Posted by: world_map January 21, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
Posted on 01-21-08 10:38 AM     Reply | Notify Admin | Delete
 
श्री स्वस्थानी व्रतकथा - अल्लारे यूग

प्रथम अद्याय-

ग्वाँचेजी आज्ञा गर्नुहुन्छ, हे गालबेन्द्र मुनि! तपाइँले खप्पर यूगमा बाचन गर्नुभएको चौतारि स्वस्थानि व्रतकथालाई पढेर,गुनेर,पालन गरेर नित्य यातायात चलाई, नित्य सोमरसमा स्नानादी कर्म गरि,नित्य तरुनि नजर गर्दा पुन्टेदाईका कृत कृत भएका  चच्छुहरु,फड्फडाएका तन्तुहरु देखेर, यस अल्लारे यूगमा म्लेक्षद्विपे,केनडावडावर्षे,टोरन्टपदेशेका भगुतेन्द्र योगीको मन मष्तिस्कमा अल्लारे बिउ अङ्कुराउन थालेको कथा कहन्छु!तहाँ उपरान्त, योगी भगुतेन्द्रको मन मनमष्तिस्कमा अंकुराएको टुसाले भगुतेन्द्र योगि कस्ता भए भने, नित्य प्रात:कालमै सोमरसको तिर्खाले व्याकुल हुने, जतिबेला पनि धुम्रपान अनुकुल हुने,प्रयोगशाला जान हिँडेका योगी गौशाला पुग्ने, भोजनालय जान हिँडे भने शैचालय पुग्ने,धुलिखेल घुम्न निस्कँदा टुँडिखेलमा पुगेर लड्ने, यस्तो भावबंगिमाले अचेत बनाउँदा भगुतेन्द्र योगी अत्यन्तै व्याकुल हुँदा भए!बेला बेलामा छल्न आएर चेत हराउँदा "हा! तरुनि!" भन्दै केनडाँडाको डाँडै डाँडा सैर गर्दा भए। भगुतेन्द्र योगि यसरी बिव्हल भएर "हा! तरुनि!" भन्दै जताततै मडारिएको देखेर केनडाँडाका सम्पूर्ण घरका झ्याल ढोकाहरु बन्द हुन थाले!तरुनि भएका कुटिहरुको ढोकामा भोटे ताल्चा लाग्न थाले! यो देखेर झनै चेत हराउँदै जाँदा एउटा वनमा पुग्दा भए। त्यो वन कस्तो भने, जताततै जुनकिरी जस्ता बिजुलि बत्तिको झिलिमिलीले ज्वाजल्यमान भएको, आकाशभरि राखिएका प्वालै प्वाल भएको स्थानबाट हिपहपको मधुर संगित गुन्जिरहेको, स्वर्गका अप्सराहरु, उर्बशी, रम्भा, तिलोत्तमा इत्यादीहरुले कयौँ हाउभाउ कटाक्ष गर्दै आफ्नो शरिरको पूर्वार्ध र उत्तरार्ध कम्पन गराउँदै नृत्य गरिरहेका! यस्तो लोकमा पुग्दा भगुतेन्द्र योगिको बिचलित मन केहि शान्त भयो। भावावेशको अतिरेकतामा आएर भगुतेन्द्र योगि फेरि हा! उर्बशी! भन्दै उर्बशीलाई अंकमाल गर्न पुग्दा भए!उर्बशिलाई अंकमाल गर्न खोज्दा पुन्टेदाईको श्रापले गर्दा उर्बशी हिउभको मुर्तीमा परिवर्तन भइन्। त्यहि हिउँको मुर्तीलाई  पनि अंकमाल गरौँ भन्दा हिउको मुर्ती पग्लिएर पानी भयो!यस्ता अनेकन कष्ट सहेर शोकमग्न हुन पुगेका भगुतेन्द्र योगिलाई, त्यहि वनमा आनन्दगरि गरेका दिपेन्द्रले देख्दा भए। दीपेन्द्र कस्ता भने कृष्णको जस्तो केश पारेका,कामदेवको जस्तो आँखा र रामदेवको जस्तो  शरिर बनाएका बेला बेलामा कपालभाँती गर्दै अत्यन्त आनन्दपुर्वक वरिपरी बाङ्गेन्द्र, ट्वाकेन्द्र, बर्मुन्द्र र सुपारेन्द्र सखाहरु समेत लिई अत्यन्त आनन्दपूर्वक बसेका थिए। भगुतेन्द्र योगीको बिजोग देखेर सहानुभुति राख्न पुगेका दिपेन्द्रले आफ्नो खप्परयुगमा भएको स्थिति सम्झि भगुतेन्द्र योगिलाई पनि स्वस्थानिको व्रत बस्ने सल्लाह दिने कुरा सोच्दा भया!हे गालबेन्द्र मुनि यो प्रथम अध्याय कहँदा कहँदा मेरो सोमरसको समय व्यतित हुन लागेकोले कसरि भगुतेन्द्र योगिलाई दिपेन्द्रले स्वस्थानि व्रतकथाको तरिका सिकाए र कसरि भगुतेन्द्र कृत कृत हुँदै सुन्दा ग गर्दा भए अर्को अद्धयायमा कहन्छु।
इति श्री ग्वाँचन्दपुराणे
चौतारी खन्डे
माघमहात्म्ये
ग्वाँचागालबस्त संवादे
श्री सोस्तानीपररररमेस्वरि प्रथमोध्याय

Posted on 01-21-08 3:37 PM     Reply | Notify Admin | Delete
 

मैले यो स्वस्थानीको पहिलो अध्याय बनाउने हिसाबले लेखेको थिएँ अस्ति शनिवार हुँदी, नयाँ चौतारी बनोस् र टाँसौंला भनेर कुरेको, जिम्मालले जितिसकेछन्। तर ठीकै छ, अब टाँस्दैछु।

अर्को कुरा, यो पाली गालबगुरुले नभ्याउने भएपछि हामीमध्येनै पालैपालो गरेर सुनाउँदा कसो होला?

हवस् त, सप्ताहान्तहरुमा मौका मिले अरु पनि खोक्दै जाउँला।

 

स्वस्थानी-२०६४

फूलपाती हातमा ले'र आंखा चिम्लेर बस गाम्ले हो!

यं ब्रह्मा वरुणेन्द्र------

 

द्वितिय अध्याय

 

कुमारजी आज्ञा गर्नुहुन्छ “हे पातकी अगस्त्य मुनि, माघ लाग्न पाएको छैन, तिमी फेरि मैकहाँ अन्मरियौ? के देखेका छौ यहाँ र यसरी झुत्ती खेलेका छौ? संसारमा अन्त कतै नअटाएका, घिचुवा, लोभी बूडा, पोहर मकहाँ बसेर डकारी-डकारी घिचेथ्यौ, यसपाली पनि त्यहि सम्झेर आएका हौ? मान्छे तिमी अजिंगरजस्ता छौ, सासैले भात तानेर हसुर्छौ! तिम्रो भुँडी पनि भुँडीनै रहेछ, जति हालेपनि नभरिने! कतिवटा भुँडी छन् हँ तिम्रा? कि मेरी अर्धांगिनी च्वाँ---क देखेर आँखा गाडेर आएका हौ?!” कुमारजीका यस्ता कुरा सुनी अगस्त्य मुनि भन्दा भए, “हे ख्वामित, त्यसो आज्ञा नहोस्। यस्तो पाप चिताएँ भने म अहिल्यै भस्म-खरानी हुनुपरोस्। हजुरजस्ता ज्ञानीका संगतमा बसे मलाई पनि अलि-अलि ज्ञान मिल्दो हो भनी आएको हुँ।“ यति सुनेपछि कुमारजीबाट आज्ञा भयो, “निहुँ पार्न पनि खुब जानेका छौ असत्ती बूडा, ल भन के सुन्न तिम्रा कान त्यसरी पाकेर चिलाएका हुन्।“ कुमारजीका कुरा सुनेपछि अगस्त्य मुनि भन्दा भए, “प्रभो, अचेल सारा चराचर जगतमा यो ‘चौतारी लोक’ भन्ने लोकको वर्णन असाध्यै चलेको छ। यो कस्तो लोक रहेछ जान्ने मनसुबा भयो।“

 

अगस्त्य मुनिको यस्तो जिज्ञासा सुनी कुमारजीबाट चौतारीलोकका बारेमा वर्णन शुरु भयो। “हे अगस्त्य मुनि, त्यो चौतारी लोकको कुरा तिम्रोजस्तो गिदीको सट्टा लिदी भरिएको खोपडीले बुझ्ने कुरो त हैन, तैपनि सुन, तिमीजस्ता भातमारालाई भात पचाउने मेलो हुन्छ। त्यो चौतारी लोक भनेको ‘देशभित्रको महादेश’, ‘राष्ट्रभित्रको महाराष्ट्र’, ‘मानवभित्रको महामानव’ भनेजस्तै ‘लोकभित्रको महालोक’ हो। तिमी ‘परलोक’ले समेत नपत्याएकालाई यो ‘लोकभित्रको महालोक’का कुरा कसरी सम्झाउनु? हेर त्यसको वर्णन त हजार थुतुना भएका कुम्ले नाग र हजार जिब्रा भएका बिर्खे नागले पनि गर्न सक्दैनन्,।“

 

“त्यो चौतारी लोक तिम्रो टाउकोभन्दा पनि गोलो छ। त्यसको अर्धव्यास चारसय योजन र व्यास पच्चीससय योजन छ। लाख वर्ष पहिलेबाट त्यसको परिधि नाप्न थालेका चित्रे चित्रकार अझै नाप्या-नाप्यै छन्।“ कुमारजीका कुरा बीचैमा काटेर अगस्त्यमुनि भन्दा भए, “प्रभु, अर्धव्यास चारसय योजन हुँदा व्यास कसरी पच्चीससय योजन भयो?” अगस्त्य मुनिको यस्तो प्रश्नन सुनी रिसले राता-राता आँखा पार्दै कुमारजीबाट कड्किँदै आज्ञा भयो, “बढ्ता जान्ने किन हुन्छौ ए हाँडीघोप्टे बूडा?! द्वन्दात्मक भौतिकवाद भनेको त्यहि हो। तिम्रो मुख किन यतिविधि चिलाउँछ हँ?! मैले भनेपछि भयो, चूप लागेर सुन न तिमी!” त्यसपछि अगस्त्य मुनिले “हवस् प्रभु, अबदेखि बोल्दिन।“ भन्दा भए र टाउको निहुराएर सुन्दा भए।

 

“त्यो चौतारी लोकका प्राणिहरु सबै धुरन्धार सृष्टीकर्ता हुन्। कोही बगैंचाभरि डलरका रुख उमारेर, दिनरात बाँदरको जस्तो रूखका हाँगामा बसी डलर टिप्छन्; कोहि बोरा, धोक्रा, सिरकका खोल समेतमा येन कोचेर बस्छन्, कोहि यूरोका चाङ्गमाथि सुत्छन्। त्यो लोकका प्राणीहरु एकापसमा कुराकानी पनि लोकभरी छ्याप्छ्याप्ती पारेर बिछ्याएको मायाजालका माध्यमले गर्छन्।“ फरि अगस्त्य मुनिले सोध्दा भए “आमने-सामने हुँदापनि मायाजाललेनै कुराकानी गर्छन् त प्रभो?” यो सुनेर कुमारजीले फेरि कड्किँदै आज्ञा गर्नुभयो, “आमने-सामने हुँदा बात मार्न त तीनका थुतुना छँदै छन् नि काँठा बूडा!” तहाँ उप्रान्त अगस्त्य मुनि पुन: टाउको निहुँराउँदा भए। 

 

“त्यो चौतारी लोकका मानिसहरु अचेल एकदम राम्टिके भएर निक्लेका छन्। वायुमण्डल प्वाल परेर मर्त्यलोकको तापक्रम बढेको हुनाले त्यसको असरले चौतारी लोकमा यो रोग फैलिएको हो भनी ज्ञानी ऋषिमुनिहरु भन्दछन्। त्यो राम्टिके रोगका कारण अचेल चौतारी लोकका प्राणीहरु ‘लप’कै मात्र कुरा गर्न थालेका छन् ‘लप’ गरेको, ‘लप’ परेको, ‘लप’ पर्न-पर्न आँटेर पनि फुत्त उम्केर अर्कैका भागमा परेको, फेरि कसैको भने आफैं ‘लप’ गर्दै नगरे पनि अपुतालीमा आईपरेको आदि कुरा जोडतोडले गर्ने गरेका छन्। अहिले चौतारी लोकमा राम्टिके माया-पिरेमका उत्तम-उत्तम मार्मिक सिनिमा देखाउने हल पनि छ्याप्छ्याप्ती खुलेका छन् भन्ने वर्णन आइपुगेको छ चौतारी लोकबाट। चौतारी लोकका सबै प्राणीहरु तिनै हलमा बसी साँझ-विहान लपेश्वरी देवीको भजन गरी फलफूल इत्यादि चढाइ नाचगान पनि गर्छन्।

 

कुमारजी चौतारी लोकका बारेमा अरु कुरापनि आज्ञा गर्दै हुनुहुन्थ्यो, भान्छामा बसेकी कुमारजीकी अर्धांगिनी कन्याजीबाट भोजन तयार भएको खबर आएका हुनाले कुमारजीले अगस्त्य मुनिलाई “ल तिम्रा भुँडी फोर्न हिँड बूडा।“ भन्दा भए र दुबैजना भित्रतिर प्रस्थान गर्दा भए।

 

इतिश्री चौतारी पुराणे गोतामे खण्डे-------- द्वतियो अध्याय!

 

Read Full Discussion Thread for this article