Posted by: gwanche January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

चौतारी स्वस्थानी व्रतकथा - १५
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! अब भउते मरुभूमिमा अस्ट्रिचद्वारा लखेटिएपछि के भयो सुनाउँछु। एक चित्त भई सुन। तहाँ उप्रान्त भाग्न लाग्दा बालुवामा खुट्टा अघि सार्न गाह्रो भई के गरुँ कसो गरुँ भयो। अब यस्तै चाल हो भने २-४ कदममा नै अस्ट्रिचको फेला पर्ने देखी अनायासै "हे भगवान, मेरो रक्षा गर्नुहोस्" भनी पुकार्दा भए। त्यस स्तूतिका प्रभावले एकैछिनमा ठुलो आँधीहुरी आउन लाग्यो र मरुभूमिको बालुवा आकासभरि उँडेर जताततै छिरलिन थाल्यो। आँधी आएको देखेर अस्ट्रिच पनि त्यसै फर्कियो। यता बालुवाको हुरीमा पुरिएको भउतेलाई बालुवाबाट कसैले साहरा दिई तान्यो। को रहेछ भनी हेर्दा लामो दाह्री भएका, टाउकोमा सेतो गोलो टोपी लगाएका, सेतो पाईजामा लगाएका व्यक्तिलाई देखी "हे साधु! तिमी को हो? कहाँबाट आयौ? र यस्तो आपतको घडीमा मेरो जीवनरक्षा गर्यौ। यस्ता तिमीलाई म कसरी धन्यवाद दिऊँ" सोध्न लागे। यस्तो सुनी उक्त व्यक्तिले "हे मानव! म यस भेगको देउता अल्लाह हुँ। सँधै आफ्नो भक्तजनहरुलाई खोजी हिंड्दछु। तिमीले भगवानलाई प्रार्थना गरेकोले सहयोग गर्न आइपुगें।" भनी सम्झाए। अल्लाहको यस्तो वचन सुनी भउतेले आफ्नो आरध्यदेव महादेवको बारेमा बताई कन्नेनडाँडाबाट मरुभूमिसम्म आउनुको प्रयोजन सबिस्तार गरे। सो सुनी अल्लाह क्रद्ध भई, आँखा राता बनाई, दाह्रा किटी सोध्न लागे "हे केटा! तँ हाम्रो अनुमति बेगर हाम्रो मरुभूमिमा कसरी आउने हिम्मत गरिस्?" यस्तो सुनेर भउतेले पनि देशभक्ति देखाउँदै भन्न लागे "हे साधु! हाम्रो देशमा पैसा नभएकोलाई 'ढ्यावा मरु', जीएफ नभएकोलाई 'ल्यास्सी मरु' भन्ने चलन छ। त्यसरीनै 'मरुभूमि' नाम सुनेर 'भूमि नै नभएको ठाउँ' कस्तो होला भन्ने उत्सुकताले पनि आएको हुँ। म कसरी यहाँबाट उम्किन सक्छु? बताऊ। मलाई यस ठाउँमा एक सेकेन्ड पनि मन छैन।" यस्तो सुनेर ती अल्लाहले पनि तुरुन्त भउतेको कागजातमा 'डिपोर्टेड' छाप लगाइदिई सिधै महादेव भएको कैलास पर्वतको टिकट कटाई पठाइदिए। र, आफू चाहिं बाँधी राखेको उँट चढ्न लागे।

यता कैलासमा आइपुगेको भउतेलाई देखी महादेवलाई पनि अत्यन्त दया जागेर आयो। त्यो जुरेली भन्ने कस्ती कन्या रहिछ। यस्तो गरी पागल भएर भउते हिंड्दा पनि कठोर भई गौशलामा म:म प्याक गरेर बसेको देखेर महादेवलाई पनि उदेक लाग्न थाल्यो। तहाँ उप्रान्त, महादेवले ध्यानदृष्टिले बिचार गरी, जुरेलीसँग मनमनै दूरसंचारले गफ गरी भउतेसँग मिल्ने सहमति गराई भन्न लाग्नुभयो "हे भक्त! तिम्रो जुरेलीप्रतिको अपार पियार देखेर म शिव पनि प्रशन्न भएँ। यदि चाहन्छौ भने जुरेलीसँग गफ गरेर उसलाई मनाएर लैजाऊ। तर एक शर्त छ, त्यो के भने तिमीले तीन पटक भन्दा बचन राख्न पाउने छैनौ।" महादेवको यस्तो वचन सुनी भउते पनि स्तूति गर्न लागे "हे महादेव! हे नीलकण्ठ! यस्ता दयालु तपाईंलाई कोटी कोटी नमस्कार छ। तीन वटा बिचार मात्रै राख्न पाउने भए पनि म धन्य भएँ।"

जुरेलीलाई भेट्दा हर्षले आँसु निकाली "हे जुरेली! तँ त केही दिनमै कस्तो दुब्लाइछस्। म:म प्याक गर्ने काम गर्दा पनि केही पनि खान पाउँदिनस् कि? हेर म सँधै अरुको षडयन्त्र जालमा मुछिई सधैं शहिद हुँदै आएको छु।" भन्दै केनेन्डाँडादेखि अफ्रिकासम्मको यात्रा बिबरण सुनाई भावुक मुद्रामा भन्न लागे "हेर! जुरेली मेरा यी दुई आँखाले मेरो पुरै कथा भन्छ।" यस्तो सुनेर जुरेली पनि चुपचाप भूईंतिर मात्रै हेरेर बसिरही। केहीबेर दुबैजना शान्त भएपछि दोश्रो तरीकाले जुरेलीलाई आकर्षित गर्ने उद्देश्यले अलि रोमान्टिक हुँदै भन्न लागे "हेर जुरेली! मेरो आँखा नजीकबाट नियालेर हेर! तैंले जति नै नियाले पनि तेरो लागि जन्मेदेखि साँचेर राखेको माया सँगालेको छु। मैले कसरी तँलाई छली ढाँटी गर्ने सकुँला र? भन् तँ मेरा आँखामा के देख्छेस्? देखिस् माया र पियार?" यस्तो सुन्दा जुरेली पनि भउतेसँग आँखा जुधाएर "अँह! देखिन" भन्ने भावले मुन्टो हल्लाई। यस्तो उत्तरप्रति अलि सशंकित हुँदै अलि झर्किएर अन्तिम बोली राखे "माया नदेखे के देखिस् त मेरा आँखामा?" भउतेको यस्तो प्रश्न सुनेर जुरेली अलि निन्याउरो बनी भन्न लागि "भउते!---- भउते, तिम्रो आँखामा त म चिप्रा बाहेक केही पनि देख्दिन।"

कबुल अनुसार तेस्रो बोलीले पनि जुरेली नफकिएकीले जुरेली पनि बिलिन भई गौशाला पुगी।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पँचदशोध्याय॥१६॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

Read Full Discussion Thread for this article