Posted by: gwanche January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

चौतारी स्वस्थानी व्रतकथा - (अंक चैं भूलें, गालवले मिलाउँछ भोलि) (मिलाईएको: अंक: १४)
वाचक - गालवको सब्स्टिच्युट (चित्र बादुर)

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मूनि! म अब तिमीलाइ भौतेकाजी किन अस्ट्रीचबाट लखेटिनुपरे, र केनडाँडाको राजा बन्नबाट कसरी बन्चित भए भनी सुनाउँछु, एक चित्त भई सुन।

पून्टेले जुरेलीलाइ लुकाएर आफ्नो पहुँच भन्दा टाढा राखेकोमा भौतेले रीसले चूर हुँदै केही गरेर देखाउने अठोट गर्दै महादेवको तपस्या गर्ने निधो गरे। केनडाँडाको पश्चिमतिर रहेको रक्की माउन्टेन्स्मा गई एक खुट्टाले टेकी हजारौं मिनेटसम्म शिवको घोर तपस्या गर्दा भए। यो कुरा थाहापाई महादेवले फोन गरी भौतेलाई भन्नुभयो, 'भौतेकाजी, तिम्रो घोर तपस्यादेखि म खुसी भएँ, वरदान माग'। खुसी हुँदै भौतेले भने, 'हे महादेव, भक्तजनको ईच्छा पुर्याउने, विष भाङ् धतुरो खाएर काठमाडौंको पब्लिक बसमा बब मार्लेको संगीतमा ताण्डव नृत्य गर्ने, यस्ता तपाइलाइ मेरो कोटी कोटी 'हेल्लो' छ। अब वरदान त तपाइले अनुमान लगाइ नै सक्नुभो होला, मलाइ चाहिएको त्यै जुरेली नै त हो नि, जुरेली पाम् पर्भु।'

यो सुनी महादेवले भन्न थाल्नु भयो, 'हे भौतेकाजी, तिमी कस्तो कुरा गर्छौ, तिमीलाइ थाहा नै छ, मैले त उछिट्याउन नसकेकी जुरेली म तिमीलाइ कसो गरी वरदान दिम्? मैले तथास्तु भने नि तिमीले पाउँछौ कि पाउँदैनौ निश्चित छैन, बेकारमा मेरो वचन मात्र खेर गयो भने त मेरो घोर बेईज्जत हुन्छ। बरू अरू नै वरदान माग।'

यो सुनी भौतेकाजी भन्न थाले, 'उसो भए प्रभु! म केनडाँडा राज्यको राजा हुन पाउँ'। महादेवले पनि केही नसोची 'तथास्तु!' भने, त्यही समयमा महादेवको फोनको क्रेडिट शून्यमा परिणत भयो र फोन काटियो। भौतेकाजीको खुट्टा खुशीले भुइमा रहेन, केनडाँडाको राजा बन्ने कल्पनाले प्रफुल्लित हुँदै नाच्न थाले।

फोन काटिएपछि महादेवले ध्यान गरेर विचार गर्दा भए, एकैछिनमा उनी झसंग भए, किनकि केनडाँडामा राजा हुन्नन्, राष्ट्रपति मात्र हुन्छन् भन्ने कुरा उनले त हेक्का नै नराखी वरदान दिएछन्। केही बेर सोचे पछि महादेव कैलाश पर्वतको 'त्रिशूल ईन्टरनेट' क्याफेमा गई भौतेकाजीको नाममा ईमेल लेख्दा भए।

प्यारा भउत भउतेकाजी,
मेरो फोन अनायासै काटिएकाले तिमीलाइ केनडाँडाको राजा बन्न के गर्नुपर्छ भनी बताउनै भ्याइनँ। अब यो बिजुलीपत्र मार्फत भन्छु, पलेटी कसेर दुई हात जोडेर एक चित्त भई पढ।

केनडाँडाको राजा बन्न त्यति सजिलो छैन। केनडाँडामा हरेक साल हात्तीलाइ माला दिएर राजा छान्न लगाइन्छ, जसलाइ हात्तीले माला लगाइदिन्छ, ऊ नै केनडाँडाको राजा हुन्छ। उक्त हात्तीलाइ फकाएर आफ्नो हातमा पार्नको लागि तिमीले यौटा काम गर्नु पर्छ। त्यस हात्तीको धेरै वर्ष देखि कोही सन्तान छैन, सन्तान सुखको लागि साह्रै तड्पिरहेको छ। तर उसको कोही ढोइ नभएको हुनाले तिमीले उसलाइ यौटा 'हात्तीको अन्डा' उपहार दिनुपर्छ, जुन फुटेपछि हात्तीको बच्चा निस्कन्छ।

उक्त अन्डा लिन यहाँभन्दा धेरै टाढा अफ्रिका भन्ने ठाउँको मरूभूमीमा जानुपर्छ, र बालुवा मुनि गाडिएको अवस्थामा हात्तीको अन्डा झिकेर ल्याउनु पर्छ। त्यति गर्न सक्यौ भने तिमी केन्डाँडाको राजा हुने १०१ प्रतिशत निश्चित।

श्री महादेव,
कैलाश पर्वत। shreemahadev@hahoo.com


भौतेले महादेवको कुरा पत्याएछ र अफ्रिकाको मरूभूमितिर हान्निएछ। घन्टौं तातो बालुवामा हिंडेर पनि केही नभेट्टाएपछि, निरास हुँदै काँडैकाँडा भएको बोटमुनि थकाइ मार्न बसेछ। ऊ बसेको ठाउ नजीकै बालुवामा आधा गाडिएको अजंगको सेतो बस्तु देखेपछि भौतेको खुशीको सीमा रहेन। हत्त न पत्त उक्त बस्तु निकाली, सकि नसकी बोकेर हिंड्न थाल्यो। यत्तिकैमा अचानक, एउटा अजंगको, भीमकाय जीउ भएको, बाँस जस्ता खुट्टा भएको, भाला जस्तो गर्दन भएको, छुरा जस्तो चूच्चो भएको, चरा भनुँ भने उड्न नसक्ने, जनावर भनुँ भने चार खुट्टा नभाको जीवले लखेट्न थाल्यो। यो देखी भौतेकाजी आत्तएर 'हात्तीको अन्डा' त्यही फाली न्वारनदेखिको बल लगाइ भाग्दा भए।

इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मये कुमारागस्ते संवादे......।

Read Full Discussion Thread for this article