Posted by: gwanche January 27, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

चौतारी स्वस्थानी व्रतकथा - १३
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

सुर्यनारायणले पश्चिमी क्षितिजबाट पहेंलो किरण फालेर बिदा लिएको बेला छ। चारवटा भित्तामा जडान गरिएको बिजुली बत्तीको चहकलाई मधुरो बनाई कोठालाई अलि अँधेरो बनाइएको छ। त्यसको सट्टामा कोठाको बिचमा राखिएका चारवटा टेबुलहरुमाथिका मैन बत्तीका प्रकाशले उज्यालो थपेका छन्। ती चार टेबुलहरु लगातार जोडेर लामो बनाइएको छ । प्रत्येक टेबुलको पछाडि दुई वटा आरामदायी कुर्चीहरु राखिएका छन्। अगाडिपट्टि ती टेबुलसँग समानान्तर हुने गरी लाम्चो आकारको स्टेज जस्तो, भूईंबाट अलि अग्लो, भाग छ जसमा पुरै कार्पेट लगाइएको छ र बीचमा चकटी आकारका दुईवटा बाघका छाला ओच्छ्याइएको छ। दाहिनेपट्टिको छालाको चकटीमा एक अधवैंशे उमेरका व्यक्ति विराजमान छन्। उनका लामा जगल्टाहरुलाई सर्पले बेरेर सम्याएका, घाँटी र नाडीमा सर्प र रुद्राक्ष बेरिएका, शरीरभरि खरानी धसेका, अनि बाघको छालाको कट्टु लगाएका हुनाले उनी शिवजी हुन् भन्ने अन्दाज गर्न सजिलै सकिन्छ। (ल, सबैले कोटी कोटी नमस्कार गर्नुहोस्।) शिवजी अलि अधीर र बिचलित मुद्रामा छटपटाइरहेको भान हुन्छ।

शिवजी पार्वती! ए पार्वती! हैन तिनीहरु अँझै आइपुगेनन्? बोला'को समय त भइसक्यो। किन यस्तो ढिला गर्छन् बा!

पार्वती (भित्री कोठाबाटै) हजुर। आउँदै होलान् नि! तपाईंलाई नि कति हतार भा'को? नेपालीहरुको देउता भएसि नेपाली समय त अलिअलि भइहाल्छ नि।

शिवजी हैन। चाँडै आए भने चाँडै शुरु गर्न पाइन्थ्यो।

पार्वती आ! होस्। आफूले खाना पुरै बनाइभ्या' नि छैन।

शिवजी (उठेर भित्तामा टाँसेर राखिएको फोन डायल गरेको केही क्षण पश्चात) हेलो! अमरावती हो?
म कैलाशबाट शिब बोल्दै छु।
ए, ठिकै छ। अनि सुन त बाबु, इन्द्र त्यहीं छन् कि हिंडिसके?
ऐरावत हात्तीमा हिंडेको रे? खुरुक्क अन्तर्ध्यान भएर नआ'र किन बसाहामा चढेर आउन पर्या होला नि? झन् बेलुका अड्डा जमाउँला भन्या' त।
हात्तीमा आए पनि अड्डा जमाउन मिलिहाल्छ रे? कहाँ मिल्छ? देउताका राजा भ'र नि ड्रिङ्क् ड्राइभ गर्न मिल्छ?
हिंडिसक्या भए भइहाल्यो। ल त बाबु। (फोन रिसिभरमा राख्छन्)

पार्वती (भित्रैबाट) तपाईंलाई चैं किन फोनै गरेर सोध्न परेको नि? ध्यानदृष्टिले बिचार गरेर हेरेको भए भइहाल्थ्यो नि!

शिवजी ध्यानदृष्टिले हेर्नलाई फेरि मेडिटेसन् गर्न पर्छ। अलि ट्याम लाग्छ। झन त्यो भन्दा पनि प्राइभेसीको कुरा आउँछ। उनको हरेक क्रियाकलाप ध्यानदृष्टिले हेरिदियो भने बिचराको प्राइभेट लाइफ नै हुँदैन। (यत्तिकैमा बाहिर रुखको हाँगो भाँच्चिएको आवाज आउँछ।)

पार्वती केको आवाज हो हेरेर आउँछु। (एकछिन पछि बाहिरबाटै) ए, ईन्द्रजी आइपुगेछन् त। दर्शन् दर्शन्। पर्दैन, पर्दैन खुट्टामा ढोग्न त। अहिलेको जमानामा नमस्कार गरे पुग्छ।

ईन्द्र (बाहिर पार्वतीसँग बात मार्दै) के गर्नु हेर्नुस् न! बाटोमा यो ऐरावते रुख देख्ने बित्तिकै खानीकुरा खान खोजिहाल्छ। हजुरको आँगनको यो बोटको हाँगो पनि भाँचिदियो। आजभोलि यो छाडा भा'छ। बरु कहाँ बाँध्ने होला यो हात्ती?

पार्वती क्यै छैन। यस्तो रुख पछि लगाउँला। ऐरावतलाई त्यही रुखको फेदमा बाँधे हुन्छ। (एकै छिनमा पार्वतीको पछि पछि ईन्द्र आफ्ना छ जना अंगरक्षकसहित कोठामा पस्छन्।)

शिवजी (ईन्द्र र उनीसँग आएकाहरुको दण्डवत स्वीकार गरिसकेपछि टेबुलपछाडिको कुर्चीहरुमा बस्ने ईशारा गर्दै) ल, बस, बस। हामी तिमीलाई नै कुर्दै थियौं।

ईन्द्र (सबैजना टेबुलमा बसिसक्छन्। पार्वती भने फेरि अघिकै कोठामा फर्किन्छिन्) अनि प्रभो! हजुर त धेरै समयका लागि नै वेपत्ता हुनुभयो। कैलाश र स्वर्ग पुरै सुनसान भयो। कतै फेरि हामीलाई माया मारेर तपस्या गर्न त हिंड्नुभएन भनेर पीर मानिरा'।

शिवजी हैन हैन। यसचोटि मर्त्यतिर घुम्न भनेर गएको थिएँ। पहिलो पटक जाँदा कान्तिपुरतिर २-४ दिनभन्दा घुम्न पा' थिइन। मेरो भक्तहरु पनि थुप्रो रहेछन् नि त कान्तिपुरतिर। के नेपाली, के विदेशी? के गोरा? के काला? जता गए नि जो पनि "जय संभु!" भन्दै गाँजा तान्ने। पहिलो पटक जाँदा पनि अँझै बस्नुहोस् प्रभो भनेर कर गरिराख्या' थिए। अलि व्यस्तताले गर्दा टाइम दिन पाएको थिइन; तिमी पनि मलाई भेट्न भनेर कैलाशसम्म आ'थ्यौ क्यारे! अनि हतार हतार मै फर्किन पर्या'थ्यो। यसचोटि चाहिं अलि फुर्सद मिलाएर ७-८ वर्ष उतैतिर बसें। (यत्तिकैमा एउटा ट्रेमा चिया बोकेर पार्वती आउँछिन्। ईन्द्रको अगाडि चिया राखिदिएपछि शिवलाई पनि एक गिलास पुग्न दिन्छिन्। त्यसबेलामा उनी शिवजीलाई आँखा तरेर हेर्छिन्। शिवजी पनि उनलाई आँखा झिम्क्याएर चुप रहन संकेत दिन्छन्।) खुब रमाइलो भो। दिनदिनै जसो बाहिर निस्कियो। शिकार खेल्न गइयो। चितवन भन्ने ठाउँमा जंगल सफारी गरियो, अनि नारायणीमा जलबिहार पनि गरियो। (पार्वती त्यसपछि अरु सबैलाई चिया राखिदिएर रित्तो ट्रे बोकी फर्किन्छिन्।)

ईन्द्र ए! रमाइलो भएछ नि त प्रभो। अनि खानेकुरा पनि त मीठो-मीठो खान्छन् रे मर्त्यमा भन्ने सुन्छु त।

शिवजी खाना को त कुरै नगर। मर्त्यमा कति मिठा मिठा खाना भने कुरै नगर। हाम्रा चौरासी व्यञ्जनभन्दा मिठा। अँझ, गौशाला भन्ने ठाउँमा म:म भन्ने खानेकुराको त कुरै नगरौं। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रजीलाई म:म ख्वाऊ त। बना'की छु भन्या हैन?

पार्वती हजुर, अहिल्यै ल्याएँ। (पार्वती एउटा ठुलो प्लेटमा मासु र अर्को प्लेटमा रोटी बोकेर ल्याएर ईन्द्रको अगाडि राखिदिन्छिन्। फेरि एक पटक कोठामा फर्केर अर्को सानो प्लेटमा दुईवटा रोटी र अलिकति मासु राखेर शिवजीको अगाडि राखिदिन्छिन्)

शिवजी (पार्वतीसित साउती मार्दै) खै त म:म? यो त रोटी र मासु पो त।

पार्वती (शिवजीले मात्रै सुन्ने गरी) अनि, तपाईंले भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभा' हैन? त्यही भ'र भित्री कोठामा यो मासु पकाएँ र बाहिर आँगनमा चुलो लगा'र रोटी पकाएँ। यही त होला नि म:म। आफूले देख्या छैन के रे!

शिवजी (अँझै पनि मधुर आवाजमा) त्यसो भन्या हो त लाटी? पिठो भित्र मासु राखेर लड्डु बना'र पकाऊ पो भन्या त।

पार्वती (झर्किंदै) ऊ बेलामा भित्र मासु, बाहिर पिठो पकाऊ भन्नुभो। अहिले फरक कुरा गर्नुहुन्छ।

शिवजी ल ठिकै छ। बरु यो ईन्द्र पनि मर्त्यतिर गएर म:म खान बस्यो भने बरबाद हुनेभो। (ईन्द्रसँग बात मार्दै) अँ, म भन्दै थिएँ। अहिले तर नेपालतिर त कति बिकास भइसकेछ। खानेकुरा पनि सबै मेसिनमा पकाउँदा रहेछन्। कहाँसम्म भने भात त कसौंडीमा पकाउन छोडिसकेछन्; सबैजजना राइसकुकर भन्ने भाँडो चलाउँदा रहेछन्। मलाई पनि लैजानुस् लैजानुस् भनेर कर गरे। अनि एउटा बोकेर आएँ।

ईन्द्र ए! तर यत्रो अग्लो ठाउँमा भात राम्ररी पाक्छ र प्रभो? पानीको बोइलिङ् प्वाइन्ट त यहाँ धेरै कम हुन्छ क्यारे नि। त्यसै भएर आफूले स्वर्गमा भात खानै पाएको छैन। कहिलेकाहीं भोजभतेरमा मर्त्य जाँदा चाख्ने मात्रै हो। (पार्वतीले तरकारी, माछा, मासु, दुध, दही, घ्यू, करेलाको अचार, गोलभेंडाको अचार आदि टेबुलमा ल्याएर राख्छिन्।)

शिवजी त्यसको चिन्तै नगर। त्यो भाँडोले आफैं गरिदिंदो रहेछ। आजको यो डिनरमा पार्वतीले नेपालबाट ल्याएको मसिनो चामललाई त्यही राइस कुकरमा पकाउन लागेकी छिन्। यी परिकार सबै भातमा मुछेर खाँदा त बहुत आनन्द आउँछ। (अलि ठुलो स्वरमा) पार्वती! ल, ईन्द्रलाई राइसकुकरमा पका'को मसिनो भात खुवाऊ। (सबैजना आफ्ना आफ्ना थालमा ती परिकार राख्न थाल्छन्।)

पार्वती (खाली हात आउँछिन्। शिवजीसम्म पुगेर बिस्तारै बोल्छिन्) ए हजुर! मैले त त्यो राइस कुकर हो कि कुकुर हो बटन थिच्नै बिर्सेछु।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे त्रयोदशोध्याय॥१३॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

Read Full Discussion Thread for this article