Posted by: rksharma January 13, 2008
म र मेरो प्रश्न........
Login in to Rate this Post:     0       ?        

सानो छँदा बुवाले कहिलेकाही काँधमा राख्न्नुहुन्थ्यो। बुवाको त्यो काँधबाट एउटा बेग्लै संसारको अनुभूती हुन्थ्यो। घरका अरु सबै सदस्य साना देखिन्थे र कोठाका आनगिन्ती ठाउँहरु, जहाँ पुग्न मेरो उचाइँको मान्छेलाई मुश्किल मात्र होइन असम्भव नै थियो, ती ठाउँहरु छर्लङ हुन्थे। त्यो टिभिकेस माथिको क्यासेट, ती दराजमाथि छुपेर बसेका मेरा हराएका खेलौनाहरु सबै भेटिन्थे। लाग्थ्यो, बुवा जत्रै भैइदिएको भए कती रमाइलो हुन्छ होला। आफु सबै भन्दा ठुलो अनी संसार आफुभन्दा सानो।

शायद त्यो नानीछँदाको सोचाइ भिन्न थियो होला, तर आकाश छुने आकांक्षा अझै परिवर्तन भएजस्तो लाग्दैन। मान्छेको बानीनै हो, आफ्नो यथास्थिती भन्दा माथि अझ उत्तम हुन्छ भनेर सोच्नु अनी त्यहाँ पुगेपछि पनि सन्तुष्ट नहुनु। म पनि त एउटा मान्छे न हुँ, बस बगीरहेछु समय सँगै, सम्झनाका कोशेढुङा छिचोल्दै, सागरसँग गएर मिसिन तत्पर। अनि सोच्दा सागर सधैं ठुलो हुन्छ, उत्तम हुन्छ, प्रिय हुन्छ।

कहिलेकाहीँ लाग्छ, बुवाको काँधबाट जसरी संसारको परिकल्पना गरिन्थ्यो, कलिला आँखाबाट गुलियो संसारको रसिला सपना जसरी बुनिन्थ्यो, यो संसार साँच्चै त्यस्तै भैइदिएको भए। सिर्जनशिलता र चुट्किलाले भरिएको मेरो संसार अहिले गुम्सिएको र अत्यासलाग्दो रातमा परिणत भएको देख्दा कतै आफ्नो सागर पनि त्यस्तै विश्वासघाती त छैन भनेर प्रश्न गर्न मन लाग्छ। म एक निराशावादी मान्छे होइन। म हाँस्छु, खेल्छु, जिन्दगीका हरेक पल भरपुर बाँचिरहेको छु, तर भित्र मलाई घुटन् हुन्छ। म चिच्याउछु, कराँउछु, तर सुनिदिने मान्छे कोही छैन। आफ्नो कराई कहिलेकाहीँ आँफैलाई सुनिदैन। एक्लै बस्दा केवल एक मात्र प्रश्न मनमा खेलिरहन्छ; चिसा पहाडबाट अत्तालिदै के म तितो दलदललाई अनुपम सागर मान्दै आकांक्षाको घरको बेमतलब जग त खन्दै छैन?

Read Full Discussion Thread for this article