्सांकन गर्न चाहँदैनन् । किनकि शुद्ध नक्सांकन भयो भने भारतले मिचेको ठहरिन सक्छ ।

    एकातिर उहाँ अतिक्रमणको विषय उठ्न सक्दैन भन्नुहुन्छ । तर भारतका विदेशमन्त्री प्रणव मुखर्जीसमक्ष परराष्ट्रमन्त्री साहना प्रधानले नयाँ दिल्लीमा मंसिर २१ गते सुस्ताको नेपाली भूभाग अतिक्रमणको कुरा राख्दा मुखर्जीले ‘स्टाटस् को’ -पूर्ववत् अवस्थामा राख्न नेपाललाई आग्रह गर्नुभयो ।

    यस्त मन्त्रिपरिषद्को पुस ९ गतेको बैठकले सुस्तालगायत अतिक्रमित समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीले पनि यसबारे आफै गम्भीर भएको र भारत सरकारसँग यी समस्याबारे जानकारी गर्राई उच्चस्तरीय ढंगबाट छलफल चलाउँछु भनेको प्रकाशमा आइसकेको छ । यस्तो अवस्थामा प्रवक्ता बाग्लेले नेपाली भूमि अतिक्रमणको विषय उठ्न सक्दन भनेर कसरी र कुन हसियतमा भन्नुभएको हो ?

    प्रवक्ता बाग्लेका भनाइअनुसार भारत सुस्ताको कुरा उठाउन चाहँदन । किनकि सुगौली सन्धिताकाको नारायणी नदीको बहाव हाल पत्ता लाग्यो भने सुस्ता अतिक्रमित भएको ठहरिन सक्छ । नयाँ दिल्लीमा पुस ३-४ मा भएको नेपाल-भारत प्राविधिक स्तरीय संयुक्त सीमा समितिको ३१औं बठकको माइन्युटमा सुस्तामा भूमि मिचिएको भन्ने वाक्यांश राख्न नेपाली पक्षले जोड दिए पनि भारतीय पक्षले एकदम अस्वीकार गरेको कुरा प्रकाशमा आइसकेको छ । यसबाट के देखिन्छ भने तल्लो तहमा उनीहरू सुस्ता भन्ने शब्दका बारेमा छलफल गर्न चाहँदैनन्, सुन्न मान्दैनन् । सुस्ताबारे छलफल भयो भने भारतको हात तल पर्छ भन्ने उनीहरूको धारणा रहेको पाइयो । अतिक्रमण नगरिएको भए कुराकानी र क्षेत्रगत तथ्यपूर्ण सर्वेक्षणबाट स्पष्ट पारौं भन्ने भनाइ आउनुपर्ने होइन र ?

    अन्तिम बुँदामा उहाँ भन्नुहुन्छ ‘कान्तिपुर दैनिकको प्रथम पृष्ठको व्यङ्ग्यचित्रजस्तो पीत पत्रकारितालाई बेवास्ता गर्दै हामी आफ्नो नीतिलाई निरन्तरता दिन्छौं ।” यसबाट के झलक आउँछ भने व्यङ्ग्यचित्रमा जे चित्रण गरिएको भए पनि, जस्तो वाक्यांश लेखिए पनि त्यसलाई बेवास्ता गर्दै सुस्ताको नेपाली भूमि अतिक्रमण गर्ने नीति भारतले अझ बढाउँदै लैजानेछ भन्ने मनसाय उहाँले व्यक्त गरेको बुझन सकिन्छ ।

    यस मनसायलाई प्रमाणित गर्न उहाँले कान्तिपुर दैनिकमाथि पीत पत्रकारिताको दोषारोपण पनि थोपर्नुभएको छ । पत्रिकालाई आरोप लगाउँदा आफ्नो दुराशयपूर्ण धारणा बलियो बनाउन खोज्नुभएको छ । उहाँको धारणा मिथ्या छ भन्ने नेपाली जनमानसले बुझेको छ । कान्तिपुरले सधैं तथ्यपरक विवरण सम्प्रेषण गर्नेछ । सुस्ता, लिम्पियाधुरा-कालापानी जस्ता अतिक्रमित भूमिबारे उजागर गरेर नेपाली जनतालाई सुसचित गरिरहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

    - बुद्धिनारायण श्रेष्ठ
    भूमिचित्र नापनक्सा कम्पनी
    बागबजार, काठमाडौं ।

Read Full Discussion Thread for this article