अनुराधा
अन्तिम भाग
अनुराधा बिनोतीको पार्टीमा नगई मेरो मा मात्र आउनु मेरो हिसाबमा सरल अंक गणित जस्तो लागेको थियो। खोततल्दै जाँदा त्यो indeterminate algebra जस्तै भयो। उत्तर् भेटिएन कसै गरी।
जिन्दगीको रथ गुड्दै थियो। नयाँ अनुभूतीमा रमाउदै थियौं। भबिष्यका वासलात बनाउने प्रारम्भिक चरणमै थियौं। बिनोती युनिभर्सिटीमा पढाउने कामम ब्यस्त। बाहिर प्रोफेशनल काम गरी घरको चुल्हो सम्हाल्न गाह्रो हुंदो हो, त्यो भूमिका पनि असल बुहारी भै निभाई नै। सलाम गर्छु म म्याडमलाई जिन्दगीको कठिन मोडमा पनि बिचलित भइनन्।
हाम्रो बिहे फागुणको तेश्रो हफ्तामा भाको थियो। करिब दुइ महिना पछि अचानक अनुराधा हाम्रो घर आइन्।
प्राय जसो शनिबार को दिन पनि काम मै ब्यस्त हुने मान्छे म, अनि म्याडम् माइतीमा बाबा आमाको दर्शन गर्ने जाने। त्यो दिन संयोगले हामी दुबै घरमै थियौं। आश्चर्य चकित भयौं हामी दुबै।
तल दैलो मा गएं र औपचारिकता निभाउनै पर्यो।
"माथि नै जाउं न त, यहाँ बाटोमा के कुरा गर्ने?"
"म्याडम् पनि माथी नै छ आज।"
"टाइम छैन, म त मेरो बिहे को निम्तो मात्र दिन आएको। बैशाख २५ गते छ भोज, दुबै जना आउनु है। अन्त पनि कार्ड बाड्न जानु छ। अहिले जान्छु।"
जान्छु भन्ने लाई रोक्ने म संग कुनै कारण पनि थिएन, कुनै इच्छा पनि। मैले बस्, हस् मात्र भनें।
हाम्रो बिहेमा एकातिर आउनु न आउनु जति रहस्यमय लागेको थियो। त्यो भन्दा बढि उनको बिहे को खबर थियो। सामान्य भै सकेको अनुराधाको प्रसंग अब झसंग हुने खालको भयो। फेरि एकपटक अन्दाज को भरमा वक्तब्य जारी गर्ने पंडितहरुलाई मसला मिल्यो। अनुराधाको चर्चा फेरि पर्चा छरे सरि भयो।
हाम्रो बिहे भएको २ महिना मै अनुराधा ले बिहे गर्ने निर्णय लिइन् त?
सबै भन्दा बोझिलो र चोटिलो प्रश्न यही थियो। एक "तर्फी प्रेम? मेरो बिहे सम्म कुरेको हो त?"
सार्बजनिक बहसका प्रश्नहरु भए ती।
"साच्चै हो त ड्याडी?"
"खै छोरी, मेरो मनले मान्दैन।" बिहे भनेको त्यति बेला उति बेला नै गर्छु भनेर हुने होइन, बजारमा पाइने रेडिमेड कपडा होइन। साइत जुर्नु पर्छ।
त्यो संयोग मात्र हुन सक्छ। कुरेकी भन्न लाई हाम्रो बिहेको सुइको बर्ष दिन अघि नै पाएकी थिइन्। बरु मलाई लाग्यो, मैले इलाहाबाद छंदा लेखेको केही पत्रहरुले सांसारिक माया मोह त्याग्ने अस्वाभाबिक निर्णयलाई जीवन जगतको प्रबाहमा ल्याउन सफल भएं। खुशी मैले यसमाने मा भएं। तर फेरि आलोचना, समालोचना गर्नेहरु मुखहरु निस्के।
"राहुलेले गर्नु नगर्नु गरे। अनुराधाले अन्तिम घडि सम्म कुरे।" आदि इत्यादि।
म कसकस्को मुख टाल्दै हिडुं। हरकोहीलाई आफ्नो नजरबाट दुनिया पढ्ने छुट छ।
"मेरो आँखाको दुनिया बाट तिमीले बुझे पुग्छ छोरी।"
"अनि बिहे मा गैस्यो त?"
गएं, बधाई सहित उपहार् टक्र्याएं।
"त्यसपछि के भयो , भनिसियोस् न।"
त्यस पछि के भयो भन्ने अब, केहि भए पो। एक छिन हाँस्यौ दुबै जना। अहिले अनुराधा करोड पति ब्यापारीको श्रीमती भएर घर र ब्यबसाय दुबै सम्हाल्दै छिन् होली।
"बिहे पछि भेट भएन त कहिलेइ?"
हुन्न भने पनि हुन्छ, अनुराधाको दुनिया बेग्लै, हाम्रो दुनिया बेग्लै। बाटो मात्र होइन, जीवनको पातो नै बेग्लै। आ-आफ्नो हिस्साको जिन्दगी इमानदारपूर्बक जिउनु छ। हामीले सके सम्म हाम्रो जिन्दगीलाई जिउने कोशिश गरेका छौ।
हाम्रा समकालीन मित्रहरु, जो सम्पर्कमा छन्, तिनका छोराछोरीहरु हुर्कीबढि सके, तिनैको बर्तमन, बिहे मा कहिले काहि भेट् हुन्छ। हुंदैन भन्न मिल्दैन।
"लौ यही हो कहानी अनुराधा, छोरी। धेरैको लागि रहस्य नै भए पनि हाम्रो सबन्धमा कुनै द्वेश थिएन। न त मेरो मन मा कुनै पाप थियो, न त पस्चाताप नै।
"मैले बुझें ड्याडि, छर्लङ बुझें।"
मैले अझ क्लियर्ली बुझें, माई मम्मि एन्ड ड्याड् आर् रियलि ग्रेट्।
लौ पुरै दिन अनुराधा ले खाए छ, अब हामीले के खाजा खाने? म्याडम् फर्किने बेला भयो होला, म:म: बनाउने तयारी गरौं छोरी।
*समाप्त*