Posted by: Rahuldai January 28, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

 

अनुराधा
भाग २०

"छोरी, उमेर मै बिहे गर्ने चाहना म मा नि थियो तै पनि अनेक बहाना गरी बिहेलाई एक डेढ बर्ष पर सार्न सफल भएं।"
तिम्रो मम्मीलाई मनाउन नि  गाह्रो भो।  घरको परिस्थिति मिलाउन झन साह्रो। मन मिले पनि धन मिलाउन साह्रै गाह्रो भो। अड्डाको काम् पछि नि फुर्सद मिल्ने होइन, तै पनि रात संग एक मुठी समय पैंचो मागेर घरको नक्सा कोर्न थालें। मानौं कि नया जिन्दागीको नक्सा कोर्दै गैरहेछु।
घरको नक्सा कोरि दिन आग्रह गर्ने ग्राहकहरुको कमि थिएन। यसरी पुग न पुग "बिहेको खर्च"  जुटाउन सफल भएं।

त्यसो त अझै पनि आफ्नो करियरको प्रारुप बनि नसकेको र आर्थिक स्थिति अझै देशको जस्तो जर्जर नै भएको ले अलि ढिलै बिहे गरे हुन्थ्यो जस्तो लाग्थ्यो। तिम्रो मम्मी को दुरदर्शी सल्लह पनि त्यही थियो। घर परिवारको दवाव संग हारें, छोरी, हारें।

आज न गरे भोलि त गर्नै छ। परिवार गुमाएर के पाउछु जस्तो लाग्यो र बिहेको लागि राजी भएं र म्याड्मलाई जबर्जस्ति राजी गराएं। घर परिवारका अन्य सद्स्यहरु दङ्ग थिए। खर्चको चिन्ता कसैमा थिएन। इन्जिनियर  त्यो नि काइदाको अफिसमा हाकिम, फाइदा देखे सबैले।

उता तिम्रो मामाहरुले नि भब्य न भए नि गच्छे अनुसार् तयारी गरे। बिहे पार्टीको निम्ता दिन  म्याडम् आफै  अनुराधाको घर् गई मौखिक  निमन्त्रणा समेत दिनु भएको रैछ, मलाइी थह थिएन।
अनुराधा र म्याडम मिल्ने सखी न भए पनि नमिल्ने साथी पनि थिएनन्। स्कूलकी नाम कहलिएकी अनुराधा अनि स्कूलकी सबै भन्दा बढी अंक ल्याउने तिम्रो मम्मी।  एक ताका एकै क्याम्पसमा थोरै समयको लागि भने पनि संगै पढेकी।  त्यसैले पनि दुइबिच सम्बन्ध राम्रो नै थियो।
पार्टी भयो, धेरै जसो निम्तालुहरु आए, गए तर अनुराधा त्यो पार्टीमा गइनन् रे।

"किन होला ड्याड्डी?"

त्यो पार्टीमा किन गइनन्? मलाई थाहा हुने कुरा थिएन। सोध्ने कुरा  पनि होइन नि।
मान्छेको मन भित्र पस्न सकिन्न। दिलको डिलमा के कुरा खेल्यो, के खिचडी पाक्यो। के थाहा?  सबै अनुमानहरु मात्र हुने हुन्छ। म कसैको हनुमान पनि होइन, जता ततै उडेर गुडेर गएर चियो गर्दै हिड्ने।

 यता बिहेको औपचारिक कार्यक्रम अन्तर्गत दुल्ही भित्र्याइयो। "कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले। सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा  बिचलित नहुन, पथभ्रष्त नहुन चेतावनिको बिगुल फुक्दै थिए।"

पार्टी भयो, निम्ता गरे जति साथी सङी, इष्टमित्र, आफन्त अनि अड्डा का हाकिम, सहकर्मी सबै आए।रमाए। अनुराधा पनि आइन्। मलाई अनि म्याडम् दुबैलाई बधाई दिदै सामान्य भाव मै बिदा भइन्। बिबाहको सम्पूर्ण धार्मिक तथा मार्मिक संस्कारहरु सबै सकिए। नयाँ दायित्वबोध भए नि मनले रोजेको खोजेको र भेटेको  जीवन साथी पाएकोमा म खुशि थिएं। 

भिडियो  इडिटिङ् पछी पहिलो पल्ट हामीले  हेर्‍यौं, त्यो रात म्याडमले अचानक जिज्ञासा राख्नु भयो।

"अनुराधा मेरो पार्टीमा न आउनु तर  यताको पार्टीमा मात्र आउनुको  रहस्य के होला?"
 "मलाई के थाहा?"
अप्रत्याशित र अप्ठेरो प्रश्नले मथिङ्ल घुम्यो, रोटे पिङ् घुमे जस्तै। मैले त्यति मात्र उत्तर् दिएं। अलि नमज्जा लाग्यो, हलुवा खांदै गर्दा बालुवा परे जस्तो भयो। त्यो रात मैले न चाहंदा न चाहंदै सोच्न बाध्य भएं।

"अनुराधा, तिमी किन उनको भोजमा गएनौ? "

इर्ष्या, इन्फेरेइयर कम्लेक्सिटी? के थियो त्यो?

क्रमश:

 
 
Last edited: 28-Jan-08 07:38 PM
Read Full Discussion Thread for this article